+
+

बाबुको प्रतीक्षामा सानी छोरी

मानवी बानियाँ मानवी बानियाँ
२०७८ फागुन २४ गते १५:३३

ह्याप्पी एनिभर्सरी डियर हस्वेन्ड

‘आज त्यो दिन जुन दिन मबाट हामी भएका थियौं, त्यो दिन जुन दिन मैले मेरा हरेक इच्छाहरूलाई हाम्रो मानेकी थिएँ । घरको आँगनी रुँदैरुँदै छोड्दा पनि फेरि हजुरसँग नयाँ जिन्दगी सुरुवातको सपना सजाएकी थिएँ ।

जिन्दगीको सुरुवात भएको केही वर्षमै हजुर टाढा हुनुभएको पीडा त छँदैछ तर पनि छिट्टै नै एक हुनेछौं भन्ने आशाले त्यो पीडालाई भुलाइरहेकी छु । भौतिक दूरी जति नै टाढा भए पनि हामीबीचको माया सधैं नै उस्तै छ । यो समय सँगै हुने आशा थियो । त्यो पनि पूरा हुन सकेन तर पनि यो मन सधैं हजुरसँगै भएको आभास हजुरको मायाले गराउँदछ ।

अब त छोरी पनि दिन प्रतिदिन ठूली हुँदैछे । उसले ‘बाबा खोइ’ भन्दा हजुरलाई अगाडि राखेर चिनाउन पाऊँ । अब मेरो लागि होइन हाम्रो लागि हजुर छिट्टै फर्किनुहोला ।

यो समय काट्न निकै कठिन हुँदैछ प्यारो मान्छे । अब त चाँडै आइदिनुहोस् । बाहिर जति नै हाँसे पनि सधैं हजुरको यादले भित्र–भित्र छटपटाइरहेकी छु ।’

यो एक पत्नीले पतिलाई लेखेको पत्र थियो । मात्र दुई दिनअघि फागुन २२ गते आइतबार । जुन दिन उनीहरू वैवाहिक बन्धनमा बाँधिएको तीन वर्ष पूरा भएको थियो । यो पढेर कसको मन चसक्क नगर्ला ?

यसमा कुनै नारीको रोदन थियो त कुनै भर्खरै संसार चिन्दै गरेको सानो शिशुलाई उसको पर्खाइ थियो ।

आज अन्तर्राष्ट्रिय नारी दिवस, आजको दिन प्रायः लैङ्गिक समानता र विशेषतः सफलता हासिल गरेका नारीहरूको चर्चा गरिन्छ । तर आज हामी चर्चा गर्छौं एक नारी शक्तिको, जहाँ कसैको प्रतीक्षामा अल्झिएको छ कथा ।

सजना बानियाँ शर्माको माइती हेटौंडा हो । हाल उनी वीरगञ्जको मुर्ली बगैंचा बस्छिन् ।

मानवी बानियाँ

करिब ८ महिना अघि, असारको महिना उनी निकै हर्षित थिइन् । वैवाहिक जीवन निकै राम्रो, माया गर्ने पतिको साथ, जीवन रमाइलै बित्दै थियो । त्यसमाथि उनी गर्भवती समेत थिइन् । मनमा छुट्टै उमङ्ग थियो, आमा बन्ने सपना हुर्किरहेको थियो । तीन महिना पूरा भएर असारको महिनामा उनको गर्भ ४ महिना लागिसकेको थियो ।

अनेकौं सपना बुन्ने गरेका थिए सजना र उनका पति विराज शर्माले । ३२ वर्षका उनका पति पेशाले बैंकिङ्ग क्षेत्रमा आबद्ध थिए । उनलाई विराजले माया र ख्याल त गर्थे नै ।

झन्, गर्भवती पछि त्यो माया अनि ख्याल बढ्दै गयो । जति समय बित्दै गयो, उति नै उनको पेट देखिन थाल्यो । उनी मोटाउन थालिन्, पेटमा बच्चाको आभास हुन लाग्यो अनि मनमा उमंगको ढुकढुकी छाउँदै गयो ।

परिवारमा सबै खुशी थिए । तर, त्यो उमंगको ढुकढुकी आँसु र पीडामा परिणत भयो । एक्कासी नसोचिएको घटना भयो । असारको ३२ गते मसान्तको दिन गायब भएका विराज आजसम्म पनि घर फर्केनन् ।

बिहानीको खाना खाएपछि धन्दा सकेर करिब १२ बजेको समयमा उनीहरू पति–पत्नी आफ्नो कोठामा आराम गर्दै थिए । उनलाई अझै याद छ, विराज पनि उनकै छेउमा आराम गर्दै थिए तर गर्मीको महिना त्यसमाथि पनि मधेश जस्तो ठाउँमा, दिउँसोको समय सुत्ने बानी परेको थियो । उनीहरू त्यो दिन पनि मस्त दिउँसो सुते ।

छोरीको हरेक क्रियाकलाप उनले करिब ८ महिना अघिबाट अफ लाइन भएको विराज (पति) को आइडीको मेसेन्जरमा पठाउँछिन् । ‘हेर्नु त बाबा, छोरीले आज यस्तो गरिन्, उस्तो गरिन्’ भनेर हरेक पल म्यासेज सेन्ड गर्छिन् ।

सुतेको दुई घण्टापछि करिब २ बजेको समयमा आँखा खुल्दा छेउमा उनका पति विराज थिएनन् । सायद दूध लिन पसल गएका होलान् भन्ने आशले उनले त्यति चासो गरिनन् । आफ्नै काममा लाग्न थालिन् ।

तर घण्टौं बित्यो, दिन बित्यो, रात बित्यो, हप्ता बित्यो, महिनौं बित्यो तर विराज फर्केनन् । उनको खोजीमा प्रहरीमा खोजतलासदेखि सञ्चारमाध्यममा समेत मानिस हराएको सूचना प्रकाशन तथा प्रसारण गरियो तर, पनि अत्तोपत्तो लागेन ।

उनले आजको दिनसम्म लाखौं पटक फोन गर्ने प्रयास गरे तर फोन स्विच अफ । के कुरामा उनले यसरी घर नै छोडर हिंडे भन्ने सोचमा उनको परिवार र उनी नै बेखबर छिन् ।

भनिन्छ नि, पतिको महत्व उति बेला झन् बढी हुन्छ जति बेला कुनै पत्नी गर्भवती हुन्छिन् । गर्भावस्थामा चिन्तामुक्त हुनुपर्छ । गर्भवतीको शारीरिक मात्र होइन, मानसिक अवस्थाले पनि गर्भको बच्चालाई प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले त्यतिबेला खुसी र ढुक्क हुन आवश्यक हुन्छ । त्यसका लागि घरको पारिवारिक वातावरण यस्तो हुनुपर्छ, जसले कुनै तनाव, बेचैनी, भय पैदा नगरोस् ।

यो भूमिका खेल्नुपर्ने हुन्छ एक पतिले । तर उनले त त्यो समयमा एक्लै डटेर अघि बढिन् । परिवार, माइती सबैले साथ त दिएका थिए तर आफ्नो पतिको मायाको अघि यी सबै फिक्का लाग्ने रहेछ ।

सँगै रहेका पति एक्कासी बेखबर हुँदा त्यो पनि यस्तो अवस्थामा । सायद यो पीडा कमै नारीलाई पर्छ होला । पत्नी गर्भवती भएपछि पतिको जिम्मेवारी थपिन्छ ।
खानपानदेखि सुत्ने–उठ्ने तालिका मिलाउनेसम्मको काममा पतिले सहयोगी भूमिका खेल्नुपथ्र्यो तर, त्यो उनको लागि सपना जस्तै रह्यो ।

उनी गर्भवती हुँदा आत्मविश्वास बढाउने, खुसी रहने कुरामा उनी आफैं बेखबर रहिन् । त्यो ६ महिना कसरी बित्यो भन्ने कुरा उनी सम्झना समेत राख्न चाहन्नन् । डेलिभरीको समय नजिकिंदै गर्दा उनको मनले सधैं पतिको साथ खोज्थ्यो, तर कहिल्यै त्यो सम्भव भएन ।

मंसिर २४ गतेको दिन अनेकौं पीडा बाधा सहेर उनले आफ्नो सन्तानलाई जन्म दिइन् । अहिले उनकी छोरी (आरुभी) ३ महिनाकी लागिन् । परिवारमा पेटमा भएको बच्चालाई केही हुने भन्ने डर थियो, जुन समयमा उनी निकै स्ट्रेस र डिप्रेस्ड हुन पुगेकी थिइन् तर बच्चा निकै स्वस्थ जन्मियो ।

उनको संसारमा पीडा अलिकति भएपनि कम गराइदिने अब त छोरी छिन् । तर, उनले आफ्नो पतिलाई नसम्झेको पल भने छैन । छोरीको हरेक क्रियाकलाप उनले करिब ८ महिना अघिबाट अफ लाइन भएको विराज (पति) को आइडीको मेसेन्जरमा पठाउँछिन् । ‘हेर्नु त बाबा, छोरीले आज यस्तो गरिन्, उस्तो गरिन्’ भनेर हरेक पल म्यासेज सेन्ड गर्छिन् ।

छोरीको स्याहारसुसारमा दुवै मिलेर लाग्ने भनेर सपना बुनेका उनी आज एक्लै छिन् । मनमा हजारौं पीडा लुकाएर उनी बाहिरी देखावटी हाँसो गर्छिन् । अझै पनि उनले आश भने मारेकी छैनन्, अब छोरीले बाबा भनुन्जेलसम्म आफ्नो पतिको आगमन हुन्छ भन्ने कुरामा लागिपरेकी छिन् ।

उनलाई डर छ, छोरीले ठूली भएपछि मेरो बाबा खै भन्दा के जवाफ दिने ? अब एक पत्नीले पति कुराइको मात्रै कुरा रहेन अब त सानी मान्छे, छोरी समेत एक बाबुको प्रतीक्षामा छिन् । हिम्मत र आँटको कारण उनको अघि आज छोरी छिन् ।

(लेखिका सञ्चारकर्मी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?