+
+
अनुभूति :

‘पिर’

चिरञ्जीवी मास्के चिरञ्जीवी मास्के
२०७८ चैत ५ गते १७:५४

पिर कसलाई नहोला, सबैलाई छ । पिर मानिसको मस्तिष्कले अनुभूत गर्ने पीडा होे, कुनै कुराको हानि-नोक्सानीमा हुने मानसिक तनाव ।

म २०५२ सालको त्यो समय सम्झन्छु । प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल दोलखा जिल्लाको सचिव थिएँ म । गंगा कार्की (हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य) जनमोर्चाको जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । हामी अक्सर राजनीतिक छलफल गरिरहन्थ्यौं एउटा चिया पसलमा बसेर ।

अग्लो र ख्याउटे ज्यानका गंगा कार्कीको आँखामा म पिर देख्थे त्यो बेला । समाजमा देखिएको विभेदको पीडा थियो होला त्यो । तर त्यो पिरमा पनि उत्साह, जाँगर, ऊर्जा र कामप्रतिको प्रतिबद्धता देखिन्थ्यो । २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्ध गर्ने योजना रहेछ उहाँहरूको । राजनीतिक बहसको क्रममा गंगाजी अक्सर भन्ने गर्नुहुन्थ्यो – हेर्दै जानुस् हामी देखाइदिन्छौं ।

मलाई आश्चर्य लाग्थ्यो, जम्मा १०/१२ जना कार्यकर्ता हुनुहुन्छ के गर्न सक्नुहोला र ! म यसैगरी जवाफ फर्काउँथे गंगाजीलाई । उहाँ र उहाँ जस्तै सामाजिक परिवर्तनको सपना पूरा गर्न सकिन्छ कि सकिन्न भन्ने पिरलाई शक्ति ठानेर अघि बढेका त्यतिबेलाका थोरै संख्याको प्रतिबद्ध कार्यकर्ताले मुलुकमा केही त परिवर्तन गरेरै छाड्नुभयो- सशस्त्र जनयुद्धको माध्यमबाट ।

जनयुद्धको समय म लगायत धेरै पत्रकार र अधिकारकर्मी साथी माओवादी सेल्टरमा पुग्ने गरेका थियौं । कहिले समाचार संकलनको लागि त कहिले कोही अपहरितलाई मुक्त गर्नको लागि । जीवनको ठेगान नभए पनि जनयुद्धका योद्धाहरूको सामाजिक मुक्ति अभियानमा विश्वास थियो र नेतृत्व पंक्तिसँग भरोसा । अनवरत यात्राले थकित शरीरमा अनौठो चमक देख्थें म त्यतिबेला जनयुद्धका यौद्धाहरूको आँखामा ।

तर के गंगा कार्की जस्ता माओवादीका विद्रोही नेता, कार्यकर्ताहरूको पिरले आर्जन गरेका सबै सपना पूरा भए त ? छैनन् पूरा भएका । जातीय, क्षेत्रीय र लैङ्गिक विभेद केही हदसम्म अन्त्य भएका छन् । वर्गीय विभेद भने उस्तै छ अहिले पनि ।

म माओवादी सशस्त्र जनयुद्धकालको विचारसँग सहमत थिइनँ । हत्या हिंसाको राजनीति अन्त्य हुनुपर्ने मागसहित नागरिक अभियानमा हामी धेरै पत्रकार, कानुन व्यवसायी र अधिकारकर्मीहरू सक्रिय भयौं । हत्या-हिंसा द्वन्द्वरत दुवै पक्ष -सरकार र विद्राही माओवादी) बाट भए । हामीले त्यसको सशक्त विरोध गर्‍यौं । तर सत्य के हो भने वैचारिक रूपमा माओवादीका नेता कार्यकर्तामा एउटा सपना थियो । म अहिले पनि सम्झन्छु ती अनुहारहरू जहाँ सामाजिक मुक्तिको सपना पसिना बनेर लतपतिरहेका हुन्थे । मुठी उचालेर लालसलाम गर्दा वर्गीय एकता प्रदर्शित हुन्थे ।

केही दिन अघि मात्र कमरेड गंगा कार्कीसँग काठमाडौंको कमलादीमा भेट भयो । पत्रकार जीवन लामा र मैले उहाँसँग बसेर कालो चिया पियौं । २०५२ सालमा जनयुद्धको लागि अग्रसर गंगा कार्की र २०७८ साल फागुन २८ गते भेटिएका गंगा कार्की बीच धेरै अन्तर थियो । अन्तर शारीरिक बनावटको मात्र हैन मुहारमा देखिएको चमक र ऊर्जामा समेत थियो । २०५२ सालको क्रान्तिकारी गंगा कार्कीमा अहिले शिथिलता रहेको महसुस गरें मैले । भलै म सत्य नहुन पनि सक्छु ।

गंगा कार्की, रितबहादुर खड्का, शंकर लामा, देवी खड्का, विशाल खड्का, पूर्णबहादुर खड्का, यादव दाहाल, हेमबहादुर श्रेष्ठ, केशव रिमाल, केशर रिमाल, रेशम रिमाल, कृष्णप्रसाद दाहाल, कुलबहादुर बुढाथोकी, किरण दाहाल, गोपाल पाण्डे जस्ता धेरै नेता कार्यकर्ताले संघर्ष गर्नुभयो सामाजिक मुक्तिको लागि । रितबहादुर खड्का, केशव, केशर लगायत थुप्रै योद्धाले त ज्यानै समेत गुमाउनुभयो । सामाजिक मुक्तिका लागि मुट्ठी कसेर अघि बढेका ती पाइलाहरूले कोरेका सपना पूरा भएका छन् त अहिले ? संघर्षमा सहभागी जीवित पात्रहरूलाई सोधौं त के सपना पूरा नभएको पिर छैन ? मलाई लाग्छ कुनै एक जना त्यस्तो पात्र हुनुहुन्न जसले त्यतिबेलाको सपना पूरा भएको र पिर नभएको जवाफ फर्काउन सकुन् । अध्यक्ष कमरेड पुष्पकमल दाहाललाई पनि पिर छ सामाजिक मुक्तिको सपना हुबहु साकार हुन नसकेकोमा ।

००० ०००

विद्रोही नेकपा माओवादीसँग सरकारले शान्ति सम्झौता गरेपछि र उनीहरू शान्तिपूर्ण राजनीतिको बाटोमा आएपछि १० वर्षे जनयुद्धको सकारात्मक या नकारात्मक पाटो सरकारको पनि हिस्सा हो । त्यसैले तत्कालीन नेकपा माओवादीका योद्धाहरूको बारेमा तथ्यांक संकलन गरी उनीहरूको सहज जीवनयापन र सामाजिक मुक्ति सहितको समृद्ध राज्य निर्माणको सपनालाई सम्मान गर्ने दायित्व सरकारले लिनुपर्छ

गीत, संगीत र शब्द, कति शक्तिशाली छ । एउटा शब्द पिरले १० वर्षसम्म चलेको सशस्त्र जनयुद्धको समीक्षा गर्न बाध्य गरिदियो सबैलाई । द्वन्द्वरत माओवादीको पक्षबाट सामाजिक मुक्तिको सपनासहित युद्ध लडेका योद्धाहरूलाई झस्काइदियो पिरले । त्यो युद्धमा पीडित बनेका, रमिते बनेका र सहयोगी बनेका सबै पात्रहरूलाई बहसमा खडा गरिदियो पिरले । त्यतिबेला सपना युद्धको पिर, यतिबेला आत्मसम्मानको पिर ।

पिरमा कोरिएका हरेक शब्द र वाक्यमा सन्देश, सपना र सम्झना छ जनयुद्धको । अनि शब्दमा कुँदेका दृश्यहरूमा पीडा छ, आक्रोश छ, युद्ध छ, आवेग छ र अन्तरद्वन्द्व छ सपनाहरूको ।

सामाजिक मुक्ति, आर्थिक सम्पन्नता र समानता सूत्रसहितको समाजवाद रोजेका हजारौं योद्धाले सहादता मात्र प्राप्त गर्नुभएन, सयौं योद्धाहरू शारीरिक रूपमा अशक्त र आर्थिक रूपमा विपन्न बन्नुभयो । युद्धमा सक्रिय थोरैले आर्थिक एवं सामाजिक उन्नति गर्नुभयो तर उहाँहरू सबै सशस्त्र जनयुद्धको सपनाबाट विमुख र विरानो बन्नुभयो ।

हो त्यही तथ्य देखाइएको छ, लेखिएको छ पिरमा । शब्दमा आपत्ति मान्नुपर्ने ठाउँ देखिन्न, संगीतमा असहमति जनाउनुपर्ने लय भेटिन्न । तर दृश्यमा पक्कै असहमतिका केही प्रसंग भेटिन्छन् ।

एउटा बहसको याद आउँछ मलाई । यो बहस २०४६/४७ को जनआन्दोलन पछि सतहमा आएको हो । त्यतिबेला विद्यालय तहको पुस्तकमा गुरुङलाई किसानको रूपमा र क्षेत्री-ब्राहृमणलाई अफिसरको रूपमा अथ्र्याइएको हुन्थ्यो । अनि मुलुकमा प्रजातन्त्र आएपछि बहस चल्यो- के गुरुङ (जनजातिहरू) चाहिं किसान मात्र हुनुपर्ने, अनि क्षेत्री बाहुन मात्र अफिसर हुने हैसियत राख्ने हुन् ? बहस स्वाभाविक थियो । पछिल्लो समय विद्यालय तहको पुस्तकबाट त्यस्ता प्रसंगहरू हटाइयो ।

अहिले पनि बहस त्यस्तै प्रकृतिको विषयमा केन्द्रित छ । सशस्त्र द्वन्द्वमा लागेर पीडित बनेका विपन्न परिवारका महिला लडाकु देहव्यापारको लागि मात्र ठीक हुन् त ? अनि एउटा पुरुष तीन महिना श्रीमतीसँग अलग हुँदा वेश्यालय धाउनै पर्ने हो ?

प्रकाश सपुतको परिकल्पना बेजोड हुन्छ । तर पिरमा यस्ता अस्वाभाविक दृश्य राख्ने सोच कसरी आयो होला ? उनको परिकल्पना सत्य नै भए पनि सामाजिक मर्यादाको हिसाबले त्यसलाई नराख्दा ठीक हुन्थ्यो हैन र ? जनयुद्धका धेरै योद्धाले भोगेका पीडालाई अरू कुनै प्रसंगमा जोडेर अथ्र्याएको भए अझ प्रभावकारी र सबैको पि्रय हुनसक्थ्यो कि !

यहाँनेर मलाई अर्को प्रसंगको पनि याद आयो- केही समयअघि तत्कालीन कानुन मन्त्री शेरबहादुर तामाङले विदेशमा रोजगारीका लागि जाने महिलाहरूको बारेमा अस्वाभाविक टिप्पणी गरेबापत राजिनामा दिनुभएको थियो । तामाङको टिप्पणी भन्दा कैयन् गुणा बढी खतरनाक लाग्छ प्रकाश सपुतको गीतमा देखाइएका केही दृश्य ।

गीतमा प्रस्तुत गरिएका धेरै दृश्यहरू भने असाध्य रचनात्मक, भावनात्मक र आत्मीय छन् । श्रीमान्-श्रीमती छुट्दा मात्र हैन नितान्त व्यक्तिगत अवस्थामा एउटा नारकीय ठाउँमा भेट हुँदा समेत मुट्ठी उज्याएर लालसलाम गरेको दृश्यले वर्गीय नाताले आत्मीयता र सम्मानलाई मर्न दिंदैन भन्ने उदाहरण प्रस्तुत गरेको छ । यथार्थमा त अहिले १० वर्षीय सशस्त्र जनयुद्धमा विकास भएको वर्गीय भावना मरिसकेको छ नि ! अब त नेताहरूको कुरा छोडौं योद्धाहरूको भेटमा समेत लालसलामको आत्मीयता बन्द भइसकेको छ ।

दृश्यहरू अरू पनि त्यतिकै हृदयस्पर्शी र मार्मिक छन् । एयरपोर्टमा आमाछोरीको विछोड, विदेशमा पुगेको लडाकुको क्रन्दन, नेतालाई आफ्नो पीडा सुनाउँदाको भरोसा र राजकीय पदमा पुगेका नेताको व्यवहारलाई पिरको शब्दसँग दृश्यमा कैद गर्दै जसरी प्रस्तुत गरिएको छ त्यसले समय क्रममा सशस्त्र जनयुद्धको स्खलनलाई बडो यथार्थपरक ढंगले पस्किएको पाइन्छ ।

निष्कर्ष यही हो, पिर सशस्त्र जनयुद्ध र त्यसपछिको अवस्थाको तथ्यपरक चित्रण हो । जहाँ केही अस्वाभाविक दृश्य कैद भएका छन् । जसलाई भाग-२ मा सच्याइनेछ भन्ने विश्वास गर्नुपर्छ । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (तत्कालीन विद्रोही नेकपा माओवादीका सर्वोच्च कमाण्डर) ले भन्नुभए जस्तै पिर सुनेर या हेरेर उत्तेजित भैहाल्नुपर्ने पनि छैन ।

विद्रोही नेकपा माओवादीसँग सरकारले शान्ति सम्झौता गरेपछि र उनीहरू शान्तिपूर्ण राजनीतिको बाटोमा आएपछि १० वर्षे जनयुद्धको सकारात्मक या नकारात्मक पाटो सरकारको पनि हिस्सा हो । त्यसैले तत्कालीन नेकपा माओवादीका योद्धाहरूको बारेमा तथ्यांक संकलन गरी उनीहरूको सहज जीवनयापन र सामाजिक मुक्ति सहितको समृद्ध राज्य निर्माणको सपनालाई सम्मान गर्ने दायित्व सरकारले लिनुपर्छ । जनयुद्धका अवसरवादीहरू हैन सामाजिक मुक्ति र समुन्नत राष्ट्र निर्माणको सपना देखेर जनयुद्धमा होमिएका सच्चा योद्धाहरूलाई योग्यता र क्षमता अनुसारको काम अनि काम अनुसारको दाम दिने दायित्व सरकारले पूरा गर्नै पर्छ ।

अपेक्षा गरौं राज्य आफ्नो त्यो दायित्वबाट किञ्चित विमुख हुने छैन । र एकदिन समाजवादी गोरेटो हुँदै साम्यवादी समाज निर्माण गर्ने नेकपा माओवादी योद्धाहरूको सपना पूरा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?