
काठमाडौं । कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाको उपस्थितिमा वर्ल्डलिंकले तीन शहरमा कन्सर्ट आयोजना गर्ने भएको छ ।
इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका अनुसार काठमाडौं, पोखरा र चितवनमा कन्सर्ट आयोजना गरिने भएको हो । कीर्तिमानी आरोही तथा चर्चित डकुमेन्ट्री ‘१४ पिक्स’का निर्मल पुर्जाको उपस्थितिमा कन्सर्ट आयोजना गर्ने भएको हो ।
कम्पनीले १० चैत चितवनमा तथा १२ चैतमा पोखरा र काठमाडौंमा ‘ १० कार्निभल २.०’ आयोजना गर्ने भएको हो । अहिले बेलायतमा रहेका पुर्जा १० चैतमा नेपाल आइपुग्ने छन् । सोही दिन गृहनगर चितवन महानगरपालिकाले उनको सम्मानमा नगर परिक्रमासहित विशेष कार्यक्रम आयोजना गर्दैछ ।
नारायणी नदीको तिरमा साँझ साढे ४ बजेदेखि हुने उक्त कार्यक्रमलाई वर्ल्डलिंकले मुख्य प्रायोजन गर्नेछ । त्यसक्रममा निर्मल पुर्जाको साथमा ठूलो स्क्रिनमा ‘१४ पिक्स’ डकुमेन्ट्री हेर्ने कार्यक्रम समेत राखिएको छ । चितवनमा हुने कार्यक्रममा राजु लामा र स्वप्निल शर्माको गायन प्रस्तुती समेत रहनेछ ।
१२ चैतमा एकैदिन पोखराको मितेरी पार्क र काठमाडौंको भृकुटीमण्डपमा ‘वर्ल्डलिंक कार्निभल फेस्ट २.०’ आयोजना हुनेछ । बिहान ११ बजेदेखि नै सुरु हुने दुवै कार्यक्रममा निर्मल पुर्जाको उपस्थिति रहने र उनले आफ्नो भनाइ समेत राख्ने कार्यक्रम छ । कन्सर्ट बेलुकी ८ बजेसम्म चल्ने वर्ल्डलिंकले जनाएको छ ।
काठमाडौंमा हुने कार्यक्रममा स्वप्न सुमन, सविन राई एन्ड फरोजको प्रस्तुति, बिनु शाक्यको नृत्य, सुमन कोइरालाको स्यान्डअप कमेडी रहनेछ ।
पोखरामा हुने कार्यक्रममा सुशान्त केसी एन्ड द ब्याङ्गर्स र प्रवेशकुमार श्रेष्ठको प्रस्तुती, सजन श्रेष्ठको स्ट्यान्डअप कमेडी, क्रिस्टल कलाज डान्स क्र्युको नृत्य आदि समावेश छन् ।
‘वर्ल्डलिंक कार्निभल २.०’ मा बेली डान्स, गेम जोन, फुड जोन, किड्स प्ले जोन, फेस पेन्टिङ लगायतका आकर्षण समेत पाउन सकिने कम्पनीले जनाएको छ । कन्सर्टमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । पुर्जा वर्ल्डलिंक कम्युनिकेसन्सका ब्रान्ड एम्बेस्डर समेत हुन् ।
प्रतिक्रिया 4