+
+

नेपालको लगातार खराब ब्याटिङ, यूएईसँग ९९ रनले पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १८:०७

७ चैत, काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएई विरुद्धको खेलमा खराब ब्याटिङ गरेपछि नेपाल ९९ रनले पराजित भएको छ ।

२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेन ।

यसअघि पहिलो खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो ।

यूएईविरुद्ध बनाएको १०३रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो ।

यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात फेरि पनि राम्रो हुन सकेन । नेपालले सुरुवाती पावर प्लेमा ४ विकेट गुमाएको थियो ।

नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै व्यक्तिगत ५ रन बनाएर आउट भए । यस्तै श्रृंखलामा पहिलो खेल खेलिरहेका पवन सर्राफ २ रन बनाएर तेस्रो ओभरमा आउट भए । पवनले आसिफको स्थानमा ओपनिङ गरेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले खाता समेत नखोली तेस्रो ओभरमा आउट भए । जुनैद सिद्दीकीले पवन र दीपेन्द्रलाई लगातार आउट गरे ।

यसअघिका दुई खेलमा राम्रो ब्याटिङ गरेका रोहित पौडेल आज व्यक्तिगत ९ रनमा आउट भए । नेपालले १० ओभरमा ४ विकेट गुमाएर जम्मा २१ रन बनाएको थियो ।

पवार प्लेमा युएईका जुनैद सिद्दकी र कासिफ दाउदले २-२ विकेट लिएका थिए ।

त्यसपछि ज्ञानेन्द्र मल्ल र आरिफ शेखले नेपालको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । पाँचौ विकेटका लागि ज्ञानेन्द्र र रोहितले ३३ रनको साझेदारी गरे । आरिफ २१औं ओभरमा १५ रन बनाएर बउट भए । आरिफ आउट भएपछि नेपालको इनिङ्स धर्मारायो । त्यसपछि नेपाली इनिङ्स सम्हालिन सकेन ।

ज्ञानेन्द्र मल्ल पनि २५औं ओभरमा आउट भएपछि नेपालले ६९ रनमा छैटौं विकेट गुमायो । ज्ञानेन्द्रले ६५ बल खेल्दै २ चौका मद्दतमा सर्वाधिक ३० रन बनाए । आरिफ र ज्ञानेन्द्र दुवैलाई यूएईका कप्तान अहेमद राजाले आउट गरे । विनोद भण्डारी १२ रन बनाएर आउट भए । करण केसी ४ रनमा आउट भए ।

नेपालले एक सय रन पूरा गरेपछि नवौं विकेट गुमायो । सोमपाल कामी १५ रन बनाएर ३५औं ओभरमा आउट भए । कप्तान सन्दीप लामिछाने ३६औं ओभरको पहिलो बलमा खाता नखोली बउट भए ।

नेपाललाई अलआउट गर्न यूएईका लागि जुनैद सिद्दिकीले ८ ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए । यस्तै कासिफ दाउद र अहमेद राजाले समान २ विकेट लिए ।

त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनाएको थियो । युएईका लागिरोहन मुस्ताफाले सर्वाधिक ६० रन बनाए । यस्तै मुहम्मद वासिमले ३३, चिराग सुरीले २६ र भृत्य अरविन्दले २४ रन बनाए ।

पहिलो विकेटका लागि वासिम र सुरीले ५७ रनको साझेदारी गर्दै युएईलाई गतिलो सुरुवात दिलाएका थिए । तर १६औं ओभरको अन्तिम बलमा कप्तान सन्दीप लामिछानेले वासिमलाई एलबीडब्लु धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

१९औं ‌ओभरमा करण केसीले सुरीलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए । त्यसपछि दीपेन्द्र सिंह ऐरीले २३औं ओभरको पहिलो बलमा सिपी रिजवानलाई विनोदबाटै क्याचआउट गराएपछि युएई ७३-३ को स्थितीमा पुग्‍यो । रिजवान ४ रन बनाएर आउट भए ।

भृत्य अरविन्द र रोहन मुस्ताफाले युएईको इनिङ्सलाई अघि बढाए । तर यी दुईबीच ३२ रनको साझेदारी आरिफ शेखले तोडे । आरिफले ३२औं ओभरमा भृत्यलाई बोल्ड गरे ।

त्यसपछि मुस्ताफा र बसिल हमिदले पाँचौ विकेटका लागि ४७ रनको साझेदारी गरे । कप्तान सन्दीपले यी दुईको साझेदारीलाई ४३औं ओभरमा ब्रेक गर्दै बसिल हमिदलाई कट एण्ड बोल्ड गरे । हमिदले १७ रन जोडे ।

एक छेउबाट इनिङ्स अघि बढाइरहेका मुस्ताफालाई सोमपाल कामीले ४६औं ओभरमा बोल्ड गरे । मुस्ताफाले ७३ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा ६० रन बनाए । सोमपालले ४६औं ओभरमै कासिफ दाउदलाई कुशल भुर्तेलबाट क्याचआउट गराएपछि युएईले १७२ रन हुँदा सातौं विकेट गुमायो ।

त्यसपछि कप्तान सन्दीपले ४७औं ओभरमा युएईका कप्तान अहेमद राजाला खाता खोल्न नदिई बोल्ड गरे । युएईका अलिशान सारापुले २१ रन बनाए । जहुर खान ९ रनमा अविजित रहे ।

बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछानेले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर ३ विकेट लिए । करण केसीले ९ ओभरमा ३६ रन तथा सोमपाल कामीले १० ओभरमा ४४ रन खर्चेर समान २ विकेट लिए । यस्तै करण केसी, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?