
७ चैत, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलसँग भेटघाट गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्ता नेतृत्वको टोलीले पौडेललाई भेटेको हो ।
भेटका क्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ताले ३५ करोडभन्दा माथिको कारोबार गर्ने व्यवसायीहरुको इन्टिग्रेशन सफ्टवेयरमा इन्ट्री गरे पछि भन्सार कार्यालय, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभाग तीनवटै निकायमा सूचना प्रवाह हुने व्यवस्था मिलाइदिन आग्रह गरे ।
कारोबारको सिलसिलामा भएको त्रुटीका कारण हुने अपराधमा अन्य अपराधिक क्रियाकलापमा जस्तै थुनछेक नगरी वित्तीय अपराध सरहको सजाय हुनुपर्ने, उपत्यकामा जस्तै मुख्य व्यापारिक शहरहरुमा मालवाहक सवारी साधनलाई राजस्व अनुसन्धान विभागले मात्रै चेकजाँच गर्ने व्यवस्था मिलाउन उनले माग राखे ।
भीसीटीएस भर्दा वा सोसँग सम्बन्धित त्रुटी भएमा गरिने जरिवाना न्यून हुनुपर्ने, भीसीटीएसकाबारे विभागबाट समय समयमा कार्यशाला गोष्ठीको आयोजना हुनुपर्ने, सानातिना व्यवसायको हकमा भीसीटीएस भर्नुपर्ने बाध्यात्मक व्यवस्थालाई हटाउनुपर्ने, सरकारी कार्यालयहरुबीच आपसी समन्वय र सहकार्यको अभावमा व्यवसायीहरु विभिन्न झण्झट र जटिलता व्यहोर्नुपरेकोले अन्तर सरकारी निकायहरुबीच समन्वय हुनुपर्नेमा व्यवसायीको टोलीले जोड दिएका छन् ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले वीरगञ्ज उवासङ्घबाट प्रस्तुत सुझावलाई सकारात्मक रुपमा लिएको बताएका छन् । उनले राजश्व अनुसन्धान सम्बन्धी नीतिगत एवं व्यवहारिक समस्यालाई समय सापेक्ष समाधान गर्दै जाने आश्वासन दिए । उद्योगी व्यवसायीहरुलाई भीसीटीएसबारे जानकारी दिलाउन मोफसलमा तालिम सञ्चालन गर्ने आश्वासन उनले दिएका छन् ।
प्रतिक्रिया 4