+
+

कांग्रेसबाट को बन्लान् काठमाडौंमा मेयरका उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १२:४३

८ चैत, काठमाडौं । संघीय राजधानी रहेको काठमाडौं महानगरको मूल नेतृत्व सम्हाल्न कांग्रेसबाट आधा दर्जन जिल्ला नेता आकांक्षी देखिएका छन् ।

आकांक्षीमध्ये तीर्थराम डंगोल र हरिप्रभा खड्गीलाई बलियो दाबेदार मानिएको कांग्रेस नेताहरू बताउँछन् । ‘हरिप्रभा र तीर्थराममध्ये एक जना मेयरको उम्मेदवार हुनुहुन्छ’, काठमाडौं-६ का सांसद भीमसेनदास प्रधान भन्छन्, ‘पार्टी सभापतिले तीर्थराम डंगोललाई उठाउनपर्छ भनिसकेको छु, उहाँले तयार हुन भन्नुस् भनिसक्नुभएको छ ।’

पूर्वराज्यमन्त्री डंगोल काठमाडौं कांग्रेसको कोषाध्यक्ष हुँदै जिल्ला सभापति बनेका थिए । उनी सभापति देउवासँगै नेता कृष्णप्रसाद सिटौलासँग पनि निकट छन् । २०७४ सालमा पनि उनी मेयरका दाबेदार थिए ।

यो पटक पनि उनी दाबेदार हुन् । तर कांग्रेसको काठमाडौं राजनीतिमा नेता प्रकाशमान सिंह हाबी छन् । त्यसैले मेयरको टिकट हात पार्न डंगोलले सिंहको पनि साथ पाउनुपर्ने हुन्छ । नेता सिंहले भने महानगरकै उपमेयर हरिप्रभा खड्गीलाई मेयरमा अघि सार्न खोजेका छन् । प्रधान भन्छन्, ‘प्रकाशमान सिंहले पत्नी सिर्जना सिंहलाई उपमेयरको उम्मेदवार बन्ने अवस्था आए डंगोललाई स्वीकार्नु होला जस्तो लाग्छ ।’

डंगोललाई सिंहले स्वीकार नगर्ने र खड्गीलाई उम्मेदवार बनाउन देउवा तयार नभए तेस्रो विकल्पको खोजी हुनसक्ने जिल्ला तहका एक नेता बताउँछन् ।

त्यो बेला सपना जोशीको सम्भावना हुन्छ । जोशी दिवंगत नेता नवीन्द्रराज जोशीकी पत्नी हुन् ।

कांग्रेसका काठमाडौं सभापति सबुज बानियाँ भने सांसद भीमसेनदास प्रधानलाई नै मेयरमा अघि सार्न चाहन्छन् । बानियाँ निकट एक जिल्ला तहका नेताले भने, ‘भीमसेन दाइ मेयरमा उठ्नुभयो भने सबुज दाइलाई काठमाडौं-६ बाट सांसदको टिकट पाउने बाटो खुल्छ ।’ प्रधानले भने सांसद पद त्यागेर महानगरको प्रमुखमा उम्मेदवारी दिने रुचि नभएको बताएका छन् ।

अरु पनि छन् मेयरका आकांक्षी

बायाँबाट क्रमश: प्रगतिमान रञ्जित, राजुराज जोशी, मुकुन्द रिजाल र नीलकाजी शाक्य ।

काठमाडौं महानगरको प्रमुख उम्मेदवार बन्ने दौडमा राजुराज जोशी, नीलकाजी शाक्य, सुशन वैद्य, प्रगतिमान रञ्जित, मुकुन्द रिजाललगायत छन् ।

जोशी अघिल्लो निर्वाचनमा पराजित भएका थिए । काठमाडौं २५ का वडाध्यक्ष शाक्य काठमाडौं महानगरको कांग्रेस सभापति हुन् । वैद्य महानगरपालिकाका सचिव हुन् । रिजाल वडा नम्बर १६ का वडाअध्यक्ष पनि हुन् ।

जोशी, शाक्य र रिजाल नेता प्रकाशमान सिंह निकट हुन् । रञ्जित सभापति देउवा पक्षधर हुन् भने वैद्य महामन्त्री गगन थापा निकट छन् । ‘महानगरको प्रमुखमा आकांक्षी धेरै नै हुनुहुन्छ । युवापुस्ताबाट उम्मेदवार बनाउनुपर्छ भन्ने आवाज पनि उठेको छ’, प्रमुखका आकांक्षी वैद्यले भने ।

महानगरको प्रमुख र उपप्रमुखको टिकट वितरण गर्ने अधिकार केन्द्रीय संसदीय समितिलाई छ । महानगर समितिले सिफारिस गरेका तीन नाम (एक महिला अनिवार्य) मध्येबाट केन्द्रले उम्मेदवार चयन गर्नेछ । चैत ११ मा बस्ने केन्द्रीय समिति बैठकले संसदीय समिति गठन गर्नेछ भने आसन्न निर्वाचनमा तालमेल गर्ने/नगर्ने निर्णय पनि लिनेछ ।

गत निर्वाचनको समीकरण र मत परिणाम

काठमाडौं महानगरको प्रमुखमा नेकपा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मतसहित विजयी भएका थिए । काठमाडौं महानगरमा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो । शाक्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए ।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्की ५८ हजार ९५२ सहित विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वीराजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरी पराजित बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?