+
+

एसियाकै ठूलो हात्तीको मृत्यु, राजकीय सम्मानका साथ अन्त्येष्टि हुने !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते २०:०३

२४ फागुन, काठमाडौं । देशको सबैभन्दा पवित्र तथा चर्चित हात्तीको मृत्यु भएसँगै श्रीलंकाले राष्ट्रिय शोकको घोषणा गरेको छ ।

एसियाकै सबैभन्दा ठूलो घरपालुवा हात्ती मानिएको नादुंगामुवा विजय राजा नामक हात्तीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न र त्यसको अस्तुलाई भविष्यको पुस्ताका लागि संरक्षण गर्न राष्ट्रपतिले निर्देशन दिएका छन् ।

राजा नामले पनि चिनिने उक्त हात्ती तन्नेरी बेलामा श्रीलंकाको वर्षेनी हुने पवित्र बौद्ध जात्रा इशालामा बुद्धको अस्थिधातु बोक्ने जिम्मेवारी पाएको थियो । श्रीलंकाको क्यान्डी सहरमा हरेक वर्ष जुलाई महिनाको पूर्णिमामा उक्त जात्रा मनाइन्छ ।

त्यसैले यो हात्तीलाई श्रीलंकाको सबैभन्दा पवित्र, सम्भ्रान्त तथा भाग्यमानी हात्ती पनि भनिन्छ । श्रीलंकामा यसरी बुद्धको अस्थिधातु बोक्नका लागि विशेष शारीरिक गुण भएका सिमित हात्तीलाई मात्र छान्ने गरिन्छ । उभिएको बेला सात विन्दु अर्थात् चार खुट्टा, सुँड, लिंग र पुच्छरले भुइँ छुने हात्तीले मात्र बुद्धको अस्थिधातु बोक्न पाउँछन् ।

आफ्नो वासस्थानबाट क्यान्डीमा हुने जात्रामा पुग्नका लागि राजाले ९० किलोमिटर यात्रा गर्नु पर्दथ्यो र त्यसबेला उसको सुरक्षाका लागि सेनाको विशेष फौज नै परिचालन गरिन्थ्यो ।

राजधानी कोलम्बो बाहिर आफ्नै निवासमा ६८ वर्षको उमेरमा राजाको मृत्यु भएको हो । सेतो कपडाले बेरिएको र पुष्पगुच्छा चढाइएको राजको शव हेर्नका लागि टाढा टाढाबाट मानिसहरु पुगेका छन् ।

भारतको माइसोरमा सन् १९५३ मा जन्मिएको उक्त हात्तीलाई माइसोरका राजाले श्रीलंकाले भिक्षु वैद्यलाई उपहार दिएका थिए । आफन्तको उपचार गरिएबापत धन्यवाद स्वरुप राजाले ती भिक्षुलाई हात्तीको छावा उपहार दिएका थिए ।

मृतक हात्ती राजालाई श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापक्षेले राष्ट्रिय सम्पदा घोषणा गरेका छन् । बौद्ध परम्परा अनुसार राष्ट्रिय सम्मानका साथ हात्तीको अन्तिम संस्कार भएसँगै हात्तीको शवलाई ट्याक्सिडर्मी विज्ञहरुलाई प्रदान गरिनेछ, जसले हात्तीको सरीरलाई संग्रहित गरेर राख्नेछन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?