४ चैत, चितवन । चितवनको माडी नगरपालिका–४ खैरहनीका माधव लामिछानेको घर, गोठ र कुखुरा फर्ममा आगलागी भएको छ । आगलागीबाट दुईवटा कुखुरा फार्म, एउटा धन्सार, दुई वटा परालको टौवा पूर्ण रुपमा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ४ः३० बजेको समयमा आगलागी भएको हो । आगलागीबाट ६० लाखभन्दा बढीको धनमाल क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
घरधनी लामिछानेका अनुसार आगलागीमा धन्सारमा रहेको ७० क्विन्टल धान, पाँच क्विन्टल तोरी, दुई क्विन्टल गहुँ, ३५ क्विन्टल कुखुराको दाना नष्ट भएको छ । यसैगरी एउटा फ्रिज, टेलिभिजन, डिजिटल मेसिन, तीन वटा सोलार प्यानल, तीन वटा ब्याट्री, एउटा इन्भर्टर पनि नष्ट भएका छन् । यस्तै ग्रिज, मोबिल, गियर आयल, हाइड्रोलिक पाइप, ड्रम अन्य भाडा वर्तन समेत नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागी के कारणले भएको हो भन्ने खुल्न सकेको छैन । स्थानीय, नेपाल प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
दमकल समयमा नआएको गुनासो
घर धनी लामिछानेले नगरपालिकाको दमकल समयमा नआएको, ढिलो गरी आउँदा समेत दमकलमा पानी अत्यन्त न्यून रहेका कारण आगलागी समयमा नियन्त्रणमा लिन नसकिएको दुखेसो गरे ।
‘दमकल आउनै ढिलो भयो, आउँदा पनि निकै थोरै पानी थियो,’ उनले भने, ‘पर्याप्त पानी सहित समयमा दमकल आएको भए क्षति कम हुन सक्थ्यो ।’
प्रतिक्रिया 4