+
+
विचार :

परदेशमा नेपाली संघ-संगठन : सामाजिक एकीकरण कि खण्डीकरण ?

रामशरण सिम्खडा रामशरण सिम्खडा
२०७८ फागुन २२ गते १७:५४

सामाजिक संघ–संस्थामा आवद्ध हुनु, विभिन्न नाम, क्षेत्र, धर्म, पेशा, विचारका संगठनहरू मजबुत र सशक्त हुनु सामाजिक जागरण र लोकतन्त्रको लागि सुखद पक्ष हो ।यस्ता सामाजिक संघ–संस्थाले समाजलाई एकत्रित राख्न मद्दत गरेको छ या आपसमा वैमनश्य, द्वेष, झै-झगडालाई बढी निम्त्याएको छ । यो सोचनीय विषय हो ।

विशेषतः प्रवासका अनुभव यस आलेखको जगमा उभिएर कोरिएको छ ।हामी समस्या देख्छौं तर समाधान खोज्दैनौं । कसैले समाधानको उपाय देखाउँदा पनि शंका र उपशंका गरेर आलटालमै समय नष्ट गर्छौं ।सकारात्मक उद्देश्यले खुलेका सामाजिक संघसंस्थाहरू पनि लक्ष्यविमुख हुनुको प्रमुख कारण यही नै हो ।

करिब तीन हप्ता अघि झिसमिसेमै टर्कीबाट एनआरएनएका अध्यक्षको फोन आयो- ‘केही दिन अघि मात्र टर्कीबाट ग्रिस जाने क्रममा चार जना नेपालीको ज्यान गएको सायदै सुन्नुभएकै होला । दुईजना नेपालबाट श्रम स्वीकृति लिइआएका रहेछन् । दुई जना श्रम स्वीकृतिसहित आएका थिएनन् । उहाँहरूको शव नेपाल लैजान सरकारले सबै व्यवस्थापन गर्ने भयो ।उनीहरूलाई के कसरी सहयोग गर्न सकिन्छ ? लौन एनआरएन केन्द्रबाट केही हुन्छ कि सल्लाह गरौं न ।’

अघि पछि जस्तै मिजासिलो स्वरमा उज्ज्वल घिसिङजीले थप्दै गए, ‘हुन त यहाँ हामी नेपाली पनि छौं । केही रकम जम्मा गर्छौं तर करिब आठ हजार यूरो जति लाग्ने रहेछ । त्यति यहाँबाट उठाउन सकिंदैन । हामीलाई सहयोग गर्नुपर्‍यो ।’

‘हुन्छ । हामी मिलेर केही गरौंला’ भन्दै फोन राखेको केही घण्टामा स्पेनबाट सहकर्मी सुनिल रानाभाटको घण्टी बज्यो । कुरा उही रहेछ । अझै दुई जनामध्ये एकजना उनको जिल्लाको परेछन् । उनी कहालीलाग्दो घटनाक्रम सुनाउँदै थिए ।

युरोप छिरेको पाँच महिना मात्र भएको ।घरको आर्थिक अवस्था अत्यन्त कमजोर, बाबु बिरामी ।समस्या सुन्दा यति दर्दनाक लाग्थ्यो कि कुनै फिल्मको कहानी सुनिरहेको छु । उनकै नेतृत्वमा अन्तर्राष्ट्रिय स्याङ्जा समाजले केही पहल गरिसकेको रहेछ । केही थप सहयोगको अपेक्षा हुने भइहाल्यो ।ऋणमा चुर्लुम्मै डुबेको घर, वृद्ध र बिरामी बाबु, कमाउन गएको छोरोको लास भए पनि देख्न पाउँ भन्ने परिवारको चाहना सुन्दा मनै भरङ्ग हुने ।

श्रम स्वीकृत नलिई आएका वा सरकारी ढड्डामा नाम नभएका नेपाली दुई जनाको शव लैजान गैरआवासीय नेपाली संघ टर्की, स्याङ्जा अन्तर्राष्ट्रिय समाजलगायत नेपाली संघसंस्था नै एक कदम अघि देखिनु नै पर्थ्यो र भयो नै त्यस्तै पनि ।

कुरा सन् २००४ तिरको हो, नेपालबाट आएको केही वर्ष मात्र भएको थियो । जो–कोहीलाई पनि यहाँ ‘सेटल’ हुनु प्रमुख विषय बन्थ्यो । यूकेमा ‘यती’ नामको अग्रणी सामाजिक संस्थाको नाम छ भन्ने नेपाल हुँदै सुनेको थिएँ ।त्यसैले आएको केही महिनामै उक्त संस्थासँग आवद्ध भएको थिएँ ।

एकजना नेपाली आयरल्याण्डमा आत्महत्या गरेको १५ दिन भैसक्दा पनि उनको लास बेवारिस बनेको खबर आयो । दूतावासलाई खबर गर्दा कुनै जवाफ आएन । हुन पनि राजा-महाराजाका नजिकका राजदूत आउने चलन र कार्यशैली पनि जनमैत्री थिएन नै त्यतिबेला । यतीमा कुरा राख्यौं तर खासै उपलब्धि हुन सकेन । लौ न केही त गरौं भने अशोक श्रेष्ठ दाइले ।म अनि सुरेन्द्र श्रेष्ठजी यसमा लाग्यौं ।उनको शव नेपाल पठाउन र बचत रकम समेत घरपरिवारलाई पुर्‍याउन सफल भयौं ।

यही कडी नै एनआरएन युके गठनको कोसेढुङ्गा साबित समेत भयो । उसो त २०१० को कुन महिना हो अहिले भुलें, एनआरएन गठनकै बेलादेखि गैरआवासीय आन्दोलनको बारेमा नजिकबाट कमल चलाउने कान्तिपुरकर्मी विजय खत्रीको रूपन्देहीमा सवारी दुर्घटनामा दुःखद निधन भएको खबर संघका केन्द्रीय प्रवक्ता डा. जुगल भुर्तेलले आफ्नो सामाजिक सञ्जालमा राखे । रातैभरको बेचैनीले सुत्न सकिएन ।

उनीसँगको सामीप्यता, उठबस, उनीसँगको अन्तरङ्ग कुराकानी, उनकै संयोजनमा स्टुडियोमा भएको संवाद आदि झल्झल्ती मानसपटलमा घुम्यो र उनका नाम र उनमा निर्भर श्रीमती र बच्चाको लागि केही गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी लाग्यो ।

जीवाजी, जुगलजी लगायत साथीहरूसँग सल्लाह भयो र केही पछि भव्य कार्यक्रमसहित २५औं लाख रकम संकलन गर्न सफल भइयो ।पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउँले बेलायत आउँदा एक सहमतिपत्रमा हस्ताक्षर भयो । त्यतिबेलाको सुरुवातको प्रतिफलमा आजपर्यन्त एकजना प्रवासबाट र एकजना नेपालबाट गैरआवासीय आन्दोलनको बारेमा कमल चलाउने पत्रकारलाई पुरस्कृत गर्ने गरी एनआरएन पत्रकारिता पुरस्कार चल्दैछ ।

सुरुको छलफल उनै विजय बाबुको स्मृतिका गर्ने कि भन्ने थियो । नेपालमा हरेक प्राकृतिक विपद्मा होस्, महाभूकम्प, कोभिड जस्तामा पहिलो मन खोलेर सहयोग गर्ने विदेशस्थित यिनै सामाजिक संघ–संस्था हुन् । गत सालको एक घटना याद आयो, एनआरएन यूकेको विवाद चरम उत्कर्षमा थियो ।

नेपालमा कोभिडको दोस्रो लहरले अक्सिजन अभावले दर्जनौं मानिस मरिरहेको समाचारले सबै विक्षिप्त थियौं नै ।संस्थापनले यसमा जस पाउला भन्ने त्रासले केही चतुरहरूले यस महामारीमा पाँच लाख रुपैयाँ आफ्नै खाताबाट सहयोग गर्न तर जनमानसमा ‘फण्डरेज’ नगर्ने निर्णय भएछ ।

पाँचलाख सहयोग आफैंमा राम्रो निर्णय भएतापनि महामारीको प्रकोपको आयतन के कस्तो हुने हो, कति लामो समय रहने हो ? के कतिको जीवन जोखिममा पर्ने हो ? सोभन्दा बढी सहयोगै नगर्ने निर्णय आफैंमा अप्राकृतिक र असामान्य रूपबाट लादिएको थियो ।

अध्यक्षलाई केही दिनपछि हेक्का भो कि यसभित्र केही लुकेको छ ।निर्णय सच्याई ‘नेपाली बचाऔं, अक्सिजन पठाऔं’ नाराको साथ ‘एक संस्था एक कन्सन्ट्रेट’ अभियान चल्यो । दुई हप्तामा १५० अक्सिजन कन्सन्ट्रेट नेपाल समेत पुर्‍याइयो भने अक्सिजन प्लान्ट स्थापनार्थ १ करोड ५० लाख समेत गरी २ करोड ५० लाख रकम संघसंस्थामार्फत उपयोगी मानवीय काममा संकलन गर्न उनै संघसंस्था कामयावी भए ।

यस्ता असंख्य काम गरेका संघसंस्थाहरू बीच किन सानामसिना कुरामा तूष रहन्छ ? के कारण सामाजिक सद्भाव भड्किने गरी आरोप-प्रत्यारोप र भौतिक रूपमै साथीहरू उत्रन्छन् सोचनीय विषय रहेको छ । नेपालीकै पुरानो प्रवासी संस्था यती नेपालीको वार्षिक भेटघाट (विशेष गरी दशैंमा) म्यान्चेष्टर, लिभरपुलदेखि बस रिजर्भ गरेर सहभागी हुन्थे ।

स्व. ईश्वर मानन्धर दाइ जस्तो सामाजिक र उच्च सामाजिक छवि भएका व्यक्तिको घरमा दशैंमा टीका थाप्न भेला हुन्थ्यौं तर आज ती सद्भाव र आदरयुक्त मनहरू कता हराए ? त्यही संस्था कुनैबेला कुटाकुट र झै–झगडाले बेलायत मात्र हैन-सिंगो विश्वसामु निर्लज्ज बन्यो । हाल अस्तित्वमा रहेता पनि ती क्रियाशील देखिन्न ।

पछिल्लो समय नेपाली डायस्पोराको दायरा फैलिएको छ । योसँगै विभिन्न नाममा संघसंस्थाहरूमा आम आप्रवासीहरू संगठित हुने क्रमसँगै सबैलाई समेट्ने पवित्र उद्देश्यका साथ एनआरएन जबर्जस्त अस्तित्वमा आयो । अहिले यसैमा पनि चरम विवाद छ ।

एनआरएनएको विवादको चिरफार त केही समयपछि विस्तृत रूपमा गरौंला तर उद्देश्य असफलताका केही सतही कसीहरूलाई यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

सांगठनिक अनुभव र नेतृत्व विकासमा कमि

२०१५ को आँकडा हेर्दा अमेरिकी कम्पनीहरूले विश्वव्यापी रूपमा ३५६ बिलियन अमेरिकी डलरको कर्मचारी तालिम र शिक्षामा ठूलो मात्रामा पैसा खर्च गरेको देखिन्छ तर तिनीहरूले आफ्नो लगानीमा राम्रो प्रतिफल पाइरहेका छैनन् । यसबाट प्रष्ट हुन्छ- जबसम्म मानिसले आफूले आफैंलाई परिवर्तन गर्दैन कुनै पनि प्रशिक्षणले उसको व्यक्तित्व र संगठनात्मक कार्यसम्पादनमा नेतृत्वमा परिणाममुखी नतिजा दिंदैन ।

प्रवासमा खुलेका संगठनहरूमा पनि यही कमि–कमजोरी रहेको देखिन्छ किनकि हामीले प्रवासमा गरेका अभ्यास परम्परागत शैलीका छन् ।हाम्रो मातृभूमिमा नेतृत्व बन्ने सपना पूरा हुनसकेको हुँदैन ।

आफ्नो देश छाडी प्रवासमा आएका नेपाली मनहरूलाई जोड्न, सामाजिक रूपमा एकीकरणको मनसायले खोलिने संघ–संगठनहरूले स्थापनाको मर्म बोकेर काम गर्नुपर्छ ।सबै मर्यादालाई भुली बिभिन्न विचार, समूह, क्षेत्र र धर्मको नाममा खण्डीकरण हुँदै जन्ती-मलामीमा समेत आ-आफ्ना गुट-समूहलाई मात्र सहभागी गराउने अभ्यास घातक हुनसक्छ ।

मातृभूमिमा चर्को प्रतिस्पर्धाका कारण पूरा गर्न नसकेका इच्छा विदेश पलायनपछि मनमिल्दो साथीभाइ जम्मा गरी संघ–संगठन खोलेर पूरा गर्न मन लागिहाल्छ ।आफ्नो प्रभुत्व जमाउने लालच र आफूले खोलेका संघ–संगठनमार्फत सरकारी कामकारबाहीमा सहजीकरण हुन्छ भन्ने लालची स्वभावका नेतृत्व स्थापित हुँदा सहज हस्तान्तरणमा समस्या देखिएको छ ।

यही अपरिपक्व नेतृत्व र अद्यावधिक हस्तान्तरणमा समस्या देखिएकै कारण सांगठनिक विकास नभई सिक्ने र बुझ्ने मौका सबैले नपाउँदा प्रवासमा खुलेका संघ–संगठनहरू असफल हुँदै गैरहेका छन् । हुन त विदेश आइसकेपछि हामीमा पनि एकप्रकारको अदृश्य घमण्ड बढ्दो रहेछ नै । आफूमा निपुणता रहेको, आर्थिक रूपमा केही सक्षम भएपछि सामाजिक प्रतिष्ठाको लागि संघ-संस्थाको नेतृत्वमा पुग्दा सामाजिक प्रभुत्व देखाउन समेत मानिस लालची बन्दोरहेछ नै ।

युवा र आगामी पुस्ताको लागि अमिलो रुचि

युवा र दोस्रो पुस्तालाई सामाजिक सेवामा अभिरुचि बढोस् भन्ने चाहना र कामना समाज र परिवार दुवैलाई हुने गरेको छ ।तर युवा पुस्ताको रुचि समाजसेवाबाट किन घटिरहेको छ भन्ने विषयमा न अध्ययन भएको छ न त अनुसन्धान नै ।

सामाजिक संघसंस्था र समाजसेवामा युवा र दोस्रो पुस्ताको अमिलोपन बढ्नुको कारण सामाजिक संघसंस्थाहरू युवामुखी नहुनु पनि होला । युवाहरूको व्यक्तित्व विकास र उनीहरूलाई आकर्षण गर्न सक्ने परियोजनाहरू सञ्चालनमा त आउँछन् तर उनै पुराना र अनुभव बटुलेकाहरूकै हालीमुहाली हुन्छ । जुझारु युवा सधैं ओझेलमा पर्ने गर्छन् ।

पट्यारलाग्दो सभा-समारोह, खादा-माला, भाषण र राजनैतिक कुराकानीले धेरै युवा तथा दोस्रो पुस्ताको अभिरुचि कम पाइन्छ ।कतिपय अवस्थामा युवाहरू परिवर्तनका वाहक हुँदाहुँदै पनि दुर्भाग्यवश उनीहरूलाई राजनीतिक दलहरूले भ्रमित र दुरूपयोग गरेका छन् र नीतिनिर्माताहरूले सीमान्तकृत गरेका छन् ।संसारका अन्य देश र सरकारले पनि ठूलो संख्यामा युवालाई परिचालन गर्न सकेको छैन ।

युवालाई राष्ट्रले प्रयोग गर्न नसकेको कारण विकासोन्मुख नेपाल जस्ता देशहरूमा युवाहरू गरिबी, बेरोजगारी, भ्रष्टाचार, आत्महत्या र विभिन्न प्रकारका सामाजिक-आर्थिक समस्याको सामना गरिरहेका छन् ।नीतिहरूमा युवाहरूलाई सधैं मान्यता दिइन्छ, नीतिहरू सधैं युवाहरूको लागि हो भनिन्छ तर कागजमा मात्र सीमित हुन्छ ।

सामाजिक संस्थाहरूले मात्र होइन, सरकार वा राज्यले युवाको सहभागिता नलिई धेरै कार्यक्रम र योजना बनाउँछ तर त्यस्ता कार्यक्रम युवा पुस्ताका लागि प्रभावकारी भएको देखिंदैन । तसर्थ, नीतिनिर्माताले युवालाई समेटेर आफ्नो लागि योजना, नीति र कार्यक्रम बनाउनुपर्छ ।युवा विकासका लागि आर्थिक, शैक्षिक र प्राविधिक सहयोग र एकीकृत विकासमा ध्यान दिन जरुरी छ ।

आम चन्दादातासँगको उत्तरदायित्वको कमि

कुनै पनि सामाजिक संघसंस्थाको उद्देश्य प्राप्तिमा कोषको जरुरत हुन्छ र कोष संकलन चन्दा दाताहरूबाटै हुनसक्छ । विदेशमा खुलेका नेपाली संघसंस्थाहरू संचालन गर्ने वा उनीहरूको उद्देश्य प्राप्तिको लागि चन्दालाई नै कोष संकलनको माध्यम बनाएको देखिन्छ तर कोष सङ्कलन भनेको चन्दा माग्नु मात्र होइन ।समग्र कोष सङ्कलन परिदृश्य एकदम फरक छ ।

गैर-नाफामुखी संस्थाहरूले आफ्नो प्रोजेक्टहरू सफल बनाउन कार्यक्रम प्रायोजन गर्ने अवसर दिने, अनुदान लिने, व्यक्तिगत चन्दा, निःशुल्क सेवाको माध्यमबाट कोष बलियो बनाउन सक्छन् । तर, पछिल्लो समय प्रवासमा खुलेका संघसंस्थाहरूले चन्दालाई मात्र प्राथमिकता दिइरहेका छन् । चन्दा संकलनमा पारदर्शिता देखाउन नसक्दा चन्दादाताहरूको विश्वास टुटेको देखिन्छ ।

साथै नेपाली बसोबास गर्ने कतिपय मुलुकमा चन्दा संकलनको आफ्नै नियम र कानुन छन् भने कतिपय मुलुकमा चन्दा संकलन गर्न समेत बन्देज लगाइएको छ । चन्दा संकलन गर्नैपर्ने स्थितिमा सम्बन्धित निकायबाट आधिकारिक अनुमति लिनुपर्ने हुन्छ । त्यसैले समाजसेवाको हुटहुटी भएका व्यक्तिहरूले सम्बन्धित देशको नियम कानुन अनुसार आफ्ना सामाजिक संस्थाको कोष संकलन गर्दा भविष्यमा पर्न सक्ने झन्झटबाट मुक्ति मिल्ने देखिन्छ ।

आफ्ना चन्दादाताहरूप्रति इमानदादी देखाउँदा संस्था र आफ्नै व्यक्तिगत इज्जतमा समेत धक्का पुग्दैन ।पछिल्लो समय संघ-संस्थामा रहेको कोष नै विवादको प्रमुख विषय समेत बनेको यथार्थ सपाट देखिन्छ नै !

अन्त्यमा, विदेशमा होस् या स्वदेशमा खुल्ने संघ–संगठनको उद्देश्य शुद्ध भएमा मात्र लक्ष्य प्राप्ति हुन्छ । ग्रीस दुर्घटनामा परेको नेपालीको शव नेपाल लैजान होस् वा आयरल्याण्डमा आत्महत्या गरेका नेपालीको बारेमा सहयोगी हात फैलाउन एनआरएनले काम गर्‍यो । चाहे महा-भूकम्प वा कोभिडमा होस् अथवा अहिले युक्रेनमा रहेका नेपालीलाई उद्धारको लागि प्रवासस्थित सामाजिक संघसंस्था विशेषगरी एनआरएन नै अग्रणी रूपमा देखिन्छ ।

तर यिनै संघ-संगठनमा अमर्यादित, अपारदर्शी र चरम वैमनश्य देखिनु दुःखद पक्ष रहेको छ । आफ्नो देश छाडी प्रवासमा आएका नेपाली मनहरूलाई जोड्न, सामाजिक रूपमा एकीकरणको मनसायले खोलिने संघ–संगठनहरूले स्थापनाको मर्म बोकेर काम गर्नुपर्छ ।

सबै मर्यादालाई भुली विभिन्न विचार, समूह, क्षेत्र र धर्मको नाममा खण्डीकरण हुँदै जन्ती-मलामीमा समेत आ-आफ्ना गुट-समूहलाई मात्र सहभागी गराउने अभ्यास घातक हुनसक्छ ।

सामाजिक संघ-संगठनको लक्ष्य प्राप्तिको लागि आर्थिक पारदर्शिता र सांगठनिक संरचना निकै महत्वपूर्ण हुन्छ । साथसाथै पदाधिकारीहरूको अनुभव र योग्यताले समेत संघ–संगठनको उद्देश्यलाई सफल बनाउन भूमिका खेल्छ । यो तथ्य नभुलौं ।

लेखकको बारेमा
रामशरण सिम्खडा

लन्डनमा बसोबास गरिरहेका सिम्खडा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का केन्द्रीय उप-महासचिव हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?