+
+
टिपर आतंक :

सृष्टि र श्रेया स्कुल पुग्नै पाएनन्

अंगद सिंह अंगद सिंह
२०७८ चैत १६ गते २०:४५

१६ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल नयाँपाटीको साँघुरो गल्लीमा एउटा टिपर रोकिएको छ । टिपरको अगाडिको चक्का मुनि सेतो कपडाले ढाकेको एउटा शव छ अनि पछाडिको चक्का मुनि अर्को शव ।

नयाँपाटीको यो दृश्यले जो–कोहीलाई निःशब्द बनाउँछ ।

यी शव दुई कलिला नानी सृष्टि र श्रेया घिसिङका हुन् जो बुधबार बिहान स्कुल जान भनेर हिंडेका थिए । तर स्कुल पुग्न पाएनन् ।

सृष्टि नौ वर्षकी थिइन् । उनी वर्ल्ड युथ इन्टरनेशनल स्कुलमा कक्षा तीनमा पढ्थिन् भने चार वर्षकी श्रेया एलकेजीमा ।

उनीहरुको झोला त्यहीं टिपरमुनि छ । उनीहरुलाई मोटरसाइकलमा स्कूल पुर्याउन हिंडेका उनीहरुका बाबा नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचाररत छन् ।

टिपरको छेउमा रोइरहेकी छन् रोहनकी भाउजू तथा मृतक नानीहरुकी ठूलीआमा निरुता घिसिङ । रुँदारुँदा उनका आँखा सुन्निएका छन् ।

उनका आँखामा सृष्टि–श्रेयाको तस्वीर नाचिरहेको छ । उनीहरुले ठूलीआमा भनेको स्वर कानमा गुञ्जिरहेको छ । ‘कसरी हेरुँ म दुई छोरीको शव ? अब कसले भन्छ मलाई ठूलीआमा ? मेराे सास रोकिएला जस्तो भइरहेको छ । कसरी जाउँ म उनीहरु नजिक ?’ सुँक्कसुँक्क गर्दै निरुता भन्छिन् ।

‘यी कलिला नानीहरुले कसको के बिगारेका थिए र ? यसले ब्याक गरीगरी कुल्चेर मार्यो’ उनी गुनासो गर्छिन् ।

रोहनकी श्रीमती हुन् विनिता तामाङ । विनिताको संसार उजाडिएको छ । न सन्तान रहे, न श्रीमान सद्दे ।

दुर्घटना भएको बेला निरुता छोराका लागि औषधि लिन आएकी थिइन् । टिपरले बाइक हान्यो रे भन्ने सुनेर घटनास्थल पुग्दा उनकै अगाडि दुई छोरीले शव थियो । देवर रोहन बेहोस ।

उनले देवर रोहनलाई बाबु–बाबु भन्दै बोलाइन् । रोहन बोल्न सकेनन् । रोहन बोल्छन् कि भनेर निरुताले पानी छम्किइन् । पानी छम्किंदा रोहनले सुँक्कसुँक्क गरे । घटनास्थलमा आइपुगेका स्थानीय बासिन्दाले गाडीमा हालेर रोहनलाई अस्पताल लगे ।

रोहन र विनिता ज्याला मजदुरीको काम गर्थे । रोहन केही समयअघि मलेसियाबाट फर्किएका थिए ।

****

बिहान आठ बजे खान खाएर आमालाई बाई भन्दै बुबाले चलाएको बाइक पछाडि बसेका थिए यी नानीहरु । नयाँपाटीको साँघुरो गल्लीमा टिपरले ठक्कर दियो । दुई नानीको घटनास्थलमा नै प्राणपखेरु उड्यो ।

घाइते भएका उनीहरुका बाबाको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।

बा ४ ख ६९६८ नम्बरको टिपरको ठक्करबाट स्कुल जाने बेला बालिकाको ज्यान गएपछि स्थानीय निकै आक्रोशित छन् ।

उनीहरु आफ्नो सन्तानबारे सोचिरहेका छन् । ‘मान्छे पनि कति निर्दयी ? पछाडि मान्छे छ भन्दाभन्दै ब्याक गरेर किचेर मार्यो’ घटनाका प्रत्यक्षदर्शी श्याम खड्गी भन्छन्, ‘ड्राइभरको लापरबाहीले नाबालिकाको अकालमै ज्यान गयो ।’

खड्गी घटनास्थल नजिकै मासु पसलमा काम गर्छन् । उनी पसलमा काम गर्दा हल्लाखल्ला भयो । हल्ला भएपछि उनी घटनास्थल गए । त्यहाँ गएपछि टिपर ब्याक भएर बालिकालाई कुल्चिएको देखे ।

त्यहाँ घटना देखेका दुईतीन जना बालिकाको मृत्यु भएको देखेपछि डराएर भागे । खड्गीले भने घाइते रोहनलाई अस्पताल पठाएर घटनाबारे जानकारी दिन घर तिर कुदें । उनी रोहनको घरमा पुग्दा छोरी र श्रीमानसँगै खाना खाएर उनीहरुलाई विदा गरेकी विनिता हतारहतार धन्दा सकेर काममा जाने तयारीमा थिइन् ।

श्यामले दुर्घटनाको खबर सुनाएपछि उनी दौडेर रुँदै कराउँदै घटनास्थलतिर दौडिइन् । घर उचो ठाउँमा भएकाले उनी बाटोमा लड्दै पड्दै आएको श्याम बताउँछन् ।

श्यामले ‘जे हुनुभयो, धैर्य राख्नुस्’ भनेका थिए विनितालाई । तर आमा र श्रीमतीको मन कहाँ सम्हालिन्थ्यो र ! कुनै परवाह नै नगरी सृष्टि–श्रेया भन्दै घटनास्थलमा हामफालिन् । घटनास्थलमा दुई छोरीको लास देखेपछि विनिता बेहोश भइन् ।

****

टिपरले बाइकलाई घिसार्दै केही परसम्म लगेको छ । टिपरमुनि बाइकको लेगगार्डले कोरिएको गहिरो निशाना छ, जसले त्यहाँको माहोललाई झनै आक्रोसित बनाएको छ ।

‘पछाडि मान्छे छ भन्दाभन्दै ब्याक गरेर मारेको हो । के नै रह्यो र विनिताको ?’ रोहनकी छिमेकी राधा भुजेल भन्छिन् । उनी दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्ने बताउँछिन् ।

घटनास्थलमा भेटिएका विमल थिङ तामाङले सरकारले दिनमा टिपर चल्न नदिने नियम ल्याए पनि अहिले मनमौजी चलाइरहेका कारण यस्तो दर्दनाक घटना घटेको बताए । ‘सरकारले दिउँसो टिपर चलाउन पूर्ण रुपमा बन्देज लगाउनुपर्छ, टिपर चालकलाई कडाभन्दा कडा कारबाही गरेर पीडितलाई न्याय दिलाउनुपर्छ’ थिङ भन्छन् ।

ब्याक गरेर ज्यान लिने सवारी चालक तथा नाबालिकालाई बलात्कार गर्नेहरुलाई सरकारले फाँसीको सजायको व्यवस्था गर्नुपर्ने उनको माग छ ।

गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले घाइते रोहनको उपचार आईसीयूमा भइरहेको र अवस्था नाजुक रहेको बताए ।

‘रोहनको अवस्था नाजुक छ । पीडकसँग हामीले क्षतिपूर्ति र घाइतेको सम्पूर्ण उपचार खर्च व्यहोर्नुपर्ने गरी वार्ता गरेका छौं’, चालिसेले अनलाइनखबरसँग भने । उनका अनुसार टिपर मालिकसँग क्षतिपूर्तिस्वरुप पीडितलाई ४५ लाख रुपैयाँ दिनुपर्ने सम्झौता भएको छ । ‘दुई छोरी गुमाउने विनितालाई नगरपालिकाले रोजगारी दिने निर्णय गरेका छौं’ उनले भने, ‘सकेसम्म उनलाई राहत दिन्छौं ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?