+
+
कांग्रेसको चुनावी अभियान :

एमसीसीबारे जनतामा रहेको भ्रम चिर्छौं : महामन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते ९:०५

२९ फागुन, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियानमा होमिएको छ । ३० वैशाख २०७९ का लागि तोकिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले आज आइतबारदेखि एक महिनासम्म अभियान चलाउनेछ ।

देशभरका वडा तहसम्म हुने अभियानका लागि केन्द्रीय प्रतिनिधिहरू जिल्ला-जिल्ला पुगिसकेका छन् । अभियानका क्रममा चुनावी माहोल बनाउनुका साथै जनताका कुरा पनि सुन्ने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा बताउँछन् ।

प्रस्तुत छ, महामन्त्री शर्मासँग अनलाइनखबरकर्मी लिलु डुम्रेले गरेको कुराकानीको सम्पादित अंश :

‘चुनाव आयो, कांग्रेसले बल्ल जनता सम्झ्यो’ भन्ने टिप्पणी हुन थालेको छ नि ?

कांग्रेस जनताकै बीचमा थियो । कोरोना कालमा सरकारलाई आर्थिक सहयोग बुझाउन कांग्रेस गयो, जनताकै बीचमा भएर नै पैसा बुझाउन गएको हो । देशभर प्रतिनिधि पठाएर सचेतनाको कार्य गर्दा कांग्रेस जनताकै बीचमा थियो । संसद विघटन विरुद्ध दबाव सिर्जना गर्न गाउँ-गाउँमा प्रदर्शन गर्दा जनताकै बीचमा थियौं । त्यसकारण जनताका बीचमा जाँदा किन/कुन बेला भन्ने हुँदैन । जनताको घर-घर जाऔं भनी दिनहुँ त गइएको हुँदैन । जनतालाई समस्या पर्दा, सेवा गर्न वा आफ्ना विषय राख्न त कांग्रेस जनताकहाँ गइरहेको हुन्छ ।

चुनाव घोषणा भएको, उम्मेदवार तय भइनसकेको समयको यो अभियान केका लागि त ?

अभियानको मुख्य उद्देश्य चुनावी माहोल बनाउने हो । मतदातालाई मत दिन पाउने आफ्नो अधिकारको उपयोग गर्नुस् भन्छौं । भोट हाल्ने अधिकार सुनाइसकेपछि कांग्रेसलाई मत दिन अपील गर्छौं ।

चुनावमा पनि हामी निर्वाचन आचारसंहिताभित्र रहेर मर्यादित तरिकाले प्रतिस्पर्धा गर्छौं । जसरी पनि चुनाव जित्ने भनेर कांग्रेसले अभिव्यक्ति दिंदैन । स्वस्थ प्रतिस्पर्धा गर्न पार्टी पङ्तिलाई भन्छौं, अरूलाई पनि त्यही अपील गर्छौं । यही अभियानका लागि पठाइने केन्द्रीय प्रतिनिधिहरूले केके गर्ने भन्नेबारे छलफल गर्न बोलाइएको बैठकमै हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाले भन्नुभएको छ, ‘गठबन्धनका सहयात्रीको मित्रवत् सम्बन्ध त छँदैछ, विपक्षी दललाई पनि गाली नगर्नुस् । आलोचना गर्नु, कमी-कमजोरीमा प्रहार गर्नु स्वाभाविक छ । तर गाली गर्ने काम चाहिं गर्दै नगर्नुस् ।’

कांग्रेसको सभापति प्रधानमन्त्री हुँदा मित्रवत् व्यवहार गर भन्नुहुन्छ । कुनै बेला देशको प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्थ्यो । उहाँले विपक्षीमाथि अरिंगाल भएर जाइलाग भन्नुहुन्थ्यो । कांग्रेस र एमालेमा यही फरक छ । हामी जिम्मेवार ढंगले प्रस्तुत हुन्छौं, मतदानमा सहभागी हुन जनतालाई अपील गर्छौं, उहाँहरूको कुरा सुन्छौं र त्यसअनुसार घोषणापत्र बनाएर फेरि जनतामै जान्छौं ।

केन्द्रीय प्रतिनिधिका रूपमा केन्द्रीय सदस्यहरू त खटाइएको छ तर त्यो सूचीमा शीर्ष तहका नेताहरू खटाइएको छैन । उहाँहरूलाई अभियानमा जिल्ला नपठाउनुको कारण ?

अभियानका क्रममा भिन्नभिन्न जिल्लामा शीर्ष तहका नेताहरू पनि जानुहुन्छ, पदाधिकारीहरू पनि जान्छौं ।

तर ७/१० दिन जिल्लामै बस्ने गरी पदाधिकारीहरूलाई किन पठाइएन भने भ्रातृ संस्थाहरू गठन गर्नुपर्नेछ । यसका लागि पदाधिकारी र कार्यसम्पादन समिति लाग्नुपर्छ । संसद चलिरहेकाले सांसदहरूलाई पनि प्रतिनिधिका रूपमा खटाएनौं । स्थानीय तहका प्रमुखहरू पनि पार्टीको केन्द्रीय कार्यसमितिमा हुनुहुन्छ । उहाँहरूलाई पनि खटाएका छैनौंं, किनकि आफ्नै क्षेत्रमा खटिनुपर्छ ।

भ्रातृ संगठनका सबै कमिटीहरू भंग गर्ने, अनि अभियान चलाउने अलि नमिल्दो भएन र ?

भ्रातृ र शुभेच्छुक संस्थाको हकमा के गर्ने भन्ने योजना छ । केही भ्रातृ संस्थाहरूको केन्द्रीय कार्यसमिति रिक्त छ, ती भ्रातृ संस्थाअन्तर्गतका साथीहरू कांग्रेसका विभिन्न संरचनाको समन्वयमा परिचालित हुने निर्णय गरेका छौं । नेविसंघको कुनै कार्यकर्तालाई आफ्नो कार्यसमिति छैन भन्ने नपरोस् भनी पार्टी सजग भएर नै यो निर्णय गरिएको हो । गठन हुन बाँकी भ्रातृ संस्थाहरू छिट्टै टुंग्याउँछौं । भ्रातृ संस्थामा आबद्धलाई परिचालित हुन समस्या हुने छैन ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे भ्रम चिर्ने पनि भनिएको छ, यो भनेको के हो ?

एमसीसी सम्झौता अनुमोदन र त्यसको कार्यान्वयन यसकारण जरूरी थियो भनेर हामी भन्छौं । मान्छे निर्यात गरेर आएको रेमिट्यान्सले ढुकुटी बढाउने या नेपालले बिजुली उत्पादन गरेर ढुकुटी बढाउने ? बिजुलीको व्यापार गर्नुपर्छ भन्नेमा सबै राजनीतिक दल सहमत भएका हुन् । र, एक दशकसम्म जो-जो प्रधानमन्त्री भए, सबैको पालामा प्रक्रिया अघि बढेर यहाँसम्म आएको हो ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन भए अमेरिकी सेना आउँछ भन्नेहरू थिए । संसदबाट अनुमोदन भएको पनि १५ दिन हुन लाग्यो । अमेरिकी सेना आएको त छैन । एमसीसी सम्झौता लागू भएका देशमा अमेरिकी सेना गएको त छैन । यही कुरा जनतालाई बुझाउने हो, भ्रम चिर्नु पनि कांग्रेसको दायित्व हो ।

कांग्रेसले समयमै आफ्ना कार्यकर्तालाई मात्र बुझाउन सकेको भए अरूले ‘भ्रम’ छर्दा प्रतिवाद गर्थे होलान् । आफ्ना कार्यकर्तालाई पनि बुझाउन सक्नुभएको छैन नि !

संगठित रूपमा बोल्न अलि ढिलो भएकै हो, यसलाई म स्वीकार्छु । पार्टी प्रवक्ता हुँदा मैले २०७७ को जेठमा एमसीसी स्वीकार्नुपर्छ । यो परियोजना विद्युत्को प्रसारण लाइन र सडक स्तरोन्नतिसँग सम्बन्धित छ भनेको थिएँ ।

नेपालभित्रको सडकको स्तरोन्नति भएकाले त्यसमा भारतको सन्दर्भ आउँदैन । प्रसारण लाइन भारतसँग जोड्नुपर्ने भएकाले त्यो देशसँगको सहमति बाध्यात्मक छ भनेको थिएँ । अमेरिकी सेना आउने कुरा भ्रम हो भनी त्यही समयमा बोलेको थिएँ । तर संगठित रूपमा कांग्रेसले जति प्रतिवाद गर्नुपर्ने थियो, त्यसो नगर्नु कमजोरी भएकै हो । सत्यको मुख बन्द गर्‍यो भने मिथ्याको थुतुनो खुल्छ भन्छन् । सत्यको मुख बन्द हुँदा मिथ्या फैलिएकै हो ।

जनतामाझ जाँदा केपी ओली नेतृत्वको सरकारको आलोचना गर्न विषय छन् । तर आफ्नो सरकार बनेपछि यो-यो गर्‍यौं भन्ने त केही छैन भन्छन् नि ?

विल्कुलै गलत हो । सरकारको आवधिक समीक्षा गर्दा बाटो, बिजुली, रोजगारीलगायतलाई लिएर गरिन्छ । यो दुई वर्षका सरकारको मूल्यांकन गर्दा त्यसरी गरिनुहुन्न । महामारीको समयमा जनताको जीवन रक्षालाई केन्द्रमा राखेर त्यो सरकारले कार्य गर्‍यो कि गरेन भनेर मूल्यांकन हुनुपर्छ । अमेरिकी जनताले डोनाल्ड ट्रम्पलाई किन विदाइ गरे ? कोरोनाको समयमा गम्भीरता नदेखाउँदा धेरै जनाको ज्यान गएको त्यहाँका नागरिकले समीक्षा गरे, ट्रम्पलाई हटाए ।

कमरेड केपी ओलीको सरकार भएको बेला मान्छेले ज्यान गुमाउँदै गर्दा उहाँकै एक मन्त्रीले कोरोना आउँदैन भनिदिनुभयो । बेसारपानी खाउ भन्दाभन्दै दुई हजार मानिसको ज्यान गयो । दुई हजार मानिसको ज्यान गएपछि त्यसले नहुनेरहेछ भनी नयाँ विधि पत्ता लगाउनुभयो, अम्बाको पात उमालेर खाने । अम्बाको पात उमालेर खाउ भनेपछि अर्को तीन हजारको ज्यान गयो ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवा आउँदा दश हजार नागरिकको ज्यान गइसकेको थियो । देउवाजीले ‘खोप, खोप, खोप’ भन्नुभयो । सुरुमा जनताले के भनेको भनी बुझेनन् पनि । जब खोप लगाउन पाए, शेरबहादुर देउवाले त खोप भन्नुभएको रहेछ भन्ने बुझे । यो सरकारले जनताको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्यो । मागेर मात्रै खोप ल्याउने होइन, किनेर पनि जनताको जीवन बचाउने पक्षमा सरकार गयो । अहिलेसम्म ७० प्रतिशत नागरिकले खोप लगाइसकेका छन् । बाँकीलाई पनि खोप दिन सरकार तल्लीन छ ।

यो सरकार विशिष्ट परिस्थितिमा बनेको हो । बाटो, बिजुली, रोजगारी, पुल, तटबन्धमा खोजिनुहुँदैन । महामारीको बेला जनताको जीवन रक्षालाई प्रधान बनायो कि बनाएन भन्ने मूल्यांकन गर्नुपर्छ । यो सरकार तीन काममा सफल भएको छ । पहिलो- संविधान ट्रयाकमा ल्याउन, दोस्रो- खोपलाई व्यापकता प्रदान गर्न र तेस्रो- अमेरिकी अनुदान सहयोग एमसीसीमा सबै पक्षलाई एकठाउँ ल्याएर पारित गर्न । यही कुरा अभियानका क्रममा हामी जनतालाई भन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?