+
+

घरमा कसरी बनाउने बगैंचा ?

सम्झना विक सम्झना विक
२०७८ चैत १७ गते ११:५१
फाइल तस्वीर

काठमाडौं । घरसँगै बगैंचा पनि बनाउँदा यसले सुनमा सुगन्ध थप्छ । बगैंचाले घरलाई आकर्षक देखाउँछ भने वातावरणलाई स्वच्छ राख्न पनि मद्दत पुर्‍याउँछ ।

हिजोआज बगैंचालाई घरको अभिन्न अंग मानिन थालेकाले यसका लागि डिजाइनरको सहायता लिनेहरु पनि बढेका छन् । बगैंचाको निर्माण गर्दा के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा बगैंचा डिजाइनर राजु स्याङ्तानसँग गरिएको कुराकानीको सम्पादित अंश :

निजी घरमा बगैंचा कसरी बनाउने ?

सबभन्दा पहिले माटोको अध्ययन गर्नुपर्छ । माटोमा मसिना कीरा हुन्छन्, त्यसका लागि एक प्रकारको औषधि हाल्नुपर्छ । औषधि झोल, पाउडर दुवैथरीको हुन्छ । माटोको लेबल मिलाएर बनाउन सकिन्छ । घरको निर्माण कसरी गरिएको छ, सोही अनुसार डिजाइन गर्न सकिन्छ ।

घरमा बगैंचा बनाउँदा माटो, मल र पानीको व्यवस्थापन कसरी गर्ने ?

नयाँ घर बनाउँदा जग खन्ने बेलामा निकालिएको माटो एक ठाउँमा जम्मा गरिएको हुन्छ । त्यसमा भएका इँटा र साना ढुंगालाई हटाउनुपर्छ । त्यसमा माटो मात्र मिसाउनुपर्छ । पुरानो घरमा भने माटोे खनेर औषधि हाल्नुपर्छ ।

अनि बगैंचमा युरिया मलसँगै प्रांगारिक मलको प्रयोग गर्न सकिन्छ । बगैंचामा तीन हप्ताको फरक पारेर युरिया मल हाल्दा बिरुवा बलियो हुन्छ ।

बगैंचामा सिजनअनुसारको फूल लगाउनुपर्ला नि ?

जाडो महिनामा लगाइने पिटुनिया, डेंगी, भ्यागुते, असर्फी, एस्तर, डबल पिटुनिया जस्ता फूल रोपिन्छ । गर्मी महिनामा लगाइने सयपत्री, मेरिगोल्ड, गोलान्जा, झुनिया, डालिया, सालभिया जातका फूल रोप्न सकिन्छ ।

दुबोले बगैंचालाई थप आकर्षक बनाउँछ, यसलाई कसरी रोप्ने र हुर्काउने ?

दुबो रोप्ने तरीका दुई प्रकारको हुन्छ । दुबोको बिरुवा नै रोप्ने हो भने त्यो हुर्किनका लागि चार महिनासम्म लाग्छ । तुरुन्तै बगैंचा सजाउनुछ भने हुर्किएको दुबोको चपेरा छापेर पनि गर्न सकिन्छ ।

बिरुवा रोपेको दुबोलाई १५-१५ दिनमा युरिया मल हाल्नेसँगै झारपात उखाल्नुपर्छ । चपेरा  छापेर लगाइएको दुबोलाई एक हप्तामा मल हाल्नुपर्छ । यसलाई चार हप्तासम्म मल हालेपछि एकनासको देखिन्छ ।

बगैंचा सजावटका लागि आवश्यक सामग्री के कस्ता हुन्छन् ? कति मूल्यमा पाइन्छ ?

मुख्य सामग्रीत स्वस्थ माटो, मल, दुबो, कुटो, हजारी र गमला नै हुन् ।  यसको मूल्य सामानको गुणस्तर अनुसार हुन्छ । हजारी, कुटो १५० रुपैयाँ भन्दा माथि पर्छ । गमलाको २०० रुपैयाँदेखि १५ हजारसम्म पर्ने हुन्छन् ।

कुनै नर्सरीबाट बगैंचाको डिजाइन गराउनुपर्दा सामान्यतया कति शुल्क लिन्छन् ?

बगैंचा कत्रो बनाउने भन्ने कुरामा भर पर्छ । त्यस्तै त्यहाँ कुन जातको बिरुवा लगाउने भन्ने कुराले पनि मूल्यमा फरक पर्छ । सानो आकारको बगैंचाको डिजाइन गराउँदा ५ हजारदेखि सुरु हुन्छ भने आकार अनुसार ५० लाखसम्म पनि खर्च भएको उदाहरण छन् ।

लेखकको बारेमा
सम्झना विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?