+
+
कथा :

सदाबहार दामे

रुँदारुँदै हाँस्न जान्ने । हाँस्दाहाँस्दै रुन सक्ने । कौडी लाभ हुने भए लात हान्नेलाई पनि साष्टाङ्ग दण्डवत् गर्ने । भित्रभित्र मुर्मुरिए पनि ङिच्च दाँत देखाएर हाँस्ने । लाग्थ्यो दामे एउटा होनहार अभिनेता हो ।

प्रकाश तिवारी प्रकाश तिवारी
२०७८ चैत १९ गते १३:४०

बोलीपिच्छे हस् हस् भन्ने, हुन्न कहिल्यै नभन्ने । उमेर अनुसार सबैलाई बा-आमा, दाजु-भाइ, दिदी-बहिनी साइनो लगाउने । ठूलाबडा र शक्तिशालीलाई आइसियोस्, गइसियोस् लगाएर बोल्ने । एकैछिन गफियो भने जो-कोहीलाई पट्याइदिने । गजब आनीबानी वा स्वभावको थियो दामे ।

रूप चाहिं खासै परेको हैन । बेरूप भएर के भो, सुन्दरीहरू दामेसँग झुत्ती खेल्थे । त्यसो त दामेकी श्रीमती पनि नराम्री चाहिं होइन । श्रीमती पनि एउटी हैन, तीन-तीन वटी थिए उसका । दुइटी ल्याइते अर्की ब्याइते । ब्याइते घरमै थिई । ल्याइतेहरूलाई चाहिं भाडाको घरमा राखेको थियो । आखिर दामे न पर्‍यो ।

दामे हरेक नयाँ चिजको स्वाद चाख्नुपर्छ भन्ने गथ्र्यो । लाग्थ्यो, दामे त्यस्तो प्रयोगशाला हो जहाँ विविध उपभोग्य वस्तुको स्वाद परीक्षण गरिने गर्छ । धनको मामलामा मिनी विनोद चौधरी नै थियो दामे । तर त्यतिले चित्त बुझेन उसको । यतिबेला ऊ ‘इलोन मस्क जस्तै धनवान हुन पाऊँ भनी भगवानसँग वरदान माग्न थालेको छ ।

रुँदारुँदै हाँस्न जान्ने । हाँस्दाहाँस्दै रुन सक्ने । कौडी लाभ हुने भए लात हान्नेलाई पनि साष्टाङ्ग दण्डवत् गर्ने । भित्रभित्र मुर्मुरिए पनि ङिच्च दाँत देखाएर हाँस्ने । लाग्थ्यो दामे एउटा होनहार अभिनेता हो । अभिनय क्षेत्रमा लागेको हुन्थ्यो भने दामे विश्वकै नम्बर एक अभिनेता बनिसक्थ्यो ।

नेताकहाँ जाँदा खाली हात कहिल्यै जाँदैनथ्यो दामे । उसले चल्तीका सबै राजनैतिक दलको सदस्यता लिएको थियो । दामेका लागि दलको सदस्यता तुरुपको पत्ता समान थियो । तुरुपलाई जहाँ लगेर मिलाउँदा बाजी मार्न सकिन्छ त्यसै अनुकूल गर्थ्यो ऊ ।

व्यावसायिक संलग्नताको कुरा नगर्ने हो भने दामेको परिचय अपूरै रहन्थ्यो । दामेको आधा दर्जन बढी व्यवसायमा संलग्नता थियो । कतिपय व्यवसाय उसकै नाममा थिए त कतिपय छद्म नाममा सञ्चालित थिए । उसले एकसाथ कर्मचारी, ठेकेदार, उद्योगपति, अनेक-अनेक भूमिका निभाइरहेको थियो । परिआउँदा तस्करी पनि गर्दथ्यो दामे । कोही उसलाई छद्म भूमाफिया पनि भन्थे ।

दामेको रूप कुन सक्कली, कुन नक्कली ? भेउ पाउनु सबैको वशमा थिएन । मानौं ब्रहृमा उही । विष्णु उही । महेश्वर पनि उही । दसटाउके रावण हुन्थ्यो भने मात्र दामेको पूर्ण व्यक्तित्व उसको अनुहारमा प्रतिविम्बित हुन सक्थ्यो ।

त्यसो त मदिराको पारखी थियो दामे । तर ऊ जो पायो त्योसँग रक्सी खाँदैनथ्यो । कथंकदाचित खाइहाले मुख बिगारी-बिगारी पिउँथ्यो । एक पेगभन्दा बढी लिंदैनथ्यो ।

दामेको असंख्य नेतासँग नङ-मासुको जस्तै सम्बन्ध थियो । एक जना चिर-परिचित मित्र त शक्तिशाली मन्त्री नै थिए । शपथको दिन दामे एण्ड कम्पनीले मन्त्रीको गलामा पहिर्‍याइदिएको क्विन्टलको माला सोसल मिडियामा भाइरल नै भएको थियो । त्यस दिन मन्त्री मात्र हैन मन्त्राणी समेत फूलमालाले पुरिएकी थिइन् । मन्त्रीजी दलका अध्यक्षको दायाँ हात थिए ।

स्थानीय चुनाव मुखैमा थियो । शरीरमा टाइ-सुट, अनुहारमा मन्द मुस्कानसहित दामे करोडौंको गाडीमा सवार भई मन्त्रीजीको निवासभित्र छिर्‍यो । दामेको स्वागतार्थ मन्त्राणी म्याडम गाडी पार्किङ्गस्थलसम्मै पुगिन् । दामेले तिलस्मी मुस्कानका साथ मन्त्राणीलाई अभिवादन चढायो । मन्त्राणीले प्रसन्न अनुहारका साथ दामेको अगुवाइ गरिन् । मन्त्रीजी दामेको स्वागतार्थ तम्तयार भएर बसेका थिए ।

‘हेल्लो दामुजी ! मन्त्री निवासमा तपाईंलाई स्वागत छ ।’ बैठक कोठामा प्रवेश गर्नासाथ मन्त्रीजीले दामेसँग गरमजोशका साथ हृयाण्डशेक गरे ।

दामेले मन्त्रीजीलाई ब्लू लेबल रक्सीको कार्टुनमार्फत अभिवादन फर्कायो । मन्त्रीजी पूणिर्माका चन्द्रमा झैं जाज्वल्यमान देखिए । सामान्य शिष्टाचारपछि नेताजी र दामे गोप्य कोठामा छिरे । मदिरापान सुरु भयो । नेताजी पेगपेगमा शरदको आकाशझैं खुल्दै गए ।

‘अनि नेमलिस्ट खै त ?’ बोली भुईंमा खस्न नपाउँदै दामेले लिस्ट निकालेर नेताजीलाई दियो । नेताजीले लिष्टमा उल्लेखित नामहरू सरर्र पढे । नाम पढ्दा मन्त्रीजी कहिले मुस्कुराउँथे त कहिले थोरै गम्भीर भएजस्तो पनि देखिन्थे ।

‘सय जना रहेछन् । धेरै भएन र ?’ नेताजीले प्रारम्भिक प्रतिक्रिया दिए ।

‘धेरै कसरी हुनु हजुर । दुई सय थिए । सय जनाको नाम म आफैंले काट्कुट पारें ।’

‘यिनीहरूले कुन पद मागेका हुन् ? वडा अध्यक्ष त होला नि हैन ?’

‘ठट्टा नगरिसियोस् न मन्त्रीज्यू ! यीमध्ये दश जनालाई मेयर नदिई भा’छैन । कतिपयलाई त संघीय सरकारको मन्त्री दिंदा पनि पाप लाग्दैन । हेरिसियोस् न हजुर ! यो मान्छेले हजुरको उछित्तोकाढ्ने लेखकको ढन्डेसा भाँचेको थियो । विचरा लेखक एक महिना अस्पतालमै अर्मरियो । यो अर्को चाहिं त झन् बिर्सनै नहुने मान्छे । विरोधी पार्टीले गएको साल हजुर मरिबक्स्यो भनी हल्ला चलाउँदा धरहराबाट हामफालेको थियो यसले । धन्न बालुवाको थुप्रोमा पर्‍यो र बाँच्यो ! अनि यो चाहिं हजुरकोमा एक बि्रफकेश सुन बुझाउन आउने मान्छे !’

‘यसलाई त चिन्छु ।’

‘त्यस्तै यो चाहिं मेरो जिग्रीदोस्त । या नि तस्करी पार्टनर । कर्णालीका बहुमूल्य जडीबुटी अबैध निकासीबाट आएको मध्ये हजुरको दललाई पचास करोड बुझाएको उसैको सहयोगमा हो ।’

‘बुझें बुझें’, नेताजीले मुन्टो हल्लाए ।

‘अब यसको बारेमा सुनिसियोस् । यो मोरङ्गको उद्योगपति । पोहोर साल यसलाई उद्योग खोल्ने लाइसेन्स दिंदा वातावरणविद् र पत्रकारले धुवाँदार विरोध गरेका थिए । ऊ त्यही उद्यागपति हो । मेयरको टिकट होस् मात्र, एक… बुझाउँछु भनेको छ ।’
‘एक भनेको ?’

‘म लाखको कुरो कहाँ गर्छु ! एड्भान्स एक करोड ।’

‘ओ आई सी ।’

‘यस्ता महारथीलाई मेयरभन्दा सानो पद दिंदा पाप लाग्दैन हजुर ?’ दामेले थप्यो ।

नेताजीको अनुहारमा बक्ररेखाहरू कोरिए । उनमा क्षणिक मौनता छायो । केहीबेरको मौनता तोड्दै नेताजी बोल्न थाले-

‘जो पनि ठूलो पदमा आँखा लाउँछन् । म टिकट वितरण समितिको संयोजक अवश्य हुँ । तर मभन्दामाथि अध्यक्षज्यू हुनुहुन्छ । अध्यक्षज्यूले मेरो विश्वास त गर्नुहुन्छ तर सबै कुरा मान्नुहुन्छ भन्ने के ग्यारेन्टी ? वडा अध्यक्षको पद पनि मामुली पद होइन । निजामती सेवामा हाकिम हुने कतिले करोडको बजेट चलाउन पाउँदैनन् । वडा अध्यक्ष त्यस्तो अघोषित जागिर हो जसले वर्षमा चार-पाँच करोड बजेट हृयाण्डल गर्न पाउँछ । सेटिङ्ग मिलाएर कमाउने त कुरै नगरौं ।’

‘अनि यता हेरिसियोस् मन्त्रीज्यू ।’ दामेले युवतीको फोटो निकालेर देखायो ।

नेताजीले युवतीको फोटोमा एकनजर लाएका के थिए, हड्डी हाँस्न थाल्यो ।

‘बहुत च्वाँक् छन् त । को हुन् यी ?’ सोधे नेताजीले ।

‘रूपकी रानी । पौराणिककालमा हुन्थिन् भने उर्वसी, रम्भा, तारा, तिलोत्तमा फिका हुन्थे ।’

‘ठीक भन्नुभो । साँच्चिकै अप्सरा ! सुन्दरी के चाहन्छिन् ?’ खित्खिताउँदै सोधे नेताजीले ।

‘यिनी पनि भएसम्म मेयर, नभए उपमेयर हुन चाहन्छिन् ।’

‘यिनको मनोनयन पत्रमा दस्तखत गरेवापत मिल्छ चाहिं के ?’ नेताजीले यक्ष प्रश्न सोधे ।

‘टिकटको व्यवस्था त होस् । बाँकी मेरो जिम्मा । यानि हजुर जे चाहिसिन्छ ….।’

‘उसोभए ओके डन । अध्यक्षसँग झगडा गर्नुपरे गरौंला ।’ नेताजीले दामेको हत्केलामा हत्केला ठोक्काए । हाँसोको फोहरा छुट्यो ।

‘लिस्टमा भएका सयमा सयले टिकट पाए भन्ने मान्नोस् । तर उनान्सय जनाको टिकट भोलि । सुन्दरीको टिकट चाहिं अहिले नै ।’ नेताजीले सुन्दरीलाई उपमेयर पदमा मनोनयन गरेको पत्रमा सहीछाप गरे । दामेले सुन्दरीलाई मधुशालाबाटै बधाई दियो । साथै नेताजी उपमेयर पदको टिकट हस्तान्तरण गर्न आउन लागेको जानकारी पनि गरायो ।

‘अबको केहीबेरमा नेताजी तिम्रोमा आउँदै हुनुहुन्छ । मैले भनेको थिएँ नि, एकहातले लिने अर्को हातले दिने । कुरा बुझ्यौ नि ?’ भन्यो दामेले ।

रातको बाह्र बजेको थियो । दामे र नेताजी सुरक्षाकर्मीलाई सुइँकोसम्म नदिई मन्त्री निवासबाट बाहिर निस्के । उनीहरू सरासर सुन्दरी बसेको ˆल्याटमा पुगे । नेताजीले सुन्दरीका हातमा उपमेयर पदको मनोनयन पत्र थमाए । मन्त्रीजी र दामेबीच आँखै आँखामा संगीन संवाद भयो । दामे अभिवादन टक्र्याउँदै कोठाबाट बाहिरियो । सुन्दरीले झटपट ढोकाको चुक्कुल लगाइन् ।

सुन्दरी दामेकी ल्याइते श्रीमती तारा थिई ।

दामे र नेताजी हाम्रो समाजका कटु यथार्थ हुन् । समकालीन राष्ट्रिय जनजीवनका प्रतिनिधि पात्र हुन् । हाम्रो समाजमा अनगिन्ती दामेहरू छन् । जसलाई झरी-बादल, मेघ-वषर्ातले छुँदैन । सत्तामा को आयो, को गयो, यसबाट दामे प्रवृत्तिमाथि कुनै तात्विक असर पर्दैन । दामेहरू छेपारो झैं रङ बदल्न खप्पीस हुन्छन् । राणा गए । पञ्चायत ढल्यो । गणतन्त्र आयो । तर दामे कहिल्यै ढलेन । ऊ सदाबहार थियो, छ र रहनेछ !

लेखकको बारेमा
प्रकाश तिवारी

उपन्यास, समालोचनाका साथै प्रशस्तै कथा, लेख, निबन्ध, कविता प्रकाशित रहेका लेखक समसामयिक विषयमा कलम चलाउँछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?