+
+

पाँचपोखरीको प्राथमिकता पर्यटन, शिक्षा र स्वास्थ्यमा

सडकलाई मात्र महत्वपूर्ण नठानी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढेको हुँदा अहिले नतिजा देखिन थालेको लामाले बताए । याङी र पाँचपोखरी पर्यटनमार्ग बनाइएको छ । यी दुवै कच्ची सडकको स्तरोन्नतिको काम हुँदैछ । पाँचपोखरी चक्रपथको विकास गरी तीव्ररूपमा स्तरोन्नतिको काम भइरहेको छ ।

रासस रासस
२०७८ चैत ९ गते १२:०८

९ चैत, सिन्धुपाल्चोक। भ्रमण वर्ष मनाउन छानिएका १०० पर्यटकीय गन्तव्यमध्ये पाँचपोखरी पनि एक हो । समुद्र सतहबाट करिब चार हजार १५० मिटर उचाइमा अवस्थित पाँचपोखरीको प्राकृतिक सौन्दर्य मनमोहक छ । काठमाडौँबाट नजिकको सुन्दर गन्तव्य हो पाँचपोखरी ।

सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्रका रूपमा पाँचपोखरी थाङ्पाल गाउँपालिका परिचित छ । पाँचपोखरी नै चर्चित र रमणीय पर्यटकीय क्षेत्र भएकाले यो विशेष छ । यसैका नामबाट गाउँपालिकाको नाम राखिएको हो ।

जति सम्भावना छ, त्यति विकास भने हुनसकेको छैन । जिल्लाका १२ स्थानीय तहमध्येको पाँचपोखरी थाङ्पाल गाउँपालिका उच्च हिमाली दूरदराजमा पर्ने गाउँपालिका हो । यो गाउँपालिकामा २०७२ सालको भूकम्पले धेरै क्षति पुर्‍यायो । त्यो अवस्थाबाट जिम्मेवारी वहन गर्नुपरेकाले चुनौती रहेको गाउँपालिका अध्यक्ष टासी लामा बताउँछन् ।

दोस्रो चुनौती स्थानीय तहमा जनशक्तिको अभाव हो । सबै ऐन, कानुनको अभाव, कोरोना महामारी, बाढीलगायतको सामाना गर्नुपरेकाले सबै काम पूरा हुन नसकेका लामा बताउँछन् ।

स्थानीय स्रोत साधनको प्रयोग गरी केही महत्वपूर्ण काम अघि बढाएको उनले बताए ।  भूकम्पपछिको पुनःनिर्माण, आवास, स्वास्थ्य, शिक्षा, सेवा प्रदायक संस्थाको भवन निर्माण, विद्युत् प्रसारण लाइनको काम गरिएको उनले बताए ।

सडकलाई मात्र महत्वपूर्ण नठानी शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, पर्यटन र युवालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि बढेको हुँदा अहिले नतिजा देखिन थालेको लामाले बताए । याङी र पाँचपोखरी पर्यटनमार्ग बनाइएको छ । यी दुवै कच्ची सडकको स्तरोन्नतिको काम हुँदैछ । पाँचपोखरी चक्रपथको विकास गरी तीव्ररूपमा स्तरोन्नतिको काम भइरहेको छ ।

गुणस्तरीय शिक्षामा जोड दिइएको गाउँपालिकाका विद्यालय निरीक्षक उत्तममणि पौडेल बताउँछन् ।  विसं २०७२ को भूकम्पले विद्यालयका भौतिक संरचना पूर्णरूपमा ध्वस्त बनाएकाले भूकम्प प्रतिरोधात्मक भवन भवन निर्माण सम्पन्न गरिएका छन् । विद्यालय ‘मर्ज’ गर्ने अभियानमा रहेको पौडेलले बताए । चार विद्यालय मर्ज गरी थाङ्पाल भ्याली विद्यालय नामाकरण गरी सञ्चालन गरिएको छ ।

पालिकाले विद्यालय करेसाबारीको कार्यक्रम अघि बढाएको छ । कक्ष १ देखि ८ सम्मको हाम्रो पाँचपोखरी पाठ्यक्रम र कक्षा १ देखि ३ सम्म मेरो पाँचपोखरी पाठ्यपुस्तक प्रकाशन गरी अध्यापन गराइँदै छ ।

मातृभाषा शिक्षाअन्तर्गत गुम्बा शिक्षाबारे ऐच्छिक रूपमा विद्यार्थीले अध्ययन गरिरहेका छन् । पाँच विद्यालयमा एक–एक विद्यालय नर्सको व्यवस्था गरिएको प्रमुख प्रसासकीय अधिकृत दिनेशकुमार पोखरेलले बताए । आर्थिक समृद्धिका लागि गाउँपालिकालाई पर्यटनको हब बनाई पर्यटन व्यवसायलाई जनताको जीवनस्तरसँग जोड्ने काम भइरहेको छ ।

पाँचपोखरीसँगै आमा याङी, डाइग्रन गुफा, दूधपोखरी, पेमाछल उद्यान केन्द्र, रैथानेश्वरी, च्योज्यो डाँडा, हबेली नौलिङ्गेश्वरी, जुगल हिमशृङ्खला, दोर्जे ल्याक्पा हिमाल, युवा पिक, पाँचपोखरी पिक, तिलमानपासलगायत पर्यटकीय ठाउँको विकास भइरहेको छ । रक क्लाम्बिङ र प्याराग्लाइडिङको सफल परीक्षण गरिएको उपाध्यक्ष सुनिता अधिकारीले बताइन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?