+
+
अभिनेता दयाहाङ राईसँग संवाद :

‘अब ग्लोबल दर्शक लक्षित फिल्ममा केन्द्रित हुन्छु’

हामीकहाँ फेस्टिभलमा देखाइएका फिल्मलाई लिएर एउटा भ्रम छ– यो चाहिं ग्लोबल अडियन्सलाई बनाएको हो र यो जटिल छ भन्ने । यो सामान्य भ्रमलाई तोड्नुपर्छ । कुनै पनि फिल्मलाई सामान्य तरिकाले हेर्‍यो भने सामान्य नै हुन्छ । गम्भीर तरिकाले हेर्‍यो भने गम्भीर नै हुन्छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते २०:१५

काठमाडौं । अभिनयको हिसाबले ‘गाउँ आएको बाटो’ दयाहाङ राईको ५८ औं फिल्म हुनेछ । उनले काम गरेका फिल्मको सूचीमा यो सोसल–ड्रामाको खास अर्थ छ । गाउँमा मोटरबाटो पुगेपछि त्यसले ल्याउने सामाजिक र आर्थिक मनोविज्ञानको कथा पेश गर्ने यो फिल्म जेठ २५ गतेबाट प्रदर्शन तयारीमा छ । यो फिल्ममा उनले बाबुको भूमिका निर्वाह गरेका छन्, जसले छोराको चाहना पूरा गर्न संघर्ष गर्नुपर्छ । फिल्मको केन्द्रमा विकासवाद र आधुनिकतासँगको लडाइँ छ ।

दयाहाङले पछिल्लो करिअरमा ‘कबड्डी ४’ र ‘जारी’ जस्ता ब्लकबस्टर फिल्म पनि दिए । फ्लपको स्वाद पनि चाखेका छन् । यतिबेला दयाहाङसामु नयाँपन दिनुपर्छ भन्ने अस्तित्वको प्रश्न पनि खडा भएको छ । यो मनोविज्ञानबीच उनको नयाँ फिल्म ‘गाउँ आएको बाटो’ रिलिज हुँदैछ । यो संवादमार्फत उनले फिल्ममेकर र वितरकलाई केही आह्वान पनि गरेका छन् । फिल्म, व्यवसाय र आउने समयबारे अभिनेता दयाहाङ राईसँग अनलाइनखबरकर्मी विष्णु शर्माले गरेको कुराकानीको सम्पादित अंश :

अहिलेको समय र सन्दर्भमा ‘गाउँ आएको बाटो’ कति सान्दर्भिक र अर्थपूर्ण छ ?

गाउँमा बाटो आइसकेपछि बाटो सँगसँगै थुप्रै कुरा आउँछन् । दैनिक उपभोग्यदेखि विलासिताका सामान पनि घरसम्म आइपुग्छन् । बाटो आउँदैन मात्र, बाटोले लगेर पनि जान्छ । बाटोले गाउँबाट दैनिकी, जीवनशैली धेरै कुरा लगेर जान्छ । यसकारण अहिले पनि समय सान्दर्भिक नै छ । यो फिल्ममा विकट गाउँमा पहिलोपटक मोटर पुगेको दृष्टिकोणमा कथा भनिएको होला तर बाटोसँगै बजार आइपुग्ने हो । ठूला माछा ल्याएर, साना माछा खुवाउने बजारको स्वभाव हो । बाटोसँग चमकधमक आयो होला । यसले हाम्रो सपना बोकेर लान्छ । यसकारण ‘गाउँ आएको बाटो’ अहिले पनि समय सान्दर्भिक छ ।

पछिल्ला वर्षमा मान्छेको सोचाइ र सम्बन्धमा जुन उथलपुथल आइरहेको छ, यसो हुनुमा के बाटो जिम्मेवार छ भन्ने स्टेटमेन्ट फिल्मको हो ?

मान्छेको जीवन र सपनामा बाटो आवश्यकता होला । बाटोले थुप्रै सम्बन्ध पनि जोड्छ । सम्बन्ध पनि भत्काउँछ । बाटै नहुँदाको सम्बन्ध एउटा थियो होला । बाटो भइसकेपछि नजिक भएर जान्छ होला वा टाढा भएर जान्छ होला । बाटो नहुँदो हो त काठमाडौं र भोजपुरको सम्बन्ध अर्कै हुन्थ्यो होला । बाटो जिम्मेवार भन्दा पनि आवश्यकता होला । विशेषगरी समाजका अगुवा जिम्मेवार होलान् । बाटोले सम्बन्ध जोडिन्छ पनि टाढिन्छ पनि । उथलपुथल नै हुन्छ ।

फेस्टिभलको चक्र पूरा गरेपछि यो फिल्म स्वदेशमा रिलिज हुँदैछ । अन्तर्राष्ट्रिय महोत्सवको प्रतिक्रिया कस्तो पाउनुभयो ?

दर्शकको रेस्पोन्स बुझ्दा हामीले युनिभर्सल फिल्म बनाइएछ कि भनेजस्तो महसुस भयो । धेरैजना दर्शकले यसको कथा आफ्नो बुवा र आफ्नै कथाजस्तो लाग्यो भन्नुभयो । हामीले हाम्रो कथा भनिरहँदा भन्दा पनि यो युनिभर्सल थियो । ग्लोबल अडियन्सको लागि जोडिने कथा थियो भन्ने मलाई लाग्छ ।

त्यसमाथि हाम्रो सामाजिक चरित्र हुने नै भयो । मलाई रोचक लागेको कुरा, टोरन्टोका केही दर्शकले यो कथा हामीले भोगेजस्तै, बाजेले सुनाएजस्तै कथा पो रहेछ त भन्नुभयो । उहाँहरुले रोचक लाग्यो भन्नुभयो । विकास पूर्वाधारको कुरा त जहाँ पनि बाटै हो । बाटैलाई सारा चीजको विकास मानेर पनि भएन । त्यो पूर्वाधार मात्रै हो । त्यो कथा भनिरहँदा हामीले सामाजिक सम्बन्धको कुरा पनि कथामा मिश्रण गरेका छौं ।

कसरी ‘गाउँ आएको बाटो’ले ग्लोबल र लोकल (ग्लोकल) दर्शकलाई जोड्न सक्छ ?

हामीकहाँ फेस्टिभलमा देखाइएका फिल्मलाई लिएर एउटा भ्रम छ– यो चाहिं ग्लोबल अडियन्सलाई बनाएको हो र यो जटिल छ भन्ने । यो सामान्य भ्रमलाई तोड्नुपर्छ । कुनै पनि फिल्मलाई सामान्य तरिकाले हेर्‍यो भने सामान्य नै हुन्छ । गम्भीर तरिकाले हेर्‍यो भने गम्भीर नै हुन्छ । हामीकहाँ यो फिल्म फेस्टिभलमा गएको हो, बुझिएन भनेर दिमाग लगाउने चलन छ । स्थानीयरुपमा बनेका फिल्मलाई चाहिं नजानेर बनायो भन्ने सामान्य सोच छ । यो सोच कुनै दिन चिरिएला ।

फिल्मलाई हामीले मनोरञ्जन मात्रै रुपमा हेर्छौं । सतही तरिकाले मात्र हेर्नु हुँदैन भन्ने मेरो अनुरोध हो । यसलाई अलिकति गहन तरिकाले हेर्नुपर्छ । हाम्रो भाष्य छ कि ‘गाउँ आएको बाटो’ फेस्टिभलमा गयो र यो भारी छ भन्ने भ्रमलाई फिल्मले चिर्छ । सामान्यरुपमा यो फिल्म लिनियर शैलीमा छ । आम मान्छेलाई कनेक्ट हुन्छ । कथा बुझ्न र खोज्नका लागि गम्भीररुपले हेरिराख्नुपर्दैन । कुनै प्रयोगात्मक तरिकाले कथा भनिएको छैन । सामान्य संरचनामा छ ।

पात्र सामान्य छन् । बुझ्नै कठिन हुने अलौकिक पात्र छैनन् । मनोविज्ञान पनि सामान्य नै छ । बाटो आइसकेपछि परिवारको सम्बन्धको कथा छ । मुख्यतः मान्छेले फिल्म हेर्दा आफूलाई कनेक्ट गर्न पाएन भने अप्ठ्यारो लाग्ने हो । त्यो विश्वभित्र कसरी छिराउने भन्ने हो । त्यो विश्वभित्र सहज ढंगले ‘गाउँ आएको बाटो’ छिर्छ । ‘ग्लोकल’ दर्शकलाई यो फिल्मले मीठो ढंगले कनेक्ट गर्छ । यति मीठो तरिकाले गहन विषय भन्न सकिने रहेछ भन्ने अनुभूति मेकरलाई हुन्छ ।

ग्लोबल’ दर्शकलाई अपल गर्न हामीले कस्ता कथामा काम गर्न जरुरी देख्नुहुन्छ ?

कथा यो हो भन्दा पनि त्यो कथालाई कसरी भन्ने कुरा प्रधान हो । मान्छेलाई कुनै न कुनै एंगलबाट जोडिने कथा चाहिन्छ । मान्छेलाई फिल्म हेरिरहँदा यो अचम्मको संसार पनि रहेछ भन्ने हुनुपर्‍यो । वा यस्तो चीज मैले कहीं भोगेको थिएँ भन्ने हुनुपर्‍यो । कि मीठो संसारको परिकल्पना गर्नुपर्‍यो कि हामीले बाँचेको संसारको कथा हुनुपर्‍यो । जुन शैलीले बनाए पनि हुन्छ । तर मेकर चाहिं इमान्दार हुनुपर्‍यो । के भन्न खोजेको हो त्यो चाहिं क्लियर हुनुपर्‍यो ।

अहिले जसरी फिल्म निर्माणमा लगानी भइरहेको छ, यस्तो स्थितिमा सामुदायिक लगानीको अवधारणामा बनाइएको ‘गाउँ आएको बाटो’ले के सन्देश दिन्छ ?

मान्छेलाई आफ्नो कथा भन्न र उपस्थिति जनाउन जरुरी छ । यो चीज धेरै ठाउँका लागि युनिक टेक्निक हुनसक्छ । यसले एकजना व्यक्तिलाई मात्रै मार पर्ने काम हुँदैन । एकजनाले मात्रै सेलिब्रेट गर्ने अवसर पाउँदैन होला । सिंगो समुदायलाई जोड्ने काम पनि गर्छ । फिल्म रिलिज हुँदा धेरै ठाउँबाट सेलिब्रेट गर्ने अवसर पनि आउँछ । विश्व बजारमा पुग्नको लागि एक्लैको मेहनतले कठिन हुनसक्ला । यसको लागि यो फिल्म उदाहरणीय काम हो ।

हात्तीछाप, डिग्री माइला हुँदै मनसरासम्मको बक्स अफिसको नतिजाबारे तपाईं अवगत हुनुहुन्छ । यसले तपाईंलाई अब आफ्नो काम गराको शैली र योजनामा केही बदलाव ल्याउनुपर्छ भन्ने लागेको हो ?

केही फिल्ममा राम्रो नतिजा नआउनुको कारण पछाडि मुख्यतः कुनैमा पब्लिसिटीको कुरा भयो होला, कुनैमा स्टोरीको कुरा भयो र कुनैमा मेकिङको कुरा आयो होला । यी चीज नै जोडिएको छ । मैले पहिलेदेखि नै सबै मेकरलाई आह्वान गरिराख्या छु– काम चाहिं म गर्ने हो । यसमा संख्यामा घटाउनुपर्छ भन्ने मेरो रणनीति होइन । मैले वर्षमा कति काम गर्छु भन्ने मेरो आफ्नो छ । चार-पाँचबाट तीनमा झारौं भन्ने एउटा कुरा हुनसक्छ होला ।

तर त्यो भन्दा पनि पहिलो कुरा के हुनुपर्छ भन्दा मेकरलाई मेरो आह्वान– स्क्रिप्ट लक नभइञ्जेलसम्म सुटिङमा जान हतार नगरौं । सुटिङ नसकिञ्जेलसम्म रिलिज डेट घोषणा नगरौं । दुईटा कुरा २०८० सालमै भनिसक्या कुरा हो । सबैलाई हतारो हुन्छ । न त्यो टिमले आनन्दले काम गर्न पाउँछ । अहिले भइराखेको फिल्ममा सबै चीज के थियो भने यसअघि नै एउटा क्यालेन्डर बनिसक्या थियो । त्यो क्यालेन्डरले एउटा लक्ष्य त पुग्ला तर यसले मान्छेलाई हतारो मात्र गराउँछ ।

दौडिनुपर्‍यो । दौडिंदा २–४ ठाउँमा लडिन्छ । लडेर पनि पुग्न त पुगिएला । अलिकति घाइते त भइहालिन्छ नि । त्यही चीज भइराखेको हो । अब चाहिं सबैलाई मैले भन्ने के हो भने– बरु बिस्तारै हिंडौं । पुग्ने ठाउँमा पुगौं । कमसेकम क्लियर बाटो चाहिं बनाऊँ । ‘गाउँ आएको बाटो’ खिच्दा एउटा टार्गेट के थियो भने ६–७ महिनाअघि खिचेर सक्ने भन्ने थियो । नेपाल रिलिज अलिकति ढिला भएको हो । तर मेकरलाई हतारो भइराख्या छ । यति गते सुटिङ गर्ने, यति गते रिलिज गर्ने । यो टाइपको कुरा भएको छ ।

म पहुँचमा भएको हिसाबले सबैलाई अनुरोध गरेको छु । त्यही हिसाबले अहिले सुटिङ नगरेको हो । कतिपयको स्क्रिप्ट लक भएको छैन, तर उनीहरुलाई सुटिङमा जान हतारो थियो । स्क्रिप्ट लक नभएकाले सुटिङमा जाऊँ भनेको छैन ।

तपाईंका सबै फिल्म उस्तै हुन थालेका छन् भन्ने दर्शकको गुनासो आउन थालेको छ । यो मनोविज्ञानबारे तपाईं कति सचेत हुनुहुन्छ ?

कथा र मैले गरेका पात्र पनि एउटै नभनौं । पात्रको संरचना नभएको केही फिल्म भए होलान् । ती चीजलाई स्वीकार्छु म । ‘आर्क’ नै नभइसकेपछि सबै फिल्म एउटै हो कि भन्ने देखिन सक्छ । यसले मलाई प्लस भइराख्या छ । तर यहाँ आर्थिक हिसाबले प्लसको कुरा गरेको होइन । कमसेकम मैले एउटा समाज र पात्र बुझ्ने त मौका पाएको छु नि । मैले त्यहाँ पढ्ने मौका पाइराखेको छु । बुझ्ने मौका पाएको छु । मैले त्यो ज्ञान पाउनुपनि राम्रै कुरा हो ।

यसले दर्शकलाई मार पर्नु भन्ने कुरा मेरो तर्फबाट अलिकति अप्ठ्यारो पर्‍यो होला । म स्वीकार्छु । यो मेरो हातको मात्र कुरा भएन । यस वर्ष गर्नुपर्ने फिल्म भनेको डेढ-दुई वर्षअघि गरेको एग्रिमेन्ट हो । नत्र फिल्म अड्किराख्या छ । अब रिलिज हुन गाउँ आएको बाटोपछि घरज्वाइँ, एन्जिला, राजागञ्ज र भूठान छन् । सुटिङ नभएका फिल्म टन्नै छन् । यसले गर्दा दर्शकलाई अप्ठ्यारो त परेकै हो ।

यो कुराले त राम्रा र स्तरीय क्राफ्टलाई अप्ठ्यारो पर्ने जोखिम पनि देखियो नि त ।

केहीबेला राम्रा चीज पनि त्यहींभित्र हराएर जान्छन् । राम्रा चीज एकपटक मात्र चम्किंदैन, वर्षौंवर्षसम्म चम्किरहन्छ । तत्कालीन अवस्थालाई मात्र नहेरेर यसलाई भविष्यसम्मलाई हेर्न सकिन्छ ।

अभिनेताको रुपमा आफू कसरी अघि बढ्ने भन्ने तपाईंको पनि त आफ्नो योजना होला नि ?

जसरी हामीले लोकल मार्केटलाई बुझ्ने कोसिस गर्‍यौं । घरेलु बजारलाई एक हिसाबले व्यावसायिक हिसाबले तताउने कोसिस गर्‍यौं । त्यहाँनेर मेरो पनि जोड थियो, त्यो भयो । डायस्पोरा बजार पनि खोलौं भन्ने कुरा थियो, त्यो पनि भयो । त्यो चीजको पनि माहोल त बनिराख्या छ । डायस्पोरामा नेपाली फिल्मको माहोल गज्जबै छ । तर ग्लोबल मार्केटमा काम गरिरहँदा अहिलेसम्म चारवटा फिल्म मात्र पुगिराख्या रहेछ । ५०–६० वटा फिल्म गर्दा चारवटा मात्रै । यो निकै थोरै हो ।

विश्व बजारमा हाम्रो बजार विस्तार गरौं भन्ने मेरो सोच हो । यो सोचलाई परिपक्व बनाएर लैजान सकेको छैन । कलाकारको रुपमा म सहभागी हुने कोसिस गरिराख्या छु । मेकर आउँदा उनीहरुलाई यसरी गर्न सकिन्छ भनेर हौसला मात्रै दिने काम गरिराख्या छु । साँघुरो, हाइवे, ह्वाइट सन्, गाउँ आएको बाटोपछि आउने वर्ष राजागञ्ज, भूठान भयो । केही न केहीमा सहभागी छु । त्यसरी काम गर्ने सोच भएका साथीसँग आफूले पनि सकेको जति सहकार्य गर्ने कोसिस हो । अब विश्व बजार लक्षित फिल्ममा काम गर्नेतिर फोकस हुन्छु ।

तपाईंको करिअरमा ‘गाउँ आएको बाटो’ले के अर्थ राख्छ ?

मैले आजसम्म गरिरहेको फिल्म र नामै लिनुपर्ने फिल्मको सूचीमा यो छुट्दैन । कारण, यो मेरो नाम र काम जोडिएर अन्तर्राष्ट्रिय तहमा पुगेको नेपाली फिल्म हो । आफूले कसरी काम गर्न सक्दो रहेछु, आफूले आफूलाई पढ्ने मौका पाएको फिल्म पनि यो हो । यसमा मैले काम गर्नुअघि कसरी काम गरिराख्या रहेछु र अब कसरी काम गर्ने भन्ने मौका पनि हो । आफूले आफूलाई चिन्ने मौका पाएको फिल्म पनि यो हो । निर्देशक जसले हाम्रो फिल्म यस्तो हुनुपर्छ, यस्तो होइन भनेर भनिरहनुहुन्थ्यो, उहाँसँगै काम गर्ने मौका पाएको छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?