+
+

‘गोरु पर्व’को प्रिमियरसँगै सुरु भयो निफ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते २०:२१

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको पाँचांै संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सभागृहमा सुरु भएको महोत्सव पाँच दिनसम्म चल्नेछ ।

पुरु लम्साल निर्देशित ४६ मिनेट लामो डकुमेन्ट्री ‘गोरु पर्व’ प्रिमियरसँगै महोत्सव सुरु भयो । नुवाकोटको तारुकामा सदियौंदेखि मनाइँदै आएको गोरु जुधाउने पर्वलाई वृत्तचित्रले चित्रण गरेको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, युरोपेली युनियनकी राजदूत नोना डेप्रेजले संयुक्त रुपमा महोत्सव उद्घाटन गरे ।

बोर्ड अध्यक्ष दाहालले अन्तर्राष्ट्रिय बजारमा जाने खालका मौलिक र उत्कृष्ट कथावस्तुमा बनेका फिल्मलाई सघाउन सरकार तयार रहेको बताए । स्टोरी बैंकमार्फत त्यस्ता फिल्मलाई सघाउन नियमावली बनेको भन्दै उनले यस वर्षदेखि पाँच फिल्मलाई पुरस्कृत गरिने योजना रहेको जनाए ।

‘नीतिगत सवाल र फिल्मको आचारसंहिता बनाउने कुरामा राज्यपक्षको कमजोरी होलान् तर फिल्मलाई निर्माताले नै बनाउने हो,’ अध्यक्ष दाहालले भने, ‘सरकार सघाउन तयार छ ।’

युरोपेली युनियनकी राजदूत डेप्रेजले फिल्ममार्फत वातावरण, संरक्षण र मानवअधिकार संरक्षणमा सघाउन युरोपेली युनियन तयार रहेको बताइन् । उनले पछिल्लो समय नेपालमा फिल्म संस्कृतिको विकास भइरहेको भन्दै प्रशंसा व्यक्त गरिन् । काठमाडौं महानगर प्रमुख शाक्यले फेस्टिभलमा आउने विदेशी ‘डेलिगेट्स’लाई महानगरले आतिथ्यता दिने बताए ।

३८ देशका ८९ फिल्म स्क्रिनिङ गरिने फेस्टिभलमा १४ भन्दा बढी छलफल र अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको छ । ‘विश्वभरिका कथाहरुको उत्सव, नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ नारासहित सभागृह र पर्यटन बोर्ड प्रेक्षालयमा फेस्टिभल आयोजना गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा-छोटा फिल्म, डकुमेन्ट्री र एनिमेटेड फिल्मबीच सात विधामा प्रतिस्पर्धा हुने र १४ वटा पुरस्कार वितरण गरिने भएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै आयोजक संस्था नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले विश्वसामु नेपाली फिल्मको प्रवद्र्धन गर्दै पर्यटन विकासमा सघाउनु उद्देश्य रहेको बताए ।

कोरोना महामारीको कारण यसअघि हुन नसकेको फेस्टिभल दुई वर्षपछि भर्चुअल रुपमा सुरु भएको हो । दर्शकले भौतिक रुपमै उपस्थित भएर सःशुल्क फिल्म हेर्ने व्यवस्था गरिएको छ । शनिबार मोहन राई निर्देशित फिचर फिल्म ‘महानगर’ प्रिमियर हुनेछ ।

राम्रो अभिनय भनेको हो ? अडियो-भिजअुल सम्पदा संरक्षण कसरी गर्ने ? विश्व फिल्ममा कसरी जाने ? भविष्यमा नेपाली फिल्मको विकास कसरी गर्ने भन्नेबारेमा प्यानल छलफल समेत आयोजना गरिएको छ ।

यसपटक जुरी प्रमुखको रुपमा सुदिप्तो आचार्य छन् भने सदस्यहरुमा पाकिस्तानी फिल्म क्रिटिक अलिज गुल र नेपाली फिल्म निर्देशक छिरिङरितार शेर्पा छन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?