+
+

उल्टो हिंडेर मेची-महाकाली यात्रा

आभास बुढाथोकी आभास बुढाथोकी
२०७८ चैत ६ गते १६:१६

६ चैत, दाङ । लामो यात्रा पैदल हिँड्नु आफैंमा गाह्रो काम हो । तर दाङ तुलसीपुर उपमहानगरपालिका-३ का ३० वर्षीय ऋषि परियार भने उल्टो हिडेर पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको पैदल यात्रा गरिरहेका छन् ।

‘हिडौं स्वस्थ रहौं’ भन्ने नारा सहित पैदलयात्रा सुरु गरेका उनी ५१ दिनयता देशको एकछेउदेखि आर्कोसम्म छेउसम्म सयौं किलोमिटर उल्टो हिँडिरहेका छन् । १५ माघमा झापाको काँकडभिट्टास्थित मेची पुलबाट उल्टो हिँड्न सुरु गरेका उनले आठ सय किलोमिटर पार गरिसकेका छन् ।

पूर्वपश्चिम राजमार्गको करिब एक हजार किलोमिटरमध्ये उनले करिब २०० किलोमिटर हिँड्न बाँकी छ । कञ्चनपुरको महाकाली पुलमा पुगेर उनको यात्रा पूरा हुनेछ ।

यसअघि उनले उल्टो हातले टेकेर दुई किलोमिटर हिँडेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने प्रयास गरेका थिए । तर प्राविधिक त्रृटिले त्यो सम्भव भएको थिएन ।

गत माघमा उनी उल्टो पैदलयात्राको स्वीकृति लिन गृह मन्त्रालयमा निवेदन दिए । मन्त्रालयका कर्मचारीले उनी उल्टो हिँड्ने कुरा हाँसेरै उडाइदिए । बरु उल्टै हप्काए, ‘यस्तो उट्फटाङ पनि गर्ने ?’

‘स्वस्थ रहनका लागि हिँड्नु पर्छ भनेर सन्देश दिन उल्टो पैदल यात्रा गर्न चाहिरहेको थिएँ’ ऋषिले भने, ‘कर्मचारीको व्यवहारले मनमा अमिलो भयो ।’

जसातसो स्वीकृति लिएर दाङ फर्किए । यात्रा सुरु गर्नुअघि धेरैले उनलाई उल्टो हिँड्न सक्दैन, बीच बाटोबाटै फर्किन्छ पनि भने । तर ऋषिको अठोट र इच्छाशक्तिको अगाडी कसेको केही लागेन । उनी झापाको पुगेर गत माघ १५ गतेदेखि उल्टो हिँड्ने यात्रा सुरु गरे ।

सहज छैन ‘उल्टो हिंड्न’

यात्रा तय गर्नुअघि नै उनले केही दिन उल्टो हिँड्ने अभ्यास गरेका थिए । ‘मैदानमा केही दिन उल्टो हिँड्ने अभ्यास गरेपछि सकिन्छ भन्ने लाग्यो’ उनले भने, ‘त्यही आँट बोकेर मेची महाकाली पैदल यात्रा गर्न निस्किए ।’

दैनिक सयौं सवारी साधान गुड्ने पूर्व–पश्चिम राजमार्गमा उल्टो हिँड्नु कठिनमात्र थिएन, उतिकै जोखिम पनि थियो । ‘उल्टो हिँड्न सुरुका केही दिन निकै गाह्रो भयो । सकिदैन जस्तो पनि लाग्यो’ उनले भने, ‘तर मनभित्रको अठोट कायमै थियो । जसोतसो यात्रा जारी राखे ।’

जब टिकटिकमा भाइरल भए

यात्रा सुरु गरेको हप्ता दिनपछि कसैले उनको भिडियो टिकटकमा राखिदिएछ । उल्टो हिडिरहेको उनको भिडियो धेरैले अनौठो माने र भाइरल हुन समय लागेन । त्यसपछि त उनलाई बाटोमा फूल, माला र टीकाले स्वागत गर्नेहरु धेरै भए । ‘टिकटकमा भाइरल भएपछि, ठाउँ–ठाउँमा सम्मान र अभिन्दन पाए’ उनले भने, ‘कतिले मसँगै फोटो खिचाउँदै उल्टो हिँडेर यात्रामा साथ दिनुभयो ।’

यात्रा सुरु गरेको झण्डै एक महिना बढीको अन्तरालमा हरेक ठाउँमा थुप्रै माया पाइरहेका छन् । ‘हिँडेर जहाँ–जहाँ पुग्छु, त्यहाँ माया पाइरहेको हुन्छु’ उनी भन्छन्, ‘उहाँहरुको मायाले यात्राको सबै दुख बिर्सन्छु।’

उनी पूर्वपश्चिम राजमार्ग हुँदै उल्टो हिँडेर झापा-सुनसरी-बुटवल-दाङ-बर्दिया राष्ट्रिय निकुञ्जमा आइपुगेका छन् । ५१ दिन बढीको हिँडाइले उनको खु्टामा ठाउँ–ठाउँमा ठेला परेका छन् । लगातार हिँडाइले शरीर गलेका छन् । तर यात्राकै क्रममा पाइरहेको माया र अभिनन्दले उनमा हौसला र उर्जा थपिदएको छ ।

‘स्वास्थ्यका लागि पैदल यात्रा’

‘हिडौं स्वस्थ बनाऔं, स्वास्थ्यका लागि मेची महाकाली उल्टो पैदल यात्रा’ नारा लिएर आफू पैदल यात्रा गरिरहेको उनले बताए । ‘स्वास्थ्यको लागि हिँड्नु राम्रो हो । अहिले मानिस सुविधाभोगी हुँदै गएको छ । हिँड्न छाड्दा अनेक रोगको शिकार भइरहेको छ’ उनले भने, ‘हिँड्न हिच्किचाउनु हुँदैन । सकेसम्म हिँडेर काम गर्नुपर्छ ।’

उनले आफू उल्टो हिड्नु नेपाललाई विश्वसामु चिनाउन खोजेको बताए । ‘उल्टो हिँडेर वर्ड रेकर्ड राखेर नेपाललाई नै विश्वसामु चिनाउन चाहन्छु’ उनले भने ।

उनले सन् २०२० मय जम्पिङ जक्समा उनले गिनिज बुकमा नाम लेखाएका छन् । जहाँ उनले एक मिनेटमा १ सय २३ पटक जम्प गरेका थिए ।

त्यसअघि पनि उनले इजिप्टका नागरिकले ३० सेकेन्डमा ५४ पटक लाठी घुमाएको रेकर्ड ५७ पटक लाठी घुमाएर तोडेका थिए । यसपटक उल्टो हिँडेर फेरि गिनिजमा नाम लेखाउने उनले बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?