+
+

वकिललाई वकिल नै बनाऔं

मेरो विमति वकिलले किन कमाए भन्ने तिर होइन, कसरी कमाए भन्ने तिर चाहिँ हो। राम्रो मिहेनत गरी कमाएका हुन् भने धन्यवादका पात्र हुन्। बेइमानीपूर्वक सेटिङ गरी कमाएका हुन् भने दण्डका पात्र हुन्।

डा. केदारचन्द्र भट्ट डा. केदारचन्द्र भट्ट
२०७८ चैत ६ गते १७:३७

नेपाल बार एशोसिएशनको ऐतिहासिक कार्य गर्व गर्नलायक छ। इतिहास संघर्षले परिपूर्ण छ। यद्यपि वर्तमान संकटपूर्ण छ, त्रुटीपूर्ण छ।

नेपालमा वकालतको सुरुवात आजको दिनमा जस्तो कानुन विषय पढेर कालो कोट लगाएर भएको होइन। १९७० सालमा खुलेको स्रेस्ता पाठशालामा २ पास, ४ पास र ११ पास सम्मका पाठ्यक्रमका आधारमा भएको थियो।

यो कानुनको कक्षा नभई विषयगत रूपमा थियो, जसको मुख्य उद्देश्य सरकारका लागि कर्मचारी उत्पादन गर्नु थियो न कि वकिल। वकिलका लागि कानुनको उच्च शिक्षा (बीएल) भने भारतको पटना विश्वविद्यालयबाट सम्बन्धन लिई ल कलेजको रूपमा दरबार हाइस्कुल, रानीपोखरी (हालको भानु माध्यमिक विद्यालय) का केही कोठाबाट ५ कात्तिक २०११ बाट सुरु भएको थियो।

नेपाल बार एशोसिएसन नेपालमा वकालत पेशा गर्ने व्यक्तिहरूको साझा संगठन हो। यसको स्थापना ७ पुस २०१३ मा भएको थियो। यो संगठनमा जिल्ला अदालतको तहमा मात्र वकालत गर्न पाउने अभिकर्तादेखि जुनसुकै तहसम्म पनि वकालत गर्न पाउने वरिष्ठ अधिवक्तासम्म सदस्य रहेका हुन्छन्।

यो संगठनको मुख्य उद्देश्य भनेको वकालत गर्न अनुमति पाएका व्यक्तिहरूको कुनै निश्चित स्थानमा सदस्य बनून् र संगठित भएर न्याय सम्पादनमा संगठित सहयोग गरून् भन्ने हो। यो कुनै मोलमोलाई गर्ने वा वकिलको हकहितका लागि मात्र काम गर्ने संगठन होइन। न यो कुनै च्यारेटिबल संगठन हो।

शासन प्रणाली विशेषतः न्यायिक शासन ‘रुल अफ ल’ मा चल्दछ। नेपालमा ‘रुल अफ जज’ मा पनि चल्न थाल्यो । यसैगरी न्यायिक प्रणाली ‘रुल अफ जजमेन्ट’ मा चल्न थाल्यो भने के हुने? यसको लागि मूल पात्र भनेको सवल वकिल नै हो।

वकिल भनेको न्यायाधीशसँग सामान्य कुरा गर्ने व्यक्ति होइन न त कुनै कुराको न्यायाधीशसँग याचना गर्ने व्यक्ति हो। वकिल भनेको न कुनै प्रशासक हो न कुनै फौजी अफिसर हो न कुनै सरकारी नियुक्ति प्राप्त पद हो। न कुनै पेशागत संगठनको व्यक्ति हो।

वकिल भनेको न्यायका लागि न्याय सम्पादन गर्ने न्यायाधीशसँग कानुनका कुरा कानूनी भाषामा गर्ने व्यक्ति हो। न्यायाधीशलाई न्याय गर्न सजिलो बनाई न्यायाधीश बनाउने व्यक्ति हो। कानुनको चुरो कुरो जानेको व्यक्ति हो। कानुनको कुरामा राज्यको न्याय प्रणालीलाई जीवन्तता दिने शक्ति हो। न्यायिक समाजमा रक्त सञ्चालनको काम गर्ने व्यक्ति हो।

आज न्याय प्रणालीको यही व्यक्ति, यही शक्ति प्रश्न र शंकाको ठूलो कठघरामा छ। आम रूपमा वकिललाई कानुनी भाषामा जे पनि गर्न सक्ने, कालोलाई सेतो र झुटोलाई साँचो बनाउन सक्ने बेइमान व्यक्तिको रूपमा चित्रण गरिन थालिएको छ।

न्यायाधीशसँग सेटिङ गरेर न्याय किन्ने व्यक्तिको रूपमा पहिचान बन्न थालेको छ। यो कुनै वकिलको लागि मात्रै नभएर समग्र देशकै लागि नराम्रो कुरा हो, काम हो । यसलाई सच्याउनु पर्दछ। तर यो सच्याउन धेरै गाह्रो छ। धेरै वकिलहरूको यसै प्रवृत्तिबाट धन आगमन भइरहेको छ।

बेइमान वकिलहरूलाई कडा दण्ड नदिने हो भने कुनै मुद्दा पनि सुरक्षित रहने छैनन्। तर कसरी वकिलले आफैंलाई सजाय दिन माग गर्न सक्छ ? यो आफैंमा गम्भीर विषय छ। यद्यपि यो नगरी नहुने भएको छ। योसँग समग्र न्याय प्रणाली गाँसिएको छ।

नेपालमा वकिलको संस्थागत तहहरू फरक छन् । योसँगै काम, परिणाम र प्रवृत्तिको आधारमा वकिल २ भागमा बाँडिएका छन् । एउटा कमाउ वकिल, अर्को बेरोजगार नाम मात्रको लाइसेन्स धारी वकिल।

धेरै कमाउ वकिल काठमाण्डौं लगायत शहरी क्षेत्रमा छन्। यिनको सीप, कला उच्च छ नै। हुनु पनि पर्छ तर समस्या के हो भने मोफसलमा काम गर्ने अवसर र अवस्था कमजोर भएका ‘वकिल’ वकिल नहुने भए। कमाउ वकिलले घुमाउ काम पनि गर्छन् भन्ने आरोप जग जाहेर छ।

मेरो विमति वकिलले किन कमाए भन्नेतिर होइन, कसरी कमाए भन्ने तिर चाहिँ हो। राम्रो मिहेनत गरी कमाएका हुन् भने धन्यवादका पात्र हुन् । बेइमानीपूर्वक सेटिङ गरी कमाएका हुन् भने दण्डका पात्र हुन्।

वकिलको पदचापलाई वकिलले चिन्न सकिरहेका छैनन् । चुनाव सन्निकट छ नेपाल बारको। तर बार कस्तो हुने, कसरी हुने, कहिले हुने र त्यसले वकिललाई वकिल कसरी बनाउने भनेर कुनै ठोस कार्य योजना अगाडि सार्न सकेको छैन।

परम्परागत रूपमा कांग्रेस, कम्यनिष्ट भई चुनाव गरिरहेका छन्। बहुदलीय व्यवस्था र बहुलवादमा राजनीतिक विचार आस्थाको सम्मान गर्नुपर्दछ । यसमा दुई मत छैन ।
हामी कुनै न कुनै आस्था वा दर्शनमा विश्वास गर्दछौं। तर आजको दिनमा देशको न्याय व्यवस्थालाई गतिवान बनाउन उल्लेखित आस्था र दर्शनले मात्र काम गर्ने देखिंदैन। यसको लागि ठोस योजना के हो? भन्न सकिएको छैन।

वकिल हुन कानुन विषय लिई कुनै विश्व विद्यालयबाट अध्ययन गरेको हुनुपर्दछ। नेपाल बार काउन्सिलको लाईसेन्स परीक्षा पास गरेको हुनुपर्दछ। यति गरेपछि कानुनतः वकालत गर्ने अनुमति पाइन्छ तर यतिले मात्रै वकिल भइदैन ।

वकिल हुन सीप र कला आवश्यक हुन्छ। यो सीप र कला बढाउन वकिललाई जन्माउने बार काउन्सिल र हुर्काउने बार एशोसिएसनले भूमिका खेल्नुपर्छ। सीप र कला प्रत्येक व्यक्तिमा फरक फरक हुने भएको हुनाले यसलाई माझ्ने काम बार काउन्सिल र बार एशोसिएसनको नै हो।

वकिलको जिम्मेवारी भनेको आफूलाई तिखार्नका निमित्त पूर्णरूपमा समर्पित गर्नु हो। कानुनको ज्ञान कानुन विषय पढेर हुन्छ । यो जो कोही पनि प्राप्त गर्न सक्छन् स्वअध्ययनबाट पनि गर्न सक्छन् तर यसको सीप र कला प्राप्त गर्न वकालतको आगोको भट्टी (ठूलो चुलो) मा हाल्नैपर्ने हुन्छ।

अधिकांश वकालत गर्न चाहने व्यक्ति यसका लागि ल फर्म खोल्छन् । केही सिनियर कहाँ पनि बस्छन् तर अधिकांश सफल हुँदैनन् । किनभने यसको वातावरण नै छैन।

सिनियर अग्रजहरू धेरै दुःख गरेर पेशामा जमेका छन् तर जुनियर वकिलका बारेमा केही सोच्दैनन् । यो पेशा यस्तै हो भन्छन्। के यो पेशा यस्तै हो र? होइन।

वकालत पेशामा नयाँ आउने व्यक्तिले आजका दिनमा पनि कुहिरो काग बन्नु परिरहेको छ। संगठित संरचना छ, तर नयाँ वकिल हराउँछ। सबैले भेउ नै पाउँदैनन् कहाँबाट को आयो कहाँ गयो। यसैले नेपाल बार एशोसिएसनको चुनावको मुद्दामा पहिलो पक्ष वकिल बन्नु पर्दछ।

वकिललाई मगन्ते, फूर्ति लगाउने, अर्कोलाई सताउने र सेटिङ मिलाउने होइन, स्वाभिमान र आदर्शले ओतप्रोत बनाउनुपर्छ। कालोलाई सेतो बनाउने र पाइला पाइलामा झुठो बोल्ने होइन्, कानुनको ज्ञान, सीप र कलाले भरिपूर्ण र सकभर गल्ती नै नगर्ने बनाउनुपर्छ।

गल्ती भइहालेमा मनबाट र कर्मबाट तुरन्त सच्याउने हिम्मत र साहस भएको वकिल आजको समाजको, देशको आवश्यकता हो।

यो भएन भने न्याय अपूर्ण र अर्थहीन हुनेछ। धनी र हुने खानेका पक्षमा मात्र हुनेछ। कानुन देखाउने औजार मात्र बन्ने छ। न्यायिक क्षेत्र ठूलो खन्डर भएको शहर जस्तो हुनेछ। देशको दशा दुर्दशामा परिणत हुनेछ। वकिल कुनै नोकरी होइन, जसले अफिसमा १०-५ बजाओस्।

यसैले वकिललाई वकिल बनाउने काम बार एशोसिएशनको को हो । यसमा बार चुकिरहेको छ । एकबार होइन बारम्बार चुकिरहेको छ। आम जनता न्यायका लागि जाने ठाउँ भनेको अदालत हो। तर अदालत जान पहिला वकिल कहाँ नै जानु पर्दछ।

वकिलले जे जे बताउँछ जनताले बुझ्ने त्यही हो। आजको नेपालको वकिलले के के बताउँछ भनेर भन्नै पर्दैन। अर्थात् जे जान्यो त्यही बताउँछ। के जान्दछ भनेर बारले अनुमान गरेको छ? तर्क दिन सकिएला तर यथार्थ फरक छ।

नेपालका प्रायः सबै जिल्लामा बारका अफिस छन् । कसैलाई दुःख नलागोस् । प्रायः बारका अफिसले पार्टीका सिन्डिकेट लागु गरेका छन् । नयाँ सदस्य हुने व्यक्तिलाई अनुकूलता र प्रतिकूलताको आधारमा बारको सदस्य बनाइन्छ। यो के ठीक हो त ?

कुनै बारमा पनि वकिलको वृत्ति विकास गर्ने योजना र कार्यक्रम त छोडौं, सामान्य कुरा पनि हुँदैनन्। प्रायः वकिल आफूलाई धेरै जान्ने सोच्छन् । कोही हुन्छन् पनि। तर जति जाने पनि प्रयाप्त हुँदैन। यो निरन्तर अध्ययन गर्ने पेशा हो।

नयाँ नयाँ अध्ययन गर्ने पेशा हो। स्कुल कलेजको पढाइले धान्ने पेशा होइन। समाजको परिवर्तन सँगै राज्यको परिवर्तन हुन्छ। कानुन परिवर्तन हुन्छ। नयाँ नयाँ बन्दै जान्छ । व्याख्या नयाँ नयाँ ढंगले हुन्छ। अनि पढ्नु र सिक्नु परेन त ?

तर यो वातावरण नै छैन। बार एशोसिएशन चुनावका लागि मात्र जस्तो छ। बार काउन्सिल वकिलको लाइसेन्सको औपचारिकता पूरा गर्न मात्र बनेका जस्ता छन्।

हो, यी दुवै संस्थाहरूले केही काम नगरेका भने होइनन् तर यसले वकिल बन्नेहरूको मन, जीवन र न्याय क्षेत्रमा परिवर्तन ल्याउनु पर्‍यो। कम्तीमा पनि वकिलका कुरा सुनाउने, मनको वह बिसाउने ठाउँ त भएका छन् बार काउन्सिल र बार एशोसिएन। दुवै संस्थाहरूले जान्नै पर्दछ यत्तिले मात्रै पुग्दैन।

अन्तमा आशा गरौं, सहयोग र सद्भाव प्रकट गरौं । नेपाल बार एशोसिएशनले साँच्चै नेपालमा वकिल हुर्काउनेछ। वकिलको नाममा बेइमान फटाहाहरूलाई होइन, कानूनी राज्य निर्माणमा निरन्तर खबरदारी गर्नेछ।

वकिलको विकासमा ठोस कार्यक्रम ल्याउने र कार्यान्वयन गर्नेछ। काठमाण्डौं र शहरहरूमा मात्र होइन, हुम्ला, जुम्ला र ताप्लेजुङमा पनि वकिल छन् भन्ने कुरा सोच्नेछ र केही देखिनेगरी गर्नेछ।

(लेखक अधिवक्ता हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?