+
+

आफैंले प्रयोग गर्न सकिने यी स्वास्थ्य उपकरण र औषधिलाई घरमै राख्‍नुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १४ गते १७:५५

काठमाडौं । हरेक स्वास्थ्य समस्यामा चिकित्सकको निर्णय नै अन्तिम र सत्य हुने गर्छ । तर कतिपय स्वास्थ्य समस्या सामान्य र घरमै आफैं उपचार गर्न सकिने हुन्छन् ।

आफैंले घरमा प्रयोग गर्न सकिने स्वास्थ्य उपकरण राख्न सके सामान्य उपचारकै लागि अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नुपर्दैन । यसबाट तनाव कम भई स्वास्थ्यमा केही सुधारसमेत  ल्याउन सकिन्छ ।

घरमै प्रयोग गर्न मिल्ने स्वास्थ्य उपकरण

थर्मामिटर

ज्वरोको मापनका लागि थर्मामिटर आवश्यक पर्छ । पहिले मर्करीयुक्त थर्मामिटर प्रयोगमा रहेपनि विश्व स्वास्थ्य संगठनले बन्देज लगाएपछि बजारमा अहिले डिजिटल थर्मामिटर पाइन्छ । ज्वरो आएको बेला अधिकतम तापक्रम रेकर्ड गर्न सकिए यसले रोग पहिचान गर्न र त्यसबाट पार पाउन मद्दत गर्छ । थर्मामिटरको बजार मूल्य एक सय रुपैयाँदेखि सुरु हुन्छ ।

ग्लुकोमिटर

मधुमेह अर्थात् सुगर भएका बिरामीको घरमा ग्लुकोमिटर राख्ने गरिन्छ । यसबाट रगतमा सुगरको मात्रा जाँच गरिन्छ । ग्लुकोमिटरको मद्दतले डाइबिटिजका साथै अन्य रोगको जोखिमबारे सतर्कता अपनाउन सकिन्छ । यसको बजार मूल्य १ हजार ५०० देखि २ हजार रुपैयाँसम्म रहेको छ ।

अक्सिजन कन्सन्ट्रेटर र नेबुलाइजर

अक्सिजन कन्सन्ट्रेटर हावामा भएको अक्सिजनलाई एकीकृत गर्ने विद्युतीय उपकरण हो । घरमा दमका बिरामी भए अक्सिजन कन्सन्ट्रेटर वा अक्सिजन सिलिन्डर राख्नु आवश्यक हुन्छ । अक्सिजन सिलिन्डर भन्दा कन्सन्ट्रेटर थोरै महंगो पर्छ । नेबुलाइजर राख्नसके बिरामी घरमै गम्भीर भएपनि सहज हुनसक्छ ।

अक्सिजन कन्सन्ट्रेटर प्रयोग गरेर अक्सिजन लिने नलिनेबारे निर्णय लिन सकिन्छ । नेबुलाइजर एक चिकित्सकीय उपकरण हो । यसको माध्यमबाट तरलजन्य औषधिलाई बाफ बनाइ बिरामी तथा बालबालिकालाई खुवाउन सकिन्छ । औषधिलाई श्वासप्रश्वासको माध्यमबाट शरीरभित्र पु¥याउन यसको प्रयोग गरिन्छ ।

बिरामीले सास फेर्न नसक्दा यसको प्रयोग गरेर केही राहत पाउन सकिन्छ ।

ब्लड प्रेसर सेट

धेरैजसो सर्वसाधारण ब्लड प्रेसर वा रक्तचापको समस्याबाट ग्रसित छन् । स्वास्थ्यका दृष्टिकोणले उच्च रक्तचाप र न्यून रक्तचापलाई राम्रो मानिंदैन । रक्तचाप ठीक हुनु अति आवश्यक छ ।

अहिले बजारमा डिजिटल ब्लड प्रेसर सेट उपलब्ध छ । जुन प्रयोग गर्न विशेष ज्ञानको आवश्यकता पर्दैन । सर्वसाधारणले पनि यसको प्रयोग गर्न सक्छन् । यसको मूल्य ३ हजारदेखि ४ हजार ५ सय रुपैयाँसम्म पर्छ ।

वेइङ स्केल

अत्यधिक तथा न्यून तौल स्वास्थ्यका लागि राम्रो मानिंदैन । अचानक तौल बढ्नु र घट्नुमा विभिन्न प्रकारका स्वास्थ्य समस्या हुन सक्छन् ।

विनाकारण तौलमा अनावश्यक घटबढ भए चिकित्सकको सल्लाह लिनुपर्छ । तौल नाप्ने वेइङ स्केलको माध्यमबाट नियमित तौल जाँच गर्न सकिन्छ । उमेर अनुसारको तौल र तौल अनुसारको उमेर नभए स्वास्थ्य परामर्श लिनु आवश्यक हुन्छ । घरमै यो मेसिन राख्दा गम्भीर प्रकृतिका रोग लाग्नुभन्दा पहिल्यै बच्न सकिन्छ ।

प्राथमिक उपचार किट

घरमा सामान्य औषधि उपचार बाहेक प्राथमिक स्वास्थ्य उपचार किट हुनु आवश्यक छ । उक्त किटमा घाउ, चोट लाग्दा प्रयोग हुने ब्यान्डेज, कटन, गज र डेटोलजन्य सामग्री हुन्छन् ।

प्राथमिक उपचार किटले बिरामी अर्थात् घाइतेलाई अस्पताल पुर्‍याउँदासम्म दुखाइ कम गर्ने, रगत बग्न नदिने तथा सहज अनुभव गराउने जस्ता काम गराउँछ । प्राथमिक उपचारका लागि चाहिने  न्यूनतम सबै सामग्रीसहितको किट करिब एक हजार रुपैयाँमा पाइन्छ ।

ज्वरो र दुखाइ कम गर्ने औषधि

पारासिटामोल, आइबुप्रोफिन लगायतका ज्वरो र दुखाइ कम गर्न प्रयोग हुने सामान्य औषधि, महिनावारी हुँदा दुखाइ कम गर्ने औषधि र जीवनजल आदि औषधि घरमा राखिरहनुपर्छ ।

यस्ता औषधि घरमा हुँदा तनाव कम हुने मात्रै नभई समयको समेत बचत हुन्छ । तर यस्ता औषधिको मात्रा बढी नै चाहिएको छ भने स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?