+
+

…अनि रंगमञ्चतिर मोडियो पाइला

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ चैत १३ गते १७:३२

काठमाडौं । ‘नाट्य रुपान्तरण र निर्देशनको भूमिका मेरा लागि बोनस भए, कलाकार बन्न आएको मैले त सोचेभन्दा धेरै हात पारिसकेछु,’ उनी आफैंमा उत्साहित हुन्छन् । मान्छेको लक्ष्य नै असीमित हुन्छ, एउटा लक्ष्य पूरा भएपछि फेरि अर्कोको सुरु भइहाल्ने । त्यही असीमित लक्ष्यको भूमरीमा घुम्दैघुम्दै नाटक घरमा ‘अलराउन्डर’ भूमिकामा भेटिन्छन् उनी ।

यो कथा इँगी होपो कोइँच सुनुवारको हो । सामान्य कलाकारको भूमिका निभाउँछु भनेर नाटकको दुनियाँमा छिरेका उनी कहिले स्टेजमा कला प्रदर्शन गर्दैगर्दा भेटिन्छन्, त कहिले स्टेज डिजाइनमा आफ्नो कला पोखिरहेका हुन्छन् । कहिले कस्ट्युम डिजाइनमा कपडाको रंगलाई कथासँग दाँजिरहेका हुन्छन् । कहिले नेपथ्यमा बसेर प्रकाश व्यवस्थापनमा लाग्छन् । नेपथ्यदेखि स्टेजसम्म, कलाकारितादेखि निर्देशनसम्मका जहिले जतासुकै पनि भेटिन्छन्, इँगी होपो ।

उनी एक दशकअघिसम्म सहकारीमा एकाउन्टेन्टको काम गर्थे । सहकारीमा काम गर्दैगर्दा उनलाई लाग्थ्यो कि पैसा त जसले जसरी पनि कमाउन सक्छन् । तर आनन्द पैसाले मात्रै किन्न सकिन्न । आफ्नो जीवनमा पूर्ण खुसी पाउन उनले वित्तीय क्षेत्रभन्दा कलाकारिताको बाटो उपयुक्त देखे । ‘गुजारा त अनिवार्य भइहाल्यो, मानसिक सुखको लागि त कला नै अचुक उपाय रहेछ,’ उनी भन्छन् ‘कुरा स्नातक पढ्दै गर्दाको हो । म कार्यालय सकेर बिस्तारै सिनेमा र नाटकघरतिर आकर्षित हुन थाले ।’

नाटकको एउटा सामान्य कलाकार बन्ने सोच लिएर यो क्षेत्रमा आएका उनले कलाकार, स्टेज डिजाइनर, निर्देशक हुँदै नेपथ्यका विभिन्न भूमिका निर्वाह गरिसकेका छन् । ‘पचली भैरव’ नाटकबाट त उनी नाट्य रुपान्तरणको भूमिकाको काममा समेत प्रवेश गरेका छन् ।

उमेरले तीन दशक नाघेका इँगी होपोमा एक दशकअघि कलाको ‘भूत’ चढेको हो । काठमाडौंमै जन्मिए पनि स्थायी घर सिन्धुली भएका उनमा २०६७/६८ तिरसम्म कला क्षेत्रमा खास रुचि थिएन । एकपटक साथीहरुसँग रसियन कल्चर सेन्टरमा प्रदर्शन हुन लागेको नाटक हेर्न पुगेका उनलाई नाटकप्रतिको आकर्षण बढ्यो । त्यो नै उनले जीवनमा हेरेको पहिलो नाटक थियो ।

गुरुकुलमा प्रदर्शन भएको ‘सुइना कर्णाली’ हेरेपछि नाटकप्रति उनको आकर्षण प्रेममा बदलियो । प्रेम आकर्षणपछिको बलियो र दिगो चरण हो । त्यही रसियन कल्चर सेन्टरको नाटक र सुइना कर्णाली नै उनको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो । उनको मनमा कलाकारिताको भूत चढ्यो । समय मिलाएर आफैं पनि नाटक हेर्न जान थाले । बिस्तारै उनले आफैं कलाकार बनेर स्टेजमा कला प्रदर्शन गर्ने सोच बनाए ।

उनी दर्शक बनेर जब थिएटर पुग्थे, स्टेजमा उभिएको कलाकारको रपमा आफूलाई पनि मान्थे । एक हिसाबले भन्दा उनी कलाकारिताप्रति एकोहोरो भइसकेका थिए । ‘मैले नाटक हेर्दैगर्दा एउटा अठोट गरेको थिएँ कि म कुनै दिन कुशल कलाकार भएर निस्कन्छु । त्यसपछि म आफूले गर्दै आएको कर्मलाई भन्दा नाटक सिक्नेतिर धेरै समय बिताउन थालें ।’

त्यतिबेला गुरुकुल नाटक घरले नाटक सिकाउँथ्यो । उनले सिक्ने तयारी गर्दैगर्दा गुरुकुल बन्द हुने हल्ला चल्यो । उनमा नाटकको नसा बढ्दै थियो । नाटक सिक्ने एउटा प्लेटफर्म बन्द हुँदा उनले बेसहारा महसुस गरे । तर पछि मण्डला थिएटर खुल्यो, मण्डलामा पनि अभिनय सिकाउन थालियो । इँगीले प्लेटफर्म पाए । पहिलो र दोस्रो ब्याचमा आफ्नै कारणले उनी सहभागी हुन पाएनन् । तेस्रो ब्याचमा उनी पनि मण्डलामा भर्ना भए ।

नाटकघरको साढे ७ वर्षे यात्रासम्म आइपुग्दा झण्डै २० वटा नाटकमा कलाकारको रुपमा भूमिकामा खेलिसकेका छन् । उनले १०० वटा जति नाटकमा विभिन्न भूमिकामा नेपथ्यमा बसेर काम गरे । पछिल्लो समय उनी नाट्य रुपान्तरण र निर्देशनमा पनि पाइला चाल्न थालेका छन् ।

जार’मा मुखियाको भूमिकाले बसालेको जग

उनलाई गुरुकुल नाटकघरले कला क्षेत्रमा आकर्षित गर्‍यो । तर यसमा जग बसाउने काम भने मण्डलाले गर्‍यो । उनी मण्डलाको नाटक सिक्ने तेस्रो ब्याजी हुन् । उनको पालामा ब्याजी कलाकारलाई थिएटरमै अभ्यास गर्न दिइन्थ्यो । उनीहरुको अभ्यासको लागि इन्द्रबहादुर राईको कथा ‘जार’ को प्रदर्शन गरिंदै थियो । निर्देशक थिए सुनिल पोखरेल । पोखरेलले उनलाई मुखियाको भूमिका दिएका थिए । ‘कथामा राई पात्रहरु बढी थिए, त्यसैले मलाई मुखियाको भूमिका उपयुक्त देखेर पनि दिनुभएको हुन सक्छ,’ उनी भन्छन्, ‘पहिलो भूमिकामा धेरै कमजोरी त पक्कै भए होलान्, आलोचना भने धेरै आएन ।’

इँगी होपो पहिलो नाटकमै सुनिल पोखरेलसँग खेल्न पाएकोमा गर्व गर्छन् । ‘त्यसपछि सुनिल सरसँगै खेल्न पाएको छैन । मलाई फेरि पनि उहाँसँग अभिनय गर्न मन छ । पहिलो अभिनयबाट अहिलेसम्म कति सुधार्न सकें त्यो सोध्न पनि मलाई उहाँसँग अभिनय गर्न मन छ,’ उनी भन्छन् ।

खलपात्रको भूमिका दर्शकले स्वीकार्दैनन्

उनले अभिनय गरेकामध्ये खलपात्रको भूमिका निर्वाह गरेको पहिलो नाटक हो, एनिमल फार्म । सोझा जनावरलाई छल गरेर शक्तिमा उदाउनु, शक्तिमा हुँदाको उन्माद देखाउनु र अरुलाई झुक्याएर उनीहरुमाथि शासन गर्नु यस नाटकका मुख्य खलपात्र केपोलियनको प्रवृत्ति हो । त्यही भूमिकामा इँगी होपोले जीवन्त अभिनय गरे ।

जर्ज ओर्बेलद्वारा लिखित उपन्यास ‘एनिमल फार्म’मा उनको भूमिकालाई धेरैले मन पराए । तर कतिले उनको नकारात्मक चरित्रलाई स्वीकारेनन् । ‘दर्शकले खलपात्रको भूमिका स्वीकार्दैनन्, तर हामीले खेल्न छाड्नु हुँदैन ।’ उनी त्यो चरित्र आफ्नो व्यवहारमा उत्रिन्छ कि भन्नेमा भने सचेत छन् । उनी अगाडि भन्छन्, ‘पटकपटक खलपात्रको भूमिकामा खेलिरहँदा त्यो प्रवृत्ति आफैंमा नदेखियोस् भन्नेमा म बढी सजग थिएँ ।’

समाजले खलपात्रको भूमिकामा खेल्दा कलाकारलाई गाली गर्छन् । उसको कलामा भन्दा उसको चरित्रलाई लिएर बढी प्रतिक्रिया आउँछन् । यो इँगी होपोको पछिल्लो नाटक केपोलियनमा फार्मका जनावरमध्येको धूर्त जनावरको भूमिकामा थिए । ‘दयालु रुख’को भूमिकाबाट चर्चा बटुलेका उनीसँग केपोलियनको भूमिकासम्म आइपुग्दा भने केही दर्शक बिच्किए । कारण थियो खलपात्रको भूमिका । ‘कतिले त अभिनय देखेर अंकमाल गर्न पनि आउनुभयो, कतिपयले चाहिं स्टेजमै गएर पिट्न मन थियो भन्ने प्रतिक्रिया समेत दिनुभएको थियो,’ उनी सम्झन्छन् । उनी फरक भूमिकामा रमाउँछन्, फरक भूमिकाले कलामा निपूर्ण बनाउँछ भन्ने उनको सोच छ । उनको हरेक कथामा फरकफरक भूमिका छ । भूमिका जति अलग भयो उति अभिनयमा मज्जा आउने सुनाउँछन् इँगी होमो ।

१० वर्षे जनयुद्धमा बेपत्ता पारिएका आफ्नो छोराको पर्खाइमा रहेको चौधरी बाबु बनेर खेलेको नाटक ‘आधा सत्य’, किंवदन्तीमा रहेको पचली भैरवको कथा जस्ता नाटकमा मानवीय संवेदना एवं स्थानीयको विश्वासलाई समेट्न एवं सम्भावित विवादबाट बच्न निकै मेहनत गर्नुपरेको उनी सुनाउँछन् । मेहनत बढी गर्नुपरे पनि फरकफरक भूमिकाले कला पक्षलाई भने निपूर्ण बनाउँदै लगेकोमा खुसी लागेको उनी सुनाउँछन् ।

मोफसलका नाटकघरको अनुभव

काठमाडौंमा मात्रै होइन, मोफसलमा पुगेर पनि उनले धेरै अभिनय गरेका छन् । नेपथ्यमा पनि आफ्नो पौरख पोखेका छन् । तुलनात्मक रुपमा व्यवस्थित काठमाडौंका नाटकघरदेखि कमजोर पूर्वाधार रहेका मोफसलका नाटकघरसम्म उनले काम गरेका छन् । मोफसलमा उनी नाटकको अवस्था एकदमै कमजोर देख्छन् । ‘पहिलो कुरा त मोफसलमा नाटकको लागि पूर्वाधारको कमी छ, दोस्रो भनेको नाटकप्रति आकर्षण बढाउनै बाँकी छ,’ उनी भन्छन् । सिन्धुलीको आफ्नै गाउँमा गएर नाटक देखाउने उनको अर्को चाहना छ । तर पातलो बस्ती र नाटकप्रतिको आकर्षणमा कमी आउँदा यो अनुभव पूरा गर्न नसकिएको उनी सुनाउँछन् ।

अबको लक्ष्य फिल्म

नाटकको एउटा सामान्य कलाकार बन्ने सोच लिएर यो क्षेत्रमा आएका उनले कलाकार, स्टेज डिजाइनर, निर्देशक हुँदै नेपथ्यका विभिन्न भूमिका निर्वाह गरिसकेका छन् । ‘पचली भैरव’ नाटकबाट त उनी नाट्य रुपान्तरणको भूमिकाको काममा समेत प्रवेश गरेका छन् । नाटकको विभिन्न विधामा आफूलाई प्रस्तुत गरिसकेका उनी अब फिल्ममा पनि आफ्नो कला देखाउने सोच बनाउन थालेका छन् ।

अहिले उनी नेपाली सेनाले आयोजना गर्ने प्रदर्शनीको लागि छोटो फिल्म निर्माणमा व्यस्त छन् । ‘सेनाको चेली’को कथालाई नेपाली सेनाले उत्कृष्ट १० को सूचीमा समेत पारेपछि उनले त्यसको छायांकनको काम पनि सकेका छन् ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?