+
+

निर्वाचन आयोगले तदारुकता देखाएको भए ओली पार्टीविहीन हुने थिए : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते १४:४८

१० चैत, चितवन । नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगले तदारुकताका साथ काम गरेको भए केपी शर्मा ओली पार्टीविहीन हुने बताएका छन् ।

तत्कालिन नेकपाको ७० प्रतिशत आफूहरुको साथमा रहेको भन्दै प्रचण्डले निर्वाचन आयोगले तदारुकताका साथ सनाखत गरिदिएको भए ओली पार्टी विहीन हुने बताएका हुन् ।

चितवनको माडीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले भने, ‘पोलिटिकल्ली हामीले जित्यौं, संगठनात्मक रुपमा पनि हामीले जितेको हो तर कानुनका नौसिङ भनेजस्तै अदालतबाट र निर्वाचन न आयोगबाट सनाखत नगदिरिएको हुनाले बडो षड्यन्त्रमूलक र अपादर्शी तरिकाले हामीलाई दुई ठाउँमा बनाइएको मात्र हो ।’

उनले अघि भने, ‘निर्वाचन आयोगले तदारुकताका साथ तुरुन्त सनाखत गरिदिएको भए आज एमाले भन्ने पार्टी रहने थिएन, सूर्य चिह्न रहने थिएन, केपी ओली पार्टीविहीन हुने थिए ।’

आफूहरुले राजनीतिक र संगठनात्मक रुपमा परिस्थिति बनाए पनि अन्तर्राष्ट्रिय षड्यन्त्र र निर्वाचन आयोगको नियोजित क्रियाकलापले मात्र अर्को परिस्थिति बनेको प्रचण्डले बताए ।

देशभरका पार्टीका नेता कार्यकर्ता निर्वाचन गठवन्धन कुरेर बसेको भन्दै प्रचण्डले गठवन्धनको भर नपरेर आफ्नै खुट्टामा उभिन कार्यकर्तालाई अपिल गरिएको बताए ।

‘गठवन्धनको भर परेर हुँदैन, आफ्नै तागतले चुनावमा जानुपर्छ, गठवन्धन होला भनेर काम नगर्ने, अरुले भोट दिएर जितौला भन्ने सोच राख्नु गलत हुन्छ’ प्रचण्डले भने, ‘तालमेल अझै पनि निष्कर्षमा पुगेको छैन, आउने निर्वाचनमा माओवादी केन्द्रको लागि आउने जाने निर्वाचनमात्रै हैन यो एउटा ब्याटल हो ।’

उनले निर्वाचन पछि माओवादीको विषेश महाधिवेशन गरेर समाजवादी राजमार्ग फराकिलो पारिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?