+
+

इटहरीमा बम विष्फोट प्रकरण : हिमाल सुरक्षा परिषद्का अध्यक्षसहित चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १८ गते १८:३८

१८ चैत, विराटनगर । सुनसरीको इटहरीको एक घरमा बम विष्फोट भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले हिमाल सुरक्षा परिषद्का अध्यक्षसहित चार जनालाई पक्राउ गरेको छ ।

गत सोमबार राति इटहरी उपमहानगरपालिका– २ का अमिर श्रेष्ठको घरमा डेरागरी बस्ने लक्ष्मी थापाको कोठामा बम विष्फोट भएको थियो । विष्फोट हुँदा सोही स्थान बस्ने रविन थापा र लमजुङका शेरजङ गुरुङ घाइते भएका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले भूमिगत गतिविधि गरिरहेको समूहका अध्यक्षसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा घाइते युवक पनि छन् ।

सुनुसरीका प्रहरी उपरीक्षक सञ्जय थापाका अनुसार बम विष्फोटमा घाइते भएका इटहरी– २ का २० वर्षीय रविन, लमजुङको ढोडेनी गाउँपालिका– ७ का २३ वर्षीय शेरजंग, इटहरी २ कै लक्ष्मीदेवी थापा र झापाको कनकलाई नगरपालिका– ८ का ४३ वर्षीय सञ्जय भनिने खगेन्द्र खरेल पक्राउ परेका हुन् ।

खरेल हिमाल सुरक्षा परिषदका अध्यक्ष हुन् । उनीमाथि झापाको विर्तामोड र दमकमा बम राखेको आरोप छ । खरेल २०७६ वैशाख २८ गते ‘गोर्खा जनमुक्ती पार्टी’को नाममा झापाको कनकाई नदी पुलमा बम राखेको आरोपमा पक्राउ परेका थिए । विष्फोटक पदार्थ तथा संगठित अपराध कसुरमा २ वर्ष पाँच महिना कैदपछि झापा कारागारबाट छुटे लगतै हिमाल सुरक्षा परिषद्मा आवद्ध भएको प्रहरीको दाबी छ ।

प्रहरी उपरीक्षक थापाका अनुसार खरेलसहितको समूहले परिषद् स्थापना गरेर आतंक सृजना गर्ने योजना बनाएको थियो । ‘बम मिस ह्यान्डलिङ भएर कोठामै पड्किएको देखिन्छ,’ उनले भने,‘ यिनीहरुको उद्देश्य भने बजारमा पड्काउने थियो ।’

उनका अनुसार लक्ष्मी थापा र रविन थापा आमा छोरा हुन् । उनको कोठाबाट ‘कङग्रुएन्ट फ्रन्ट अफ नेपाल’ (कफन) र हिमाल सुरक्षा परिषद्को प्रचार सामग्री भेटिएको थियो । थापाको कोठामा कफनको सदस्यता रसिद पनि बरामद भएको छ । कफन र परिषद् दुवै चन्दा आतंक सृजना गर्नका लागि गठन गरेको प्रहरीको दाबी छ । दुवै समूहमा आवद्ध भएकाहरुको विषयमा अनुसन्धान भइरहेको थापाले बताए ।

बिहीबार झापाबाट पक्राउ परेका खरेलको साथबाट हिमाल सुरक्षा परिषद् केन्द्रीय कमिटीको छाप, परिषद्कै इञ्चार्जको छाप, लेटरप्याड लगायतको सामग्री फेला परेको थियो ।

परिषद्ले हिन्दुराष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो । परिषद्ले संघीयता खारेज, हिन्दुराष्ट घोषणा, नागरिकता छानबिन गर्नुपर्ने, भारत–चीन सिमा विवाद समाधान गरिनुपर्ने, एमसीसी सम्झौता खारेजलगायतको मागसहित संघर्ष सुरु गरेको बताएको थियो ।

परिषद्ले झापाको बिर्तामोड र दमकमा बम आतंक सृजना गरेको थियो । गत माघ ९ गते बिर्तामोडको पश्चिम बसपार्क र माघ १३ गते दमक– ५ मा रहेको एक चर्चको गेटमा शंकास्पद बस्तुसँगै परिषद्को पर्चा फेला परेको थियो । सो घटनामा संलग्न भएको आरोपमा झापा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो । केन्द्रीय अध्यक्ष खरेल भने फरार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?