+
+

वीरगञ्जका ३ होटल अति उत्तम, २ वटा उत्तम

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते २०:५४

२४ फागुन, वीरगञ्ज । खाद्य स्वच्छताको आधारमा वीरगञ्जका १३ वटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मुल्यांकन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर, डिभिजन कार्यालय वीरगञ्ज, स्थानीय प्रशासन तथा होटल तथा पर्यटन व्यवसायीहरुको संयुक्त टोलीले स्तरीकरण मुल्यांकन गरेको हो ।

स्तरीकरण मूल्याङ्कनका क्रममा वीरगञ्जका तीन वटा होटल मात्रै अति उत्तममा परेका छन् । वीरगञ्जको क्लर्क, भिश्वा र लर्डस दियालो अति उत्तममा परेका हुन् । यी होटलहरुमा ३ वटा स्टारसहितको हरियो लोगो टाँसिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विवेक खनालले जानकारी दिए ।

स्तरीकरण मूल्यांकनका लागि सरोकारवाला सम्मिलित ७ सदस्यीय खाद्य स्वच्छता समिति गठन गरिन्छ । समितिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत, उपभोक्ता अधिकारकर्मी, प्रहरी प्रशासनबाट खटाइएका प्रतिनीधि, स्थानीय तह, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनीधि समितिमा रहन्छन् ।

खाद्य स्वच्छताको आधारमा होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा भएको व्यवस्थाअनुसार ५० वटा सूचकको आधारमा होटल तथा रेष्टुरेन्टको स्तरीकरण मुल्याङ्कन गर्ने गरिन्छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार मकालु र पुजन होटल उत्तम देखिएको छ भने ५ वटा होटल सन्तोषजनक र ३ वटा होटल सामान्य देखिएका छन् । ती होटलहरुमा पनि उनीहरुको स्तर अनुसार लोगो टाँस गरिएको कार्यालयले जनाएको छ ।

स्तरीकरण मुल्यांकन पछि लोगो टाँस गर्नुको साथै प्रमाणपत्र प्रदान गर्ने गरिएको वीरगञ्ज स्थित डिभिजन कार्यालय प्रमुख खाद्य अनुसन्धान अधिकृत विक्की राउतले जानकारी दिए । स्तरीकरण लोगो तथा प्रमाणपत्रको समयावधि १ बर्षको हुन्छ । प्रत्येक होटल, रेष्टुरेण्ट व्यवसायीले आफुले प्राप्त गरेको प्रमाणपत्र नवीकरणको लागि म्याद समाप्त भएको ३ महिनाभित्र सम्बन्धित विभाग वा कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ ।

कोरोना महामारी तथा जनशक्तिको अभावका कारण बीचमा स्तरीकरण मुल्यांकन स्थगित गरेको भएपनि अब निरन्तर सञ्चालन गर्ने खाद्य अनुसन्धान अधिकृत राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?