+
+

ओबामा र नेटफ्लिक्सले हात झिकेपछि ‘तेन्जिङ’को निर्माण डिज्नीले गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १२:३४

२५ फागुन, काठमाडौं । २०७७ सालको माघ तेस्रो साता अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले हलिउड कम्पनी हाइअर ग्राउन्ड प्रोडक्सन र नेटफ्लिक्ससँग मिलेर एकैसाथ ६ फिल्म निर्माणको घोषणा गरे । जसमा तीन फिल्म, दुई सिरिज र एउटा डकु–सिरिज समावेश थिए ।

ओबामाको उक्त लाइनअपमा प्रथम सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पाको जीवनमाथि आधारित रहेर नेटफ्लिक्ससँगको सहकार्यमा बनाउने भनिएको फिल्म ‘तेन्जिङ’ पनि छ ।

गत जेठ १ गते फिल्म ‘तेन्जिङ’का लागि अष्ट्रेलियाको कास्टिङ कल कम्पनी डेनीलङले कलाकारको लागि आह्वान पनि गर्‍यो । सन् २०२२ मा नेपाल र न्युजिल्यान्डमा छायांकन हुने भनिएको उक्त सूचनामा मुख्य पात्र तेन्जिङ नोर्गेसहितका पात्रका लागि आह्वान गरिएको थियो ।

तर २०७८ मंसिर ३ गते सोही फिल्मका लागि हलिउड स्टुडियो डिज्नीले पुनः कलाकारका लागि आह्वान गर्‍यो । नेपालको मिला प्रोडक्सनले नेपाली, तिब्बती र अंग्रेजी भाषामा तेन्जिङसहितका पात्र आवश्यक रहेको भन्दै सूचना जारी गर्‍यो । अहिले अडिसन सकिएको छ र चाँडै मुख्य कलाकार सार्वजनिक गर्ने तयारी छ ।

डिज्नीले अडिसन आह्वान गरेपछि फिल्म तेन्जिङको निर्माणबाट ओबामाको प्रोडक्सन कम्पनी हाइअर ग्राउन्ड र नेटफ्लिक्सले हात झिकेको जनाइएको छ । फिल्मको नेपाल अडिसन व्यवस्थापन हेरेको मिला प्रोडक्सनका प्रमुख तथा निर्देशक छिरिङरितार शेर्पाले ओबामाले हात झिकेपछि नै डिज्नीले फिल्म बनाउन लागेको र आफूहरुले सोहीअनुसार कास्टिङ कल गरेको बताए ।

‘सुरुमा ओबामा कम्पनी र नेटफ्लिक्सले बनाउने भनेर तयार भएको फिल्मबाट अन्तिम समयमा हात झिकेपछि अहिले डिज्नीले बनाउँदैछ,’ शेर्पाले अनलाइनखबरसँग भने, ‘त्यतिबेला पनि कुनै कलाकारलाई कास्ट गरिएको थिएन । त्यही भएर होला डिज्नीले यो प्रक्रियालाई अघि बढायो ।’

 

निर्देशक शेर्पाका अनुसार यो फिल्मको सन् २०२२ को मध्यतिर नेपालमा समेत छायांकन हुने तयारी गरिएको छ । यो फिल्मलाई अष्ट्रेलियाली निर्देशक जेन पिडमले निर्देशन गर्ने भएकी छिन् । हाई–अल्टिच्युड डकुमेन्ट्री ‘शेर्पा एन्ड माउन्टेन’ निर्देशन गरिसकेकी निर्देशक पिडमले यो कथामा फिल्म बनाउन पाउँदा आफूलाई खुसी लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग बताएकी छन् ।

अष्ट्रेलियाली निर्देशक जेन पिडम

१५ वर्षदेखि निर्देशक पिडमले संसारका अग्ला पर्वतमाथि श्रृंखला बनाइरहेकी छन् । सन् २०१५ को फिल्म ‘शेर्पा’ उनको चर्चित फिल्म हो । फिल्म तेन्जिङको कथा चाहिं अष्ट्रेलियाली फिल्म लेखक ल्युस डेभिसले लेखेका छन् । उनले यसअघि हलिउड ब्लकबस्टर ‘लायन’ लेखेका थिए ।

तेन्जिङ नोर्गे शेर्पाले एड्मन्ड हिलारीसँगै सन् १९५३ को मे २९ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए । टाइम म्यागजिनले शेर्पालाई २० औं शताब्दीका सय प्रभावशाली व्यक्तिको सूचीमा राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?