
३० फागुन, काठमाडौं । ओटीटी प्लेटफर्म सञ्चालन गर्न एक करोड शुल्क तिरेर अनुमति लिनुपर्ने सरकारी व्यवस्थाप्रति अभिनेता खगेन्द्र लामिछानेले आपत्ति जनाएका छन् । उनी नेपालको चल्तीको फिल्मी एप ‘सिनेमाघर’का सञ्चालक पनि हुन् ।
नेपालमा सञ्चालन हुने विदेशी ओटीटीको हकमा त्यो प्रावधान उचित हुने भएपनि नेपाली ओटीटीलाई नै त्यस्तो सर्त तेस्र्याउनुलाई उनले गलत भएको बताएका छन् ।
फेसबुकमा उनले लेखेका छन्, ‘नेपाल सरकारलाई सोझो प्रश्न- नेपालबाट डलर सोहोरेर विदेश लैजाने विदेशी एपलाई एक करोड धरौटी राख्न लगाउने कुरा नाजायज छैन । तर स्वदेशमै बनाएर सञ्चालन भइरहेका सिनेमाघर लगायतका एप, जसले विदेशबाट आफ्नो देशमा डलर ल्याउने सपना देखेका छन्, तिनीहरुले कति धरौटी राख्नुपर्ने हो ? कृपया प्रष्ट पारिदिनु भए आभारी हुन्थ्यौं ।’
सरकारले फागुन २२ गते राष्ट्रिय प्रसारण नियमावली २०५२ लाई ११ औं संशोधन गर्दै ओभर दी टप (ओटीटी), भीओडी र अनलाइन टेलिभिजन सेवा दिने कम्पनीले नेपालभित्रै क्यास सर्भर राखेर सञ्चालनको व्यवस्था गरेको थियो ।
उक्त संशोधनसँगै नेटफ्लिक्स, अमेजन प्राइम, युट्युब, डिज्नी प्लस हटस्टार, सोनी लिभ, जी फाइभजस्ता प्लेटफर्मले पनि नेपालमा सेवा लिन अनुमति लिनुपर्नेछ ।
प्रतिक्रिया 4