
टोकियोमा सधैं हिउँ पर्दैन तर यो वर्ष फेब्रुअरी महिनामा पनि हिउँ पर्यो । टोकियोको तोशिमा कुमा पर्ने रामहरिको रेस्टुरेन्टमा म बिहानै पुग्दा उनी रेस्टुरेन्ट अगाडि जम्मा भएको हिउँ सफा गर्दै थिए । मलार्ई देख्नेबित्तिकै उनले आफ्नो बागलुङे लवजमा भने, ‘‘यो हिउँ पर्दा त रमाइलो, परिसकेपछि भने सारै गाह्रो हुनेरहेछ है । एकछिन भित्र बस्दै गर्नुस् है ।’’
म बिहान ८ बजे उनीसँग कुरा गर्न उनको काम गर्ने रेस्टुरेन्ट पुगेको थिएँ । रेस्टुरेन्ट खोल्ने समय पनि बिहान ११ बजेबाट थियो । त्यसअघि उनी एक्लै रेस्टुरेन्ट खोल्ने विभिन्न तयारी गर्ने गर्थे । संयोग नै मान्नुपर्छ, रेस्टुरेन्टभित्र छिर्दा टिभीमा गायक सूर्य खड्काको गीत बजिरहेको थियो । गायक खड्का जापानमा रहेर कला क्षेत्रमा सक्रिय व्यक्ति हुन् ।
सूर्य खड्का पनि जापानमा रेस्टुरेन्ट व्यवसाय गर्छन् । खाली समयमा उनी गायन क्षेत्रमा सक्रिय छन् । विशेषगरी लोकगीत गाउने सूर्यका गीतहरूमा प्रदेशीको कथा–व्यथा बढी पाइन्छ । अत्यन्त सुरिलो स्वर भएका सूर्य यहाँ रुचाइएका नेपाली गायकमध्ये पर्दछन् । रामहरि बाहिर सरसफाइमा व्यस्त भए । म त्यही गीत सुन्न थालें ।
‘‘आकी रहिछौ टोकियो सहरमा
वर्षौं बिते भेट्ने रहरमा…’’
रामहरि अहिले ४४ वर्षका भए । ३४ वर्षको उमेरमा जापानमा कुकको रूपमा भित्रिएका थिए उनी । अहिले उनी आफ्ना एक छोरा र छोरीको साथमा बस्छन् । श्रीमती भने कहिलेकाहीं मात्रै जापान आउने गर्छिन् । श्रीमती जापान हुँदा सधैं बिरामी हुने गरेकाले जापानमा बस्न रुचाउँदिनन् । आफ्नै गाउँमा गाईभैंसी पालेर बस्न मन पर्छ रे । त्यसैले उनी नेपालमै छिन् ।

रामहरिले श्रीमतीलार्ई यहाँ ल्याएर राख्ने प्रयास नगरेका होइनन्, तर जापानमा हुनेबित्तिकै उनको स्वास्थ्यस्थिति बिग्रिने गरेको छ । जापानका धेरै अस्पतालमा उपचार गर्ने प्रयास पनि गरे तर डाक्टरका अनुसार उनको शरीरमा कुनै शारीरिक समस्या छैन । उनलार्ई कुनै प्रकारको मनोवैज्ञानिक समस्या हुनसक्छ तसर्थ आफ्नै भाषामा अस्पताल देखाउन राम्रो हुने हो कि भनेर सुझाव पनि दिएछन् । त्यसपछि रामहरिले सधैं अस्वस्थ श्रीमती हेर्नुभन्दा नेपालमा बस्न दिनु नै राम्रो हुने हो कि भनेर जापान आउन कर गर्न छाडे ।
उनका १८ वर्षका छोरा र १६ वर्षकी छोरी जापानमा उनीसँगै बस्छन् । छोराछोरीको मायाले आमा कहिलेकाहीं जापान आएर फर्किने गरेकी छिन् ।
मैले रामहरिकी श्रीमती जस्ता अरू पनि केही व्यक्तिहरू भेटेको छु । जापानको रहनसहन, यहाँको जीवनशैलीसँग सबैजना समाहित हुनसक्छन् भन्ने हुँदैन । यहाँको सांस्कृतिक पक्ष, भाषा र काम गर्ने शैलीमा आफूलार्ई ढाल्न नसक्दा एक प्रकारको मनोवैज्ञानिक समस्यामा पर्ने गरेका धेरै व्यक्ति छन् । मलार्ई रामहरिकी श्रीमतीको कुरा सुन्दा त्यस्तै महसुस भयो ।
रामहरिको भाषामा जापान श्रीमतीका लागि शुभ छैन । उनका अनुसार प्रत्येक व्यक्तिमा शुभ र अशुभ भन्ने हुन्छ रे । उनको कुरालार्ई मैले मेरो विषयसित जोड्ने प्रयास गरें । हामी मनोविज्ञानमा वास्तवमा यसलार्ई मानसिक लचकता भन्छौं । व्यक्तिमा उसको भाषा, संस्कृति, समाज, धर्म जस्ता यावत् कुराले मानसिक लचकताको विकास हुन्छ । मानसिक लचकताले उसलार्ई असहज परिस्थितिमा पनि सहज बनाउन सहयोग गर्छ । तर कतिपय व्यक्तिका लागि वास्तवमा नयाँ ठाउँ, नयाँ परिवेशमा समाहित हुने कुरा अत्यन्त जटिल रहन्छ । सायद उनीहरूमा त्यो मानसिक लचकता अनुकूल हँुदैन । रामहरिकी श्रीमतीलार्ई पनि त्यस्तै भएको हुनुपर्छ । उनी नेपालमा रहँदा पूर्णरूपमा स्वस्थ हुन्छिन् रे । सायद उनलार्ई पनि जापानमा रहँदा यस्तै केही उकुसमुकुस भएको हुनुपर्छ । आखिर नेपालको वनपाखामा रमाउने मन यो कङ्क्रिटको जङ्गलमा रमाउन गाह्रो पो हुन्छ ।
केही समय हिउँ सफा गरिसकेपछि उनी पसलभित्र पसे । लगभग १५ जना अट्ने उक्त रेस्टुरेन्टमा उनी विगत चार वर्षदेखि कार्यरत छन् । खासै व्यापार राम्रो नभएकोले पनि होला लगभग लन्चको समयबाहेक उनी एक्लैले रेस्टुरेन्ट गर्दै आएका छन् । जापान आएको १० वर्ष भएकोले पनि उनलार्ई भाषामा ठूलो समस्या छैन । प्रत्येक हप्ता एक दिन बिदा बस्न सोमबार बन्द गर्ने गरेको उनले बताए ।
उनी भित्र पसेर तन्दूरमा कोइला राखेर बाले । तन्दूरको भित्री भित्तामा टाँसिएर नान पकाउने हुँदा ग्राहक आउनुपूर्व नै तन्दूर तताउने गर्नुपर्ने रहेछ । साँघुरा, बाहिरी प्रकाश राम्ररी नछिर्ने र हावाको पास पनि नहुने किचेन मैले देखेका जापानका इन्डियन नेपाली रेस्टुरेन्टका विशेषता हुन् । यो किचेन पनि अत्यन्तै साँघुरो थियो ।
किचेनमा दुईमुखे स्टोभ थियो अनि कुनामा तन्दूर राखिएको थियो । एकछिनमा तन्दूरको कोइला बल्न थाल्यो । उनी त्यसलार्ई घरी छोपेर घरी कोइला चलाएर तन्दूरको राप मिलाउन थाले । यो किचेन जनस्वास्थ्यको हिसाबले त खत्तम नै थियो । मैले त्यो कुरा गरूँ कि भन्ने सोचें तर उनको व्यस्ततालाई अल्मल्याउने काम हुन्छ जस्तो लाग्यो । उनले गरेको मैले एकतमासले हेरिरहें ।
‘‘अनि सरको तलब कति छ त ?’’
मेरो प्रश्नमा उनी फिस्स हाँसे । मैले दोहोर्याएर पुनः प्रश्न सोधिनँ । उनी एकोहोरो काम गरिरहे । मैले आज दिनभरि उनीसँग बिताउने गरी समय मिलाएको थिएँ । विशेषगरी जापानमा रहेका नेपालीको कुकको एकदिन कसरी बित्ने गर्छ भन्ने प्रसङ्गमा मैले उनलार्ई भेट्न चाहेको थिएँ । सुरुमा मेरो आग्रहमा उनी आनाकानी गर्दै थिए । तर पछि माने ।
उनको काममा कुनै अवरोध नगरिकन आज दिनभरि मैले उनैसँग बिताउनुपर्नेछ । तसर्थ धेरै प्रश्न सोध्नु मैले निको मानिनँ । मैले जापानमा भेटेका कुकहरूको सरदर कमाइ ७० हजारदेखि एक लाख तीस हजारसम्म देखेको छु । राम्रो कम्पनीमा काम गर्नेहरूले साढे २ लाखसम्म कमाएको पनि नदेखिएको होइन । तर राम्रो तलबमा काम गर्ने कुकको सङ्ख्या वास्तवमै कम छ । सायद उनले करी तताउन थालेकोले होला, एकछिनमै रेस्टुरेन्ट मसलाको सुगन्धले सुगन्धित भयो ।
‘‘काम सुरु गर्दा एक लाख दिएका थिए । अहिले एक्लैले गर्न थालेपछि एक लाख ३० हजारसम्म दिएका छन्’’, उनले मौनता तोडे ।
‘‘अनि तलबबाट खुसी हुनुहुन्छ त ?’’
‘‘तलबबाट खुसी हुने त को होला र सर ?’’ उनले त उल्टै प्रश्न पो सोधिदिए । त्यसपछि मौन हुने पालो मेरो आयो । तलब र खुसी त फरक कुरा पो हुन् । टेलिभिजनमा गीत परिवर्तन भइसकेको थियोः
‘‘बाग्लुङ बजार टाउका मायालु
जीवन काट्ने तिम्ले र मैले हो
छोड्देऊ कुरा गाउँका मायालु !’’
कुराकानीकै क्रममा उनले टेबुल सफा गर्ने, मेनु मिलाएर राख्ने, रेस्टुरेन्टको भुइँ सफा गर्ने कामसम्म सके । जापान आउनुपूर्व उनले भारतमा काम गरेका रहेछन् । भारतमा पनि कुककै काम भए पनि ठूल्ठूला पार्टी र क्याटरिङहरूमा काम गर्ने रहेछन् ।
आफन्तले जापान बोलाएपछि उनी जापान आएका रहेछन् । जापानमा उनलार्ई राम्रो लागेको चाहिं छोराछोरी सँगै छन् भन्ने कुरा रहेछ । भारतमा काम गर्ने समयमा परिवारसँग अलग्गै बस्नुपर्ने अवस्थाका कारण उनी धेरै चिन्तित बनेका रहेछन् । जापानमा कुकहरूलार्ई परिवारसँगै बस्न पाउने व्यवस्थाप्रति उनी अत्यन्त कृतज्ञ देखिए । उनको छोराले यहींबाट उच्च माध्यमिक विद्यालयको अध्ययन सकेर केही समय एउटा टेक्निकल स्कुलमा भर्ना भएपछि पढाइ छाडेका रहेछन् । अहिले अधिकांश समय काम गर्ने गर्दैछन् ।
‘केटाकेटीलार्ई पैसा कमाउने लत परेपछि पढाइ भनेको त्यस्तै हुनेरहेछ सर’, छोराले बीचमै पढाइ छोडेकोमा उनी खुसी रहेनछन् ।
कुकको कमाइ कम भएकोले ‘तँ पढ्’ मात्र भन्न पनि नसक्ने रहेछन् । कुकले एक जनाले मात्रै काम गरेर परिवार नै पाल्न त गाह्रो पो छ । छोरी अहिले यहाँको रात्रिकालीन स्कुलमा पढ्ने गर्छिन् । आफ्नो खर्च आफैंले व्यवस्था गर्न केही समय काम पनि गर्ने रहिछिन् । उनलार्ई छोरीले पढाइ राम्रो गर्छिन् कि भन्ने आशा रहेछ । अहिले यही पसल नजिकै दुईवटा कोठा लिएर उनको तीन जनाको परिवार बस्दै गरेका रहेछन् ।
हाम्रो कुराकानी चलिरहेको थियो । त्योसँगै उनको हात पनि चलिरहेको थियो । दिउँसोको ११ बजेतिर उनका साथी पनि आइपुगे । दिउँसोको समयमा केही समय अत्यन्त व्यस्त हुने हुँदा उनी दिनको समयमा ११ बजेदेखि दुई बजेसम्म सहयोग गर्न आउने रहेछन् । त्यसपछिको समय भने त्यही रेस्टुरेन्ट साहुको अर्को रेस्टुरेन्टमा काम गर्ने रहेछन् ।
११ बजेबाट रेस्टुरेन्ट सुरु भयो । बिस्तारै ग्राहकहरू भरिए । उनको साथी किचनभित्र काम गर्ने रहेछ । रामहरि भने बाहिर–भित्र दुवै भ्याउने गरी काम गरिरहेका थिए । १२ बजे अफिस समय भएर पनि होला, एकैछिनमा रेस्टुरेन्ट भरियो । त्यहाँ बसेर ठाउँ ओगट्नुभन्दा बाहिर निस्कनु ठीक लागेर म पनि एकछिन निस्किएँ ।
२०२१ सम्ममा यस प्रान्तको अनुमानित जनसङ्ख्या एक करोड ४० लाख छ । अझ टोकियोसँग जोडिएका अन्य ६ नगर क्षेत्र छोडेर यसलार्ई बृहत् कान्तो क्षेत्र भन्ने गरिन्छ । जुन विश्वकै सबैभन्दा बढी जनसङ्ख्या भएको महानगरीय क्षेत्र हो । जहाँ झन्डै ३ करोड ७५ लाख मान्छे बस्ने गर्छन् ।
यसबाहेक पनि काम गर्नका लागि दिउँसो मात्र आसपासको क्षेत्रबाट टोकियो आउनेको सङ्ख्या पनि उल्लेखनीय रहेको छ । प्रतिघण्टा ३२० किलोमिटर गुड्ने शिन्कान्सेन ट्रेन (बुलेट ट्रेन) ले टोकियोलाई सजिलै अन्य सहरसित जोडेको छ । यही ट्रेन चढेर प्रत्येक दिन कोसौं दूरबाट टोकियो काम गर्न आउने मिहिनेती जापानीको सङ्ख्या पनि उल्लेखनीय छ । त्यसैले पनि यो सहर विश्वकै जनघनत्व बढी भएको सहरमा पर्छ ।
यो व्यस्त सहर २४ घण्टा नै जागेको हुन्छ । यो व्यस्तताको बीच दिउँसो १२ बजे यहाँका अधिकांश अफिसमा लन्चको समय हुन्छ । सो समयमा यहाँका अधिकांश रेस्टुरेन्टमा भीडभाड हुने गर्छ । रामहरिको रेस्टुरेन्टमा पनि १२ बजेदेखि एक बजेसम्मको बीचमा लगभग २०–२५ जना ग्राहकले खाने रहेछन् । म एक बजे पुनः फर्किंदा अझै केही ग्राहक बाँकी थिए । दुई बजेतिर भने रेस्टुरेन्टमा एकजना मात्रै जापानी बाँकी रहे । उनी रामहरिकै साथी रहेछन्, कुराकानीले मलार्ई त्यस्तै लाग्यो । ती जापानीले नेपालीमै मलार्ई अभिवादन गरे ।
एकछिन किचेनमा काम गर्ने साथी र ती जापानी साथी बाहिर निस्किए । त्यसपछि पो मैले थाहा पाएँ– जापानी साथी त धर्म प्रचारक परेछन् !
जापानमा विशेषगरी आप्रवासी लक्षित गरेर धर्म प्रचार गर्ने विभिन्न धार्मिक समूह सक्रिय छन् । नेपाली लक्षित गरेर धर्म प्रचार गर्ने कतिपय प्रचारकहरूले नेपाली भाषा बोलेर धर्म प्रचार गर्ने पनि गर्छन् । धर्म प्रचारकै लागि उनीहरूले गरेको मिहिनेत हेर्दा अचम्म लाग्छ । रामहरिको पनि यस्ता केही धर्म प्रचारकहरूसँग सङ्गत रहेछ । अहिले भने उनको रेस्टुरेन्टमा आएका ती जापानिज धर्म प्रचारक नाम्योहोरेंन भन्ने संस्थामा आबद्ध रहेछन् । आज रामहरिका साथी त्यही संस्थामा प्रार्थना गर्न सँगै जाने कार्यक्रम रहेछ ।
यसरी विभिन्न धर्मका धर्मप्रचारक उनको रेस्टुरेन्टमा आए पनि उनले आपूmले भने भित्तामा कृष्ण भगवानको तस्वीर टाँसेका थिए । मैले जिस्क्याउँदै भनें, ‘तपाईं त कृष्ण भगवानको फ्यान जस्तो लाग्यो नि ?’
‘सर, म फ्यान त कृष्ण भगवानको भए पनि जीवनचाहिं राम भगवानसित मिल्छ है ! यो वनबास १२ वर्षभन्दा लामो नै जान्छ होला ।’
हामी दुवै हाँस्यौं । तर हाँसो साह्रै खुसीको थिएन । विदेशी भूमिमा रहनुको पीडा कुनै शब्दले व्यक्त गर्न सकिंदैन । स्वदेश सम्झिंदा मात्रै पनि मन अर्कै हुन्छ । साँच्ची नै यो विशाल सहर कहिलेकाहीं हामी विदेशीका लागि त वनबासजस्तै पो हुन्छ । न आमा–बा, न चाडपर्व, न भाषा, न भेष ! कहालीलाग्दो वनबास जस्तै ।
वास्तवमा यसरी धार्मिक संस्थाका प्रचारकहरूको सङ्गत गर्नुको कारण उनको अर्कै रहेछ । पहिलो कारण– रेस्टुरेन्टमा एक्लै हुँदा उनलार्ई सधैं दिक्क लाग्ने रहेछ । लन्चको समयभन्दा अरू समयमा अधिकांश पसल खाली हुँदा उनलार्ई त्यहाँ त्यस्ता धर्मप्रचारक आइरहे हुनेजस्तो लाग्ने रहेछ । उनीहरूसँग यसो मन भुलाउन पनि पाइने र जापानिज भाषाको पनि अध्ययन हुने हुँदा उनी त्यस्ता धर्म प्रचारकहरूसँग मित्रवत् व्यवहार गर्ने रहेछन् । यस्तै क्रममा केही उनका साथी पनि बनेका रहेछन् ।
अर्को कारण भनेको रेस्टुरेन्टमा आउने विभिन्न जापानी भाषाका सूचनाहरू रामहरि पढ्न नसक्ने रहेछन् । उनका ती धर्म प्रचारक साथीहरूले त्यस्ता प्रकारका सूचनाहरू उनलार्ई पढेर सुनाउने र बुझाउने रहेछन् । आफ्ना साथीहरूबाट यति फाइदा लिएबापत रामहरिले कहिलेकाहीं अरू नेपालीहरूलार्ई उनीहरूको साथ लगाएर उनीहरूले भनेको ठाउँमा प्रार्थना गर्न पठाइदिने रहेछन् । यसैक्रममा आजको पालो उनको आफ्नै साथीको रहेछ ।
सम्भवतः यसरी नयाँ मान्छेलार्ई प्रार्थनामा लैजाँदा धर्म प्रचारकहरूलार्ई पनि केही फाइदा हुँदो हो । म र रामहरि यसबारेमा अनभिज्ञ छौं । यसरी रामहरिले आपूmलार्ई कहिले नाम्योहोरेंन, कहिले क्रिश्चियन त कहिले ह्याप्पी साइन्स नाम गरेका संस्थाको सहयोगीमा रूपान्तरण गरेका रहेछन् । मैले फेरि उनले भित्तामा टाँसेको कृष्ण भगवानलाई हेरें । रमाइलो लाग्यो । साँच्चै कृष्ण भगवान यो सबै देखेर के सोच्दा हुन् ?
रामहरिको रेस्टुरेन्ट दिउँसो तीन बजेदेखि पाँच बजेसम्म बन्द हुने रहेछ । यो समयमा उनले रेस्टुरेन्टमा खाना खाने र आराम गर्ने गर्दा रहेछन् । छोराछोरी काममा नभएको बखतमा भने कहिलेकाहीं कोठामा पनि जाने रहेछन् । तर त्यस्तो मौका विरलै मिल्दो रहेछ ।
रामहरि र मैले सँगै खाना खायौं । खाना खाइसकेपछि म एकछिन सुत्छु है भनेर उनले त्यही रेस्टुरेन्टकै कुर्सीहरू जोडेर सुत्ने ठाउँ बनाए । र, आराम गर्न थाले । बिहान आठ बजेदेखि लगातार चलिरहेको उनको शरीर पक्कै पनि थाकेको हुनुपर्छ । म पनि त्यो समय त्यही रेस्टुरेन्टमै सुस्ताएँ ।
पाँच बज्नुअघि नै उठेर रामहरि एकछिन साइकल लिएर बाहिर निस्किए । एकैछिनमा फर्केर आउँदा उनी हातभरि सामानका पोका लिएर आए । रेस्टुरेन्टभित्रको किनमेल पनि उनी आफैं गर्ने रहेछन् । पाँच बजेदेखि पुनः रेस्टुरेन्ट सुरुवात भयो । सामान्य ग्राहकहरू पनि आए । धेरै व्यस्त नहुने हुँदा उनले भित्र–बाहिर आफैं गर्ने रहेछन् । केही महिनाअघिसम्म अर्को कुक पनि थियो रे । व्यापार राम्रो नभएपछि साहुजीले तपाईं आफैं हेर्नुस् भनेर सम्पूर्ण जिम्मा दिएछन् ।
‘यस्तै हो भने केही महिनामा त रेस्टुरेन्ट बन्द होला जस्तो छ’, उनले चिन्ता व्यक्त गरे । मैले टोकियोमा धेरै नेपाली रेस्टुरेन्टमा साँझपख गएर खाएको छु । वास्तवमै तुलनात्मक रूपमा अलि नचल्ने नै रहेछ । नत्र एक्लैले भ्याउने त असम्भव हुन्छ । यहाँ उनी एक्लैलाई चाहिं अलि भ्याई–नभ्याई हुने रहेछ ।
उनले मसित कुरा गर्ने मौका खोजिरहे । तर उनको व्यस्तताले गर्दा त्यो सम्भव भएन । साँझ नौ बजेपछि अलि रेस्टुरेन्ट खाली हुन थाल्यो । यस्तो नचल्ने रेस्टुरेन्ट राखिरहनुमा साहुजीहरूको केही फरक उद्देश्य रहने रहेछ । रामहरिको साहुजीको अरू ठाउँमा जापानिज रेस्टुरेन्ट (इजागाया) रहेछ । उनको प्रमुख आम्दानी भनेको तिनै इजगायाहरू रहेछन् ।
जापानिज रेस्टुरेन्ट भए पनि त्यहाँ काम गर्नेचाहिं सबै नेपाली नै हुने रहेछन् । जापानी कुक राख्नका लागि श्रम महँगो पर्ने हुँदा उनको रोजाइमा नेपाली कुक पर्नु स्वाभाविक पनि हो । तसर्थ उनीहरूले सस्तो श्रममा काम गराउन नेपाली कुक राख्ने गर्छन् ।
तर रामहरि जस्ता नेपालीको कुकलार्ई इन्डियन नेपाली रेस्टुरेन्टबाहेक अरू रेस्टुरेन्टका काम गर्न कानुनी रूपमा बन्देज छ । उनीहरूले प्राप्त गर्ने यो भिसा नै त्यस्तो प्रकारको हुन्छ । तसर्थ इजागायामा काम गर्ने नेपाली कुकको त्यहाँबाट भिसा निस्किंदैन । तसर्थ बाठा साहुहरूले त्यहाँ काम गर्ने कुकहरूको भिसा प्रयोजनका लागि पनि एउटा नेपाली–भारतीय रेस्टुरेन्ट बचाइराख्ने रहेछन् । नत्र यति सस्तो श्रम १०–१२ घण्टा काम गरिदिने कुक जापानमा कहाँ पाउनु र ?
रामहरि जस्ता हजारौं कुक यसरी सस्तोमा श्रम गर्न विवश हुने अवस्था देखेर मेरो मन कुँडियो । कानुनतः त्यसरी एक ठाउँबाट भिसा निकाली अर्को ठाउँमा काम गराउनु अपराध ठहर्ने रहेछ । त्यस्तो केही घटनामा यहाँको इमिग्रेसनले भिसा नै अस्वीकृत गरेका केही घटना पनि सार्वजनिक भएका छन् । तर पनि टोकियोको यो विशाल श्रम बजारमा अझै पनि धेरै नेपाली कुक त्यसरी श्रम बेच्न बाध्य छन् । केहीले भने अलि बढी पैसा कमाउने भनेर आफैंले गैरकानुनी बाटो प्रयोग गरेर इजागाया रोज्ने पनि रहेछन् ।
‘अनि रामहरिजी, नेपाल कहिले फर्किने त ?’
‘तपाईं नि सर ?’ उनले केही मौनतापछि मलार्ई नै त्यो प्रश्न फिर्ता गरे । सायद एउटा परदेशीको निम्ति सबैभन्दा गाह्रो प्रश्न यही होला । मसित पनि उत्तर थिएन । ‘छिट्टै फर्किनुपर्छ’, उनी मुस्कुराए ।
ग्राहक सबै बाहिरिए पनि उनको हात रोकिएन । रेस्टुरेन्टको भोलिको तयारी र आजको समापनका धेरै काम हुने रहेछन् । ग्राहक गए पनि उनीहरूले छोडेर गएका जुठा भाँडाको सगरमाथा उनले आजै फत्ते गर्नु थियो । मैले उनलाई भाँडा माझेर सघाएँ । विगतमा जापानमा विद्यार्थी रहँदा मैले पनि जापानका इजागाया (जापानी रेस्टुरेन्ट) हरूमा काम गरेको छु । तसर्थ भाँडा माझ्ने काममा म पोख्त नै थिएँ । मेरा हात चाँडो चलेको देखेर उनले मलार्ई जिस्काए । वास्तवमा यो काम मेरा लागि नयाँ थिएन ।
जापानमा परिवारसित बस्ने कुकको सङ्ख्या धेरै नै छ । रामहरिको अवस्था भने फरक देखियो । उनकी श्रीमती नेपालमै छिन् । अरू कुक पनि परिवारसँगै भए पनि व्यस्तता भने रामहरिको जस्तै हुन्छ । अधिकांश कुक बिहान ८ बजेदेखि राति ११ बजेसम्म काम गर्छन् । थाकेको शरीर लिएर घर पुग्दा केटाकेटी, श्रीमती, सुतिसकेका हुन्छन् । अथवा केटाकेटीलार्ई कुर्ने पालो दिएर श्रीमती रात्रिकालीन कामका लागि बाहिर निस्कन्छिन् । परिवारसँगै भए पनि परिवारभित्रको संवाद र भेटघाट अत्यन्त पातलो हुन्छ । तर त्यही कम हुने संवादका लागि पनि रामहरिकी श्रीमती भने जापानमा छैनन् ।
‘सर, आज तपाईं आएर सारै रमाइलो भयो । कहिलेकाहीं सारै अत्यास पो लाग्छ’, उनले भने । त्यो अत्यास मैले अनुमान मात्र लगाउन सक्थें ।
राति ११ बजे रामहरिले रेस्टुरेन्टको सटर बन्द गरे । सटर बन्द गरे पनि भित्रको काम केही बाँकी थियो । अब त ट्रेन बन्द हुने वेला भयो । म घर फर्किन अत्तालिएको थिएँ । आज उनलार्ई अन्तिमसम्म समय दिने भनेर आएको थिएँ । तसर्थ म उनलार्ई कुरिरहें । उनले अन्तिममा दुईवटा चिज नान बनाए । छोरीले आउँदा चिज नान लिएर आइदिनु भनेकी रहिछन् ।
‘सर, यो तपैंले म्याडमलाई लगिदिनू’, उनले मेरो झोलामा एउटा चिज नान पोको बनाएर राखिदिए । सबै काम सकेर बाहिर निस्किँदा ११ः३० भयो । हामी चौबाटोबाट छुट्टिएर आफ्नो घरतिर लाग्यौं । मैले उनलार्ई फर्केर हेरिरहें । उनी नजिकैको पसलमा पसे । म टक्क अडिएँ र एकछिन पर्खिबसें । पसलबाट बाहिर निस्किँदा उनको हातमा बियरको क्यान थियो । त्यसपछि उनी फटाफट हिंडेर अँध्यारोमा विलीन भए ।
रामहरिले भनेका कुरा सम्झिएँ । अरू दिन उनी कोठामा फर्किंदा छोराछोरी सुतिसकेका हुन्छन् रे । आज शुक्रबार, भोलि बिहान दुवैको बिदा भएकोले बुबालाई पर्खेर बस्छन् रे । आज पनि उनीहरू रामहरिलाई पर्खेर बसेका होलान् ।
हप्तामा बडो मुस्किलले छोराछोरीसित भेट हुने दिन ।
‘छोरो खासै कामको कुरा गर्दैन’, उनी भन्थे । तर आज अबेरसम्म छोरीले कामका कुरा, स्कुलका कुरा गर्ने दिन । आज रामहरि र छोरी राति अबेरसम्म गुनगुन कुरा गरिरहने दिन । त्यसैले आज रामहरि छोरीलाई मन पर्ने चिज नान लिएर जान बिर्सिंदैनन् ।
मैले आफ्नो गन्तव्यतिर पाइला बढाएँ । टोकियोको आकाशमा मुस्किलले तारा देखिन्छन् । आज पनि धमिलो एउटा तारा मात्र थियो । एकदम एक्लो ।
हाप्पी गुड फ्राइडे, रामहरि !!
(लेखक डा. विजय ज्ञवालीको जापानमा रहेका नेपाली कुकको संघर्ष र आशा सम्बन्धी पुस्तक चिज नान शिखा बुक्सले बजारमा ल्याएको छ। पुस्तकले प्रवासी नेपालीको कथालाई संग्रहित गर्ने जमर्को गरेको छ। यो पुस्तक जापानी भाषामा जापानको सोफिया विश्वविद्यालय प्रेसले पनि ‘किचेनमा देखिएको सपना’ भन्ने शीर्षकमा प्रकाशित गरेको छ। लेखक क्लिनिकल मनोविद् हुन् ।)
प्रतिक्रिया 4