+
+

लेख्नुको महत्त्व

लेख्न सकिन्छ भनेर लेख्न सक्नुलाई दुरूपयोग गरिएको छ । यी खराब कुराहरूको पछाडि नलागौं । समाजका यस्ता फोहोरहरूलाई सफा गरौं । लेखेरै सफा गरौं । लेखौं ।

प्रकाश बेलबासे प्रकाश बेलबासे
२०७८ फागुन १८ गते ९:४४

लेख्नु पोखिनु हो । लेख्नु उठाउनु पनि हो । मनमा रहे–भएका कुराहरूलाई विषयगत गरी अक्षरहरूमा ढाल्नु पोखिनु हो । समाजमा रहे–भएका कुराहरूलाई समेलेर आकार दिनु उठाउनु हो । विषयहरूलाई विचार बनाउने प्रक्रियागत क्रिया नै पोख्नु उठाउनु हो । अर्थात् लेख्नु हो । झट्ट हेर्दा लेख्नु सजिलो हो । तर, गहिरो गरी हेर्दा लेख्नु जटिल हो । के लेख्ने, किन लेख्ने, कसरी लेख्नेलगायत यावत् प्रश्नहरूको मनोगत चर्चापछि मात्रै लेखन सुरु हुन्छ । विषय छनोट गरी त्यसमा अध्ययनपश्चात् एउटा विचार प्रस्तुत गर्न सजिलो हुँदैन ।
पापड बेल्नैपर्छ । साधना गर्नैपर्छ ।
मान्नुस् एउटा कथा लेख्नुपर्‍यो रे ! कुनै विषयलाई कथा बनाउनको लागि, विषय छनोट गर्नुपर्‍यो । त्योभन्दा प्रमुख कुरा त कथा नै किन लेख्ने बुझ्नुपर्‍यो । र, त्यो कथा लेखिएको किन भन्ने कुरा कथा आफैंले बोलेको हुनुपर्‍यो । विषय, पात्र र परिवेश छनोटमा ध्यान पुर्‍याउन सकिएन भने कथा बोल्दैन । कथाले विषय भन्दैन ।

कथा त एउटा विधा न हो । कुनै विषयलाई सामाजिक मूल्य दिनको लागि सत्य वा काल्पनिक विषयहरूको सजिलो उठान न हो कथा । कथा भन्नु/लेख्नु भनेको केही बुझाउनु हो । समाजलाई दिशानिर्देश गर्नु हो । उस्तै हो कविता पनि । उस्तै हो निबन्ध पनि । र सबै विधाहरू लगभग उस्तै उस्तै हुन् । कथा, कविता, निबन्ध, नियात्रा, विचार, आलेख यी सबैका आ-आफ्नै मापक छन् । यिनलाई कसरी लेख्ने भन्ने विषयमा विचारहरू आएका छन् । समाजमा पाठ्यपुस्तक तयार गरेरै सिकाइँदै आएको छ ।

यसो गर्नु जरुरी पनि त छ । अहिले हामी त्यता नमोडिऊँ । बृहत् हुन जान्छ । अझ यसो भनौं, यी विषयहरूमा गहिरो गरी व्याख्या गर्नको लागि पंक्तिकारले पुग्दो अध्ययन गरेको छैन । आफैं अस्पष्ट भएको विषयमा कसरी अरूलाई स्पष्ट पार्न सकिएला र ! भो प्रयत्नै नगरौं ।

समाजमा लेख्नेहरू धेरै छन् । उनै लेखकहरूले अध्ययन गरेर लिपिबद्ध गरेका कुराहरू पढेरै मान्छेहरूले धेरै कुरामा दख्खल राख्छन् । थाहा पाउँछन् । जान्दछन् । सिकाउँछन् । पाठ्यक्रम होस् या साहित्य-तहाँ ज्ञानको स्रोत हुन्छ । हामी पढ्छौं र सिक्छौं । पत्रिका होस् या आलेखहरू, सूचना पाउँछौं । जान्दछौं ।

समग्रमा लेख्नु बृहत् काम हो । यसको महत्त्वलाई केही अनुच्छेद शब्दहरूले न्याय गर्ने कुरै भएन ।

के लेख्ने, किन लेख्ने, कसरी लेख्नेलगायत यावत् प्रश्नको मनोगत चर्चापछि मात्रै लेखन सुरु हुन्छ । विषय छनोट गरी त्यसमा अध्ययनपश्चात् एउटा विचार प्रस्तुत गर्न सजिलो हुँदैन । पापड बेल्नै, साधना गर्नैपर्छ ।

तथापि, लेख्नुलाई समाजले आफ्नै दृष्टिले हेरिरहेको हुन्छ । सुरुमा स्कुल पुगेपछि ‘क’ लेख्न सिकाइन्छ । हर कसैको लेखन यात्राको पहिलो अक्षर ऊ बस्ने देशको चल्तीको भाषा मध्येको सुरुवाती अक्षर हो । जस्तो कि, नेपालमा स्कुल गएको बच्चाले लेख्न सिक्ने ‘क’ हो । आजकल ‘A’ पनि सिकाउने गरिन्छ । भन्नाले जुन भाषाको प्रयोग धेरै गरिन्छ त्यसैबाट लेखनको सुरुवात गराइँदो रहेछ ।

‘क’ वा ‘ A’ बाट सुरु भएको लेखन यात्रालाई मान्छेले निरन्तरता दिन्छ । ऊ अध्ययन गर्दै जान्छ । उसले आफ्नो अध्ययनको दायरालाई फराकिलो बनाउँदै लग्छ । कुनै विषयमा गहिरो अध्ययन गर्छ र लेखनीको माध्यमबाटै ज्ञान बाँड्छ । हेर्नुस् त लेख्नु कति बृहत् रहेछ ।

पढेका सबैले सिक्दैनन् । सिकेका सबैले लेख्दैनन् । कसैले भोगाइ लेख्छन्- कथा बन्छन् । ती साहित्य हुन्छन् । कसैले खोज लेख्छन्- ती अध्ययनका स्रोत हुन्छन् । लेखिएका सबै विषयले किताबको आकार लिंदैनन् । ती फेसबुकको भित्ताबाटै हराउन सक्छन् । पत्रपत्रिकासम्म पुग्न सक्छन् । किताब बन्न सक्छन् । लेखिएका विषयहरू कहाँ पुगे, कुन स्थान हासिल गरे, खास ठूलो मुद्दा होइन । तिनले लेखिनुको उद्देश्य पूरा गरे, गरेनन् त्यसले अर्थ राख्छ ।

ढुङ्गामै लेखिएका केही कुराहरू कालजयी हुन्छन् । आफन्तहरूले आफ्नाहरूलाई लेखेका पत्रहरूको महत्त्व कम्तीका थिए र ! अर्थात्, ऋणपछिको तमसुकलाई नै हेरौं न ! सामान्य तर अर्थपूर्ण ।

यो लेख्दै गर्दा, लेखिएका सबै कुराहरूको ओझ हुन्छ भन्न खोजिएको कदापि होइन । खराब नियत राखेर लेखिएका विषयहरूले समाज धमिल्याउँछन् । ती ढुङ्गामा लेखिएका हुन् या किताबमा । उसो त, लेखेरै समाज भाँडिएका उदाहरण धेरै छन् । अन्टसन्ट लेखेर चरित्रहत्या गरिएका कुराहरू सन्जालमा जताततै भेटिन्छ ।

लेख्न सकिन्छ भनेर लेख्न सक्नुलाई दुरूपयोग गरिएको छ । यी खराब कुराहरूको पछाडि नलागौं । समाजका यस्ता फोहोरहरूलाई सफा गरौं । लेखेरै सफा गरौं । लेखौं ।

समाज बदल्न लेखौं । इतिहास भन्न लेखौं । तथ्य बुझाउन लेखौं । लेख्नु आन्दोलन गर्नु पनि हो । हजारपटक बोल्दा फत्ते हुन नसकेका विषयहरूलाई लेखेरै फत्ते गरिएका सयौं उदाहरण छन् । बस् लेखाइ अध्ययनपरक होस् । तथ्यपरक होस् । अर्थपूर्ण होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?