
काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवा थप विस्तार गर्दै नयाँ अवधारणा साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप भैरहवामा आजदेखि सञ्चालनमा ल्याएको हो ।
भैरहवा मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी ए टु जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो ।
एक कार्यक्रममाझ बिहीबार एनसेलका चिफ अफ स्टाफ स्टिभन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए ।
सप इन सपबाट ग्राहकले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन् ।
ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैं अन रिन्युअल जस्ता प्याक, सेवा, सुविधा लिने, ई–सिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायत सेवा लिन सक्छन् ।
‘अब हाम्रा ग्राहकले सबै ग्राहक सेवा नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो । यस अवधारणा अनुरूप हामीले देशैभरि विभिन्न स्थानमा थप सप इन सप सञ्चालनमा ल्याउने योजना अनुसार काम गरिरहेका छौं, जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ । हाम्रो थिम ‘हामी तपाईंकै लागि’ को मूल मर्म अनुसार ग्राहकलाई सेवा प्रदान गर्न सधैं प्रतिबद्ध छौं,’ रोड्रिगेजले भने ।
रोड्रिगेजले उद्घाटन अवसरमा सप इन सपमा आई ‘स्पिन एन्ड ह्विल’ खेलेका अगन्तुकलाई विभिन्न उपहार पनि वितरण गरेका थिए ।
आइतबारदेखि शुक्रबार साताको ६ दिन यस सप इन सपले ग्राहकलाई सेवा प्रदान गर्ने छ । आफ्नो ग्राहक सेवा अझ सहज बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३३ वटा एनसेल सेन्टर पनि सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया 4