+
+

इन्फ्रास्ट्रक्चर इनिसिएटिभ र टेलिकम कम्पनी अफ द इयरबाट एनसेल सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते १२:५४

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दुई विधामा पुरस्कार जित्न सफल भएको छ । ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा एनसेल सम्मानित भएको हो । एनसेलका अनुसार कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन् ।

सिंगापुरमा रहेको ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि ‘एसियन टेलिकम अवार्ड’ प्रदान गर्न सुरु गरेको थियो । एसियाका अग्रणी दूरसञ्चार कम्पनीका उत्कृष्ट उपलब्धि र पहललाई मान्यता दिँदै यो पुरस्कार दिनेगरिन्छ । यस अवार्डअन्तर्गत विभिन्न विधाका विजयी कम्पनीलाई हालै एक भर्चुअल कार्यक्रममार्फत सम्मानित गरिएको थियो ।

कोभिड-१९ महामारीले हरेक क्षेत्रलाई असर गरिरहँदा टेलिकम कम्पनीहरूले ग्राहकलाई सञ्चार सेवामा निरन्तर पहुँच सुनिश्चित गर्न र प्रतिस्पर्धामा रहिरहन विभिन्न सुविधा र योजना लागू गरे । बजारमा विभिन्न चुनौतिका बीच उत्कृष्ट प्रदर्शन गर्ने एसिया प्यासेफिक क्षेत्रका कम्पनीहरूलाई ‘एसियन टेलिकम अवार्ड २०२२’ले सम्मान गरिएको आयोजकले जनाएको छ ।

नेपालमा भरपर्दो सेवा प्रदान गर्नुका साथै कोभिड-१९ को महामारीमाझ देशभर विभिन्न आमसञ्चारमाध्यम तथा आफ्नै नेटवर्क प्रयोग गरी सरकारलाई जनचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएबापत एनसेललाई ‘टेलिकम कम्पनी अफ द इयर’ अवार्डबाट सम्मानित गरिएको  कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, सरकारको डिजिटलाइजेसन योजनाको मेरुदण्डका रूपमा रहने विश्वस्तरीय डेटा सेन्टर स्थापनाका लागि एनसेललाई ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ पुरस्कारबाट सम्मानित गरिएको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले प्रतिष्ठित एसियन टेलिकम अवार्ड २०२२ का दुई विधाबाट सम्मानित हुन पाएकोमा अत्यन्तै हर्षित भएको बताए । सम्मानले देश र जनताका लागि कम्पनीले गरेका पहलकदमी र योगदानलाई प्रमाणीकरण गरेको उनकाो भनाइ थियो ।

सरकारले स्थापना गरेको कोभिड-१९ संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसेलले १० करोड रुपैयाँ सहयोग गरेको उनले बताए ।

पूर्वाधारको क्षेत्रमा एनसेलले भूकम्पीय जोखिमको दृष्टिकोणबाट अतिसंवेदनशील मानिने काठमाडौं उपत्यकामा विश्वस्तरीय ‘टियर थ्री’ मापदण्डको ‘इन्टिग्रेटेड डेटा सेन्टर’ स्थापना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?