+
+

सप्तरीका युवकले बनाए विजुलीबाट चल्ने मोटरसाइकल

श्रवण देव श्रवण देव
२०७८ फागुन १६ गते १९:०६

१६ फागुन, सप्तरी । सप्तरीका एक युवकले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका छन् । यो मोटरसाइकलले एक सय किलोमिटर यात्रा गर्दा दुई युनिटमात्र ऊर्जा खपत गर्ने दावी गरिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका-१ भारदहका १९ वर्षका मौसमकुमार झाले निर्माण गरेको मोटरसाइकल अगाडि मात्र होइन, पछाडि पनि कुदाउन सकिन्छ ।

यो मोटरसाइकल बनाउन झालाई दुई साताको समय लागेको छ । ‘एक महिना सामानको जोहो गर्नै लाग्यो’ झा भन्छन्, ‘त्यसपछि दुई सातामै निर्माण गरेको छु ।’

विराटनगरको मनमोहन मेमोरियल पोलिटेक्निकल इन्ष्टिच्युटमा सिभिल इन्जिनियर अध्ययन गर्ने उनी हालै कोरोनाका कारण एक महिना कलेज बन्द भएपछि गाउँ फर्किएका थिए । त्यही बेला उनले विजुलीबाट चल्ने मोटरसाइकल बनाएका हुन् ।

उनले रुपनीको एक ग्यारेजमा बिग्रेर थन्किएको मोटरसाइकलको चेचिस ल्याए । त्यसलाई आफैं मर्मत गरे, टायर, चेन, ब्याट्रीलगायतका सामान किने । ट्यांकी भने आफैं निर्माण गरे । यसपछि फिटिङको काम सुरु गरे ।

मोटरसाइकलमा व्याट्रीबाट कन्ट्रोलरले शक्ति तान्ने गरी सेटिङ मिलाए । यसपछि कन्ट्रोलरले चेन घुमाउने र चेनले टायर घुमाएर मोटरसाइकल चल्ने बनाए ।

मोटरसाइकलमा एउटा रिभर्स राखिएको छ, जसले चक्कालाई अगाडि र पछाडि दुबैतिर घुमाउँछ । त्यसका निम्ति झाले एउटा स्वीच राखेका छन्, जुन एकतिर घुमाए अगाडि र अर्काेतिर घुमाए पछाडि गुड्छ ।

मोटरसाइकलमा उनले १ हजार वाटको मोटर, ४८ वाटको व्याट्री जडान गरेका छन् । उनले बनाएको मोटरसाइकलको टयांकीमा कन्ट्रोलर राखिएको छ ।

१ लाख २५ हजार खर्च

६० किलोमिटर प्रति घण्टाको गतिमा गुड्न सक्ने यो मोटरसाइकल अरु मोटरसाइकल भन्दा केही फरक देखिन्छ । यो मोटरसाइकलको उपकरण किन्दा एक लाख २५ हजार रुपैयाँ खर्च भएको उनको भनाइ छ ।

‘व्याट्रीकै ६० हजार परेको छ’ उनी भन्छन्, ‘त्यसबाहेक टायर, चेन स्पोकेट, चेन, मोटरसहितका उपकरण खरिद गर्नुपरेको छ ।’ व्यापारिक दृष्टिले बनाए यो भन्दा सस्तोमा पनि निर्माण हुन सक्ने झा बताउँछन् ।

झा आफैंले बनाएको यो मोटरसाइकल लिएर दुई पटक विराटनगर पुगिसकेका छन् । यो मोटरसाइकल देखेर किन्न खोज्नेहरु पनि भेटिएका उनी बताउँछन् । ‘कतिपयले त २ लाख रुपैयाँ दिन्छु, मलाई दिइहाल भनिरहेका छन्’ झा भन्छन् ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?