+
+

बक्स अफिसमा ‘लप्पनछप्पन २’को कमजोर व्यापार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २६ गते ११:४१

२६ फागुन, काठमाडौं । घरेलु बक्स अफिसमा पछिल्लो साता ‘म यस्तो गीत गाउँछु २’, ‘द ब्याटम्यान’ र ‘गंगुबाई काठियावाडी’ले सन्तोषजनक प्रदर्शन गरेका छन् । तर बिग बजेटको एक्सन फिल्म ‘लप्पनछप्पन २’ले बक्स अफिसमा कमजोर प्रदर्शन गरेको छ ।

गत शुक्रबार रिलिज भएको सौगात मल्ल, अनुपविक्रम शाही र शिव श्रेष्ठ स्टारर ‘लप्पनछप्पन २’ले अपेक्षाअनुसार व्यापार गर्न सकेन । मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले शुक्रबारदेखि नै मुकुन्द भट्टद्वारा निर्देशित फिल्मलाई हटाइदिएको छ ।

चार करोड रुपैयाँको लगानीमा निर्माण भएको मल्टिस्टारर ‘लप्पनछप्पन २’ले आफूलाई एक साता पनि टिकाउन मुस्किल रह्यो । ‘सोचेअनुसार दर्शक नआएपछि हामीले भोलिदेखि यसलाई हटाउने निर्णय लिएका छौं,’ क्यूएफएक्सको प्रणाली विभाग प्रमुख आदर्श सिग्देलले अनलाइनखबरसँग भने ।

सौगात मल्ल र अनुपविक्रम शाहीजस्ता स्टार भएपनि फिल्मले अपेक्षाकृत ओपनिङ चाहिं गर्न सकेन । समीक्षकले पनि फिल्मलाई लिएर कमजोरी औंल्याएका थिए । ‘लप्पनछप्पन २’ नचल्दा यसले कोरोना महामारीपछि लयमा फर्कन संघर्ष गरिरहेको नेपाली फिल्मलाई धक्का पुगेको कतिपय हल सञ्चालक बताउँछन् ।

‘लप्पनछप्पन २’को पहिलो साताको कलेक्सन ७५ लाख ग्रसमा सीमित हुनसक्ने प्रक्षेपण गरिएको छ ।

अन्य फिल्मको व्यापार कस्तो छ ?

‘म यस्तो गीत गाउँछु २’लाई दोस्रो साता (बुधबार बेलुकासम्म) क्यूएफएक्स चेनमा ३५ हजार ८५० जना दर्शकले हेरेका छन् । क्यूएफएक्सको तथ्यांकअनुसार दुई सातामा पल शाह र पूजा शर्मा स्टारर रोमान्टिक ड्रामाले उक्त चेनमा १ करोड ७५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।

निर्माताले पहिलो साता झन्डै ६ करोड कलेक्सन भएको दाबी गरेका थिए । ‘हाम्रो हलमा यो फिल्मको कमाइ निकै उत्साहजनक हो । हामीले सोचेभन्दा बढी कमाइ गरेको छ,’ सिग्देलले भने ।

सुदर्शन थापा निर्देशित फिल्मलाई काठमाडौको सिभिल मल, वान सिनेमाज्, बिग मुभिज, ललितपुरको लबिम मल र भक्तपुरको भाटभटेनीमा धेरैले हेरेका छन् । नेपालगञ्ज, नारायणगढ र पोखरामा पनि यो फिल्मले राम्रो कमाइ गरेको छ ।

बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ले दोस्रो सातासम्म घरेलु बक्स अफिसमा राहतपूर्ण कमाइ गरेको छ । यस्तै वार्नर ब्रोजको ‘द ब्याटम्यान’ले पहिलो साता ९० लाख ग्रस कमाइ गरेको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

आगामी साता ‘द ब्याटम्यान’को शो स्थिर हुने देखिएको छ भने ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियावाडी’को शोमा भने कमी आउने हलहरुले सार्वजनिक गरेको तालिकामा देखिएको छ ।

टम हल्याण्ड स्टारर ‘अनचार्टेड’ पनि एक सातामै उत्रिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?