+
+
Shares

बैंकलाई ब्रोकर लाइसेन्स : कार्यविधि बनाउने जिम्मा नेप्सेकै भागमा

बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डले सिधै लाइसेन्स दिन सक्नेगरी नियमावली बनाएर अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरेका थिए । तर त्यो नियमावलीमा अर्थमन्त्रालयले सहमति दिएन ।

रोयल आचार्य रोयल आचार्य
२०७८ फागुन १७ गते १८:३१
फाइल तस्वीरः ब्रोकर कार्यालयमा लगानीकर्ता । अनलाइन कारोबार प्रणाली भित्रिएपछि भने लगानीकर्ताहरु घरबाटै कारोबार गर्न थालेका छन् ।

१७ फागनु, काठमाडौं । वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल (ब्रोकर) व्यवसायीको रुपमा कारोबार गर्न अनुमति दिन तयारी थालिएको छ । यसका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नै ब्रोकर सम्बन्धी कार्यविधि बनाउने भएको छ ।

५ वर्ष अघि ब्रोकर लाइसेन्सको विषयमा निकै बहस भएको थियो । धितोपत्र सम्बन्धी नियमावलीले बजार निर्मातालाई नै ब्रोकर सम्बन्धी कार्यविधि बनाउने अधिकार दिएको छ । नियमावलीले भनेको बजार निर्माता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हो ।

नेप्सले कार्यविधि बनाएर ब्रोकर कम्पनीहरु छनोट गरेर बोर्डमा पठाउनु पर्नेछ । कार्यविधि अनुसार छनोट गरेर सिफारिस गरेका कम्पनीहरुलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति (लाइसेन्स) दिने व्यवस्था रहेको छ । तर बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डले सिधै लाइसेन्स दिन सक्नेगरी नियमावली बनाएर अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरेका थिए ।

बोर्डका तत्कालीन अध्यक्ष ढुंगाना र नेप्सेका तत्कालीन कार्यकारी प्रमुख चन्द्रसिंह साउदबीच राम्रो सम्बन्ध थिएन । नेप्सले आफ्ना काम कारबाहीमा सहयोग नगरेको भन्दै अध्यक्ष ढुंगानाले नियमावली नै अर्को बनाएर नेप्सेको सहभागिता बिनै लाइसेन्स दिन सकिने व्यवस्था प्रस्ताव गरेका थिए । तर त्यो नियमावलीमा अर्थमन्त्रालयले सहमति दिएन ।

अर्थमन्त्रालयले नियमावलीको मस्यौदा बोर्डलाई नै फिर्ता पठाइदिएको थियो । पछि साउद र ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा जोडिएपछि पदबाट बाहिरिनु पर्‍यो । त्यस यता चर्चामा नरहेको लाइसेन्सको विषय बोर्ड र नेप्से दुवै कार्यालयमा नयाँ नेतृत्व आएपछि भने यो चर्चामा छ ।

बोर्ड स्रोतका अनुसार अब नेप्सेलाई बाइपास नगर्ने नीति बोर्डले लिनेछ । नियमअनुसार ब्रोकर छनोट सम्बन्धी कार्यविधिको अख्तियार नेप्सेले नै पाउनेछ । नेप्सेले सिफारिस गरेको आधारमा नै ब्रोकर लाइसेन्स दिन बोर्ड तयार छ । यस विषयमा अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक देखिएका छन् । केही दिन अघि अर्थमन्त्रालयमा अर्थमन्त्रसिँग भएको छलफलमा पनि बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई नियम अनुसार नै काम गर्नु भनेर निर्देशन दिएका थिए ।

लाइसेन्सको पर्खाइमा ११ बैंक

वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सञ्चालन अनुमति दिने तयारी पछि बैंकहरुले तदारुकता देखाए । नेप्सले पनि ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६’ तयार पारेको थियो । तर धितोपत्र बोर्ड त्यसबेला अर्कै नियमावली बनाउने पक्षमा थियो । लाइसेन्स पाउने आशमा बैंकहरुले भने धमाधम कम्पनी रजिष्टारको कार्यालयमा सहायक कम्पनी दर्ता गराएका थिए ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हालसम्म ११ वटा बैंकहरुले सहायक कम्पनी दर्ता गरेर ब्रोकर लाइसेन्स माग गर्दै निवेदन दिएका थिए । एनआईसी एसिया बैंकले एनआईसी एसिया सेक्युरिटिज कम्पनी दर्ता गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा निवेदन दर्ता गराएको छ भने सानिमा बैंकले सानिमा सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ । निवेदन दिएको लामो समयसम्म पनि प्रक्रिया भने अघि बढेको छैन ।

कुन बैंकले कुन कम्पनी दर्ता गराए ? तालिकामा हेर्नुहोस् : 

सि.नं. बैंकको नाम सहायक कम्पनी
एनआईसी एसिया बैंक एनआईसी एसिया सेक्युरिटिज
सानिमा बैंक सानिमा सेक्युरिटिज
माछापुच्छ्रे बैंक माछापुच्छ्रे सेक्युरिटिज
सिटजन बैंक सीबीआईएल सेक्युरिटिज
मेगा बैंक मेगा स्टक मार्केट
नेपाल बंगलादेश बैंक एनबीबीएल सेक्युरिटिज
कुमारी बैंक केबीएल सेक्युरिटिज
ग्लोबल आईएमई जेबीएनएल सेक्युरिटिज
सेञ्चुरी बैंक सेन्चुरी स्टक
१० सिभिल बैंक सिभिल सेक्युरिटिज
११ प्रभु बैंक प्रभु सेक्युरिटिज

बैंकर्स संघको फ्लोअप

चार वर्ष अघि नै केही बैंकहरुले ब्रोकर लाइसेन्स माग गर्दै सहायक कम्पनी दर्ता गरेर नेप्सेमा निवेदन दिएका थिए । कम्पनी रजिष्टारमा दर्ता भइसकेपछि त्यसलाई नियमित नवीकरण गर्नु पर्ने हुन्छ । तर लामो समयसम्म नेप्सेले निर्णय नदिंदा ती बैंकका सहायक कम्पनीहरु अलमलमा छन् ।

चार वर्षसम्म पनि लाइसेन्स दिने वा नदिने भन्ने विषयमा केही जानकारी नआएको भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले यस विषयमा चासो देखाएको छ । नेप्सलाई पत्राचार नै गरेर बैंकर्स संघले ब्रोकर लाइसेन्स सम्बन्धी प्रक्रिया कहाँ पुग्यो भनेर चासो राखेको थियो ।

बैंकर्स संघबाटै पत्र आएपछि नेप्सले पनि आवश्यक निर्देशन जारी गरिपाउँ भन्दै नियामक निकाय धितोपत्र बोर्डमा पत्राचार गरेको थियो । तर नेप्सेले पत्रको जवाफ भने पाएको छैन । प्रवक्ता मुराहरि पराजुलीले पत्र पठाएको पुष्टि गरे । तर नेप्सले पठाएको पत्रको जवाफ भने प्राप्त नभएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?