+
+

पहिलो सिजनमै ‘जायन्ट किलर’ बनेको सातदोबाटो

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन १७ गते १७:२७

१७ फागुन, काठमाडौं । फुटबलमा एउटा चर्चित शब्दावली छ, जायन्ट किलर । आफूभन्दा शक्तिशाली वा बलियो विपक्षीलाई हराउने टिमलाई जायन्ट किलर भन्ने गरिन्छ । ठ्याक्कै यही शब्द पहिलो पटक ए डिभिजन लिग खेलेको सातदोबाटो युथ क्लबको हकमा पनि लागू हुन्छ ।

बी डिभिजन लिगको च्याम्पियन बनेर ए डिभिजनमा उक्लेपछि सातदोबाटोले डेब्यू सिजनमै धमाका नै गर्‍यो, तथ्यांकले पनि त्यही भन्छ ।

लिगका १३ खेलमध्ये सातदोबाटो ६ खेलमा जित हात पार्‍यो भने तीन खेलमा बराबरी र चार खेलमा हारको नतिजा निकाल्यो । २१ अंक जोडेर सातदोबाटोले चौथो स्थानमा रहदै लिगको अन्त्य गर्‍यो । सातदोबाटोले शहीद स्मारक ए डिभिजन लिगका पूर्वविजेता क्लब मनाङ मर्स्याङ्दी, थ्रीस्टार र नेपाल पुलिस क्लबलाई समेत अंक तालिकामा पछि पार्‍यो ।

यति मात्र होइन, उसले मनाङ, थ्रीस्टार र पुलिसविरुद्धको खेलमा जित पनि हासिल गर्‍यो । यही नतिजाका आधारमा सातदोबाटोलाई जायन्ट किलर भनिएको छ । लिग सुरु हुनुअघि अनलाइनखबरसँगको कुराकानीमा सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना मगरले चौथो स्थानसम्म रहने लक्ष्य रहेको बताएका थिए । जुन लिग सकिँदा हासिल भयो ।

त्यसका लागि क्लबले थ्रीस्टारका पूर्व प्रशिक्षक मेघराज केसीलाई प्रशिक्षक नियुक्त गरेर तयारी सुरु गरेको थियो । लिग सुरु हुनुभन्दा अघिदेखि नै सातदोबाटोले केसीकै सहयोगमा खेलाडी अनुबन्ध गर्नेदेखि अरु तयारीका काम गरेको थियो ।

तयारी

सातदोबाटोले अघिल्लो सिजनको लिग विजेता मच्छिन्द्र एफसीबाट खेलेका विदेशी डिफेण्डर पिटर सेगुन र हिमालयन शेर्पाका कप्तान मानबहादुर तामाङलाई अनुबन्ध गरेको थियो । यस्तै थ्रीस्टारबाटै लिग खेलेका फरवार्ड सुशील राईदेखि विदेशी खेलाडी अजयी मार्टिन्सलाई पनि क्लब भित्र्याएको थियो ।

बी डिभिजन जित्दाको टिममा सातदोबाटोले धेरै परिवर्तन गर्दै ए डिभिजनको अनुभवी खेलाडी जम्मा पारेर टिम बनाएको थियो । यसबाहेक पनि सातदोबाटोले उमेर समूहको राष्ट्रिय टिमबाट खेलिसकेका आकाश बुढा मगर, निरज चौधरी, पासाङ लामा, आदिल हामिद, दीपकराज सिंह ठकुरीलगायत खेलाडी भित्र्याएको थियो ।

लिग सुरु हुनुअघि प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक मेघराज केसीले पनि भनेका थिए कि सातदोबाटो ए डिभिजनमा केही गर्न लागि आएको हो भनेर । ‘ए डिभिजन लिगको धेरै ज्ञान छैन । तर क्लबमा ए डिभिजनको अनुभव भएका खेलाडी र प्रशिक्षक छ । अन्य क्लब जसरी हामीलाई हेरे गाह्रो पर्छ’ केसीले भनेका थिए, ‘लिगमा ठूलो सानो क्लब भन्ने हुँदैन । सबै बराबर हो ।’

कप्तान मानबहादुर तामाङले पनि नयाँ क्लबमा चुनौती र अवसर दुवै भएको बताउदै आफूलाई प्रमाणित गर्ने बताएका थिए ।

सफलता

पहिलो पटक शीर्ष डिभिजनमा उक्लेको सातदोबाटोको पहिलो खेल फ्रेण्ड्स क्लबविरुद्ध थियो । यो खेलमा गोलरहित बराबरी खेल्दै सातदोबाटोले एक अंक जोड्यो । दोस्रो खेलमै थ्रीस्टारलाई हराएर सनसनीपूर्ण  नतिजा निकाल्यो ।

तेस्रो खेलमा विभागीय टोली एपीएफलाई ४-१ ले हराएपछि सातदोबाटोले तीन खेलबाट सम्भव ९ मध्ये ७ अंक जोडेर आफूलाई ए डिभिजनमा पनि अब्बल सावित गर्‍यो ।

त्यसपछिको ५ खेलमा सातदोबाटोले कुनै खेल जित्न सकेन । ५ खेलमध्ये तीन खेल हार्‍यो भने दुई खेल बराबरी गरेर जम्मा दुई अंक जोड्यो । दुई बलियो टोली आर्मी र संकटालाई बराबरीमा रोकेको सातदोबाटो एनआरटी, जाउलाखेल र हिमालयन शेर्पासंगको खेल हारेको थियो ।

आठ खेल सकिँदा सातदोबाटो नौ अंकसहित आठौं स्थानमा झर्‍यो । नवौं चरणपछि सातदोबाटोले फेरि लय लियो । सर्वाधिक ८ पटकको लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई नवौँ चरणमा २-१ ले हराएर सातदोबाटोले अर्को सनसनी मच्चायो ।

अनि दशौँ चरणमा ३ पटकको पूर्व च्याम्पियन पुलिसलाई पनि हराएर सातदोबाटो जायन्ट किलर बन्यो । यसक्रममा सातदोबाटोले स्थान पनि सुधार गर्दै छैटौंमा उक्लियो । तर ११ औं चरणमा मच्छिन्द्र एफसीसँग पराजित हुँदै सातदोबाटो अंकतालिकामा एक स्थान तल भयो ।

अन्तिम दुई खेलमा भने जित हासिल गर्दै सातदोबाटो चौथो स्थानमा आइपुग्यो । १२औं चरणमा ब्रिगेडलाई ३-२ ले हराएको सातदोबाटोले अन्तिम खेलमा च्यासल युथ क्लबलाई १-० ले हराएर लिगमा सुखद अन्त्य गर्‍यो । सातदोबाटोसंग हारपछि नै ब्रिगेड रेलिगेसनमा परेको थियो ।

सातदोबाटोले शीर्ष तीनमा रहेर नगद पुरस्कार जित्न नपाए पनि पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्दै ‘फेयर प्ले’ वापतको दुई लाख रुपैयाँ भने पायो ।

खेलाडीको प्रदर्शन

फरवार्ड अजयी मार्टिन्सले एक ह्याट्रिकसहित ६ गोल गरे । उनी सर्वाधिक गोल गर्नेमा दोस्रोमा रहे । मच्छिन्द्रका सुनिल बल र मनाङका ओलावाले आफिजले पनि ६ गोल गरेका थिए । उनी भन्दा धेरै गोल गर्नेमा फ्रेण्ड्सका जोमोउल एन्थोनी फ्रान्कोइस र एनआरटीका मेसुके ओलोमोउ रहे । दुवैले ६ गोल गरे ।

मार्टिन्सलाई फरवार्ड लाइनमा सुशील राईले राम्रो साथ दिए ।

यस्तै गोलकिपर अभिषेक बरालले ३ खेलमा क्लिनसिट राखे । सर्वाधिक क्लिनसिट राखेनमा उनी मनाङ मर्स्याङ्दी विशाल सुनारसंगै संयुक्त रुपमा पाँचौं स्थानमा रहे । अभिषेकअघि डिफेन्स लाइनमा कप्तान मानबहादुर र पिटर सेगुनसंगै पासाङ लामाको प्रदर्शन पनि राम्रो रह्यो ।

यस्तै मिडफिल्डरमा युवा मिडफिल्डरहरु आकाश बुढा मगर, सुदीप गुरुङ र प्रशान्त अवस्थी पनि राम्रो खेले । उनीहरुलाई विदेशी खेलाडी मार्टिन एन नांगाले गतिलो साथ दिए । यसबाहेक निरज चौधरी, दीपकराज सिंह ठकुरी र रञ्जन पुनले पनि राम्रो साथ दिए ।

पहिलो पटक ए डिभिजन खेलेको सातदोबाटोको नतिजा

सातदोबाटो ०-० फ्रेण्ड्स

सातदोबाटो १-० थ्रीस्टार

सातदोबाटो ४-१ एपीएफ

सातदोबाटो ०-१ एनआरटी

सातदोबाटो १-१ आर्मी

सातदोबाटो ०-२ जाउलाखेल

सातदोबाटो ०-१ हिमालयन शेर्पा

सातदोबाटो १-१ संकटा

सातदोबाटो २-१ मनाङ

सातदोबाटो १-० पुलिस

सातदोबाटो ०-१ मछिन्द्र

सातदोबाटो ३-२ ब्रिगेड

सातदोबाटो १-० च्यासल

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?