+
+

एमाले पर्साको अध्यक्षमा जयप्रकाश थारु चयन

सुरेश बिडारी सुरेश बिडारी
२०७८ चैत १९ गते १८:३१

१९ पुस, वीरगञ्ज । नेकपा एमालेको पर्सा जिल्ला कमिटीका अध्यक्षमा जयप्रकाश थारु चयन भएका छन् । नेकपा एमाले पर्साको ८औं जिल्ला अधिवेशनले थारुको अध्यक्षतामा १३५ सदस्यीय कमिटीको नाम सार्वजनिक गरिएको हो ।

बन्द सत्रमा एमालेका केन्द्रीय सदस्य एवं पर्सा जिल्ला इन्चार्ज प्रभु हजराले जिल्ला कमिटी पदाधिकारी र सदस्यहरुको नाम सार्वजनिक गरेका थिए । पाँच जना पदाधिकारीमध्ये उपाध्यक्षमा फरमान अन्सारी, सचिवमा मनोज गुप्ता, उपसचिवमा सञ्जीव मिश्र र प्रद्युम्न सेढाईं चयन भएका छन् । एमालेले यसअघि पुस २७ र २८ गते बन्द सत्र राखेको थियो । बन्द सत्रमा नेताहरुबीच कुटाकुट भएपछि स्थगित गरिएको थियो ।

विवाद समाधान गरी सर्वसम्मत नेतृत्व चयन गर्ने जिम्मा केन्द्रीय सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा, प्रभु हजारा र अरबिन्द सिंहले पाएका थिए । चारमध्ये तीन केन्द्रीय सदस्यले पेश गरेका पदाधिकारी र सदस्यहरुको मात्रै नाम जिल्ला कमिटीमा राखिएको स्रोतले जनाएको छ । केन्द्रीय सदस्य एवं विवाद समाधान गर्न गठित समितिको सदस्य अरविन्द सिंह जिल्ला कमिटीको पदाधिकारी र सदस्यको नाम छनोटप्रति असन्तुष्ट रहेको स्रोतको भनाइ छ ।

जिल्ला कमिटीमा नअटाएकालाई सल्लाहकार कमिटीमा राखेर रिझाउने प्रयास गरिएको थियो । तर सल्लाहकार कमिटिको संयोजक बनाइएका पार्टीका नेता डा. विश्वम्भर शर्मा नै असन्तुष्ट देखिएका छन् । उनी आफूले जिल्ला अध्यक्ष नपाए अन्य पदमा नबस्ने मनस्थितिमा छन् । ‘अध्यक्ष नपाउने भएपछि बैठकमा बसिरहने कुरा भएन, अन्य पदमा म बस्दिन । सामान्य कार्यकर्ता रहन्छु’, उनले भने ‘ललिपप दिएर खुशी पार्न म बच्चा हैन नि, यो बदमासी हो । यसको भण्डाफोर हुन्छ ।’

इन्चार्ज हजाराले भने जिल्ला कमिटी सर्वसम्मतले गठन भएको बताएका छन् । ‘विवाद भएपछि सर्वसम्मत अधिवेशन गर्नुपर्छ भन्ने माग नेता कार्यकर्ताको थियो’, उनले भने ‘हामी चार जना केन्द्रीय सदस्य बसेर सोही अनुसार गरेका छौं ।’

एमाले नेताहरुका अनुसार पर्सामा २०६२ सालमा जिल्ला अधिवेशन गरेपछि राम्रोसँग अधिवेशन हुन सकेको छैन । ०६७ सालमा एमाले पर्साको पार्टी कार्यालय र नगर सभा गृहमा गरी दुई ठाउँमा पार्टीको अधिवेशन भएको थियो । ०७० सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा तीनवटा क्षेत्रमा जितेको एमाले ०७४ सालको निर्वाचनमा शून्यमा झरेको थियो ।

केन्द्रीय सदस्य गुप्ताले पर्सामा पार्टी नेतृत्वले बेवास्ता गर्दा जिल्ला अधिवेशन हुन नसकेको र अधिवेशन नहुँदा नेता कार्यकर्ताहरुकोे नेतृत्व विकास हुन नपाएको बताए ।
एमाले प्रदेश अध्यक्ष राम अवतार यादव पार्टीमा आएका नयाँ व्यक्तिहरुलाई पनि सँगै लिएर अन्तरकलह भुलेर चुनावमा लाग्नुपर्नेमा जोड दिए । सर्वहारा र श्रमजीवीको मुक्तिका लागि एमालेका नेताहरु त्याग गर्न पनि तयार हुनुपर्ने उनको भनाइ छ ।

पोलिटब्यूरो सदस्य ज्वालाकुमारी साहले नमिलेको कुरालाई मिलाउँदै अघि बढ्न सुझाव दिइन् । एमालेका सचिव एवं मधेश प्रदेश इन्चार्ज रघुवीर महासेठले महासचिव शंकर पोखरेलकै सामुन्ने दुःखद घटना घटेको स्मरण गरे ।

‘बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदासम्म ठीकै थियो । तर सांगठनिक प्रतिवेदन पेश गर्ने क्रममा नहुनुपर्ने घटना भयो’ उनले भने, ‘अब त्यस्तो हुन दिँदैनौं भनेका थियौं, घटनाबाट पाठ सिकेर टुंगो लगाएका छौं ।’

प्रदेश कमिटी सदस्य सानो भएको बताउँदै केही नेतालाई प्रदेश कमाटीमा लैजान सकिने उनको भनाइ छ । ‘पद पाउँछौं भनेर लागेको होइन, नेपाली जनताको मुक्तिका लागि लागेको हो । त्यसलाई बुझ्नुपर्छ’, उनले भने ‘आवश्यक परे केही नेतालाई प्रदेश कमिटीमा पनि राख्न सक्छौं ।’

प्रचण्ड माधव प्रधान सत्रु : महासेठ

नेकपा एमालेका सचिव एवं मधेश प्रदेश ईन्चार्ज रघुवीर महासेठले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधान सत्रु भएको बताएका छन् ।

पार्टी एकीकरणपछि दुई तिहाई बहुमत ल्याएको अवस्थामा पनि पार्टी फोडेर हिँडेको, कम्युनिस्ट आन्दोलन विरोधी गतिविधिमा लागेको र काँग्रेसको काँधमुनि ओत लाग्न गएकोले उनीहरु प्रधान सत्रु भएको उनको भनाइ छ ।

गठबन्धन मानसिक रुपमा हारिसकेको बताउँदै उनले पाँच दलीय गठबन्धन संगै आएपनि एमालेले नै स्थानीय तहको निर्वाचन जित्ने बताए । उनले वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवारलाई सघाउन आग्रह गरे । ‘वीरगञ्ज महानगरपालिकाको मेयर एमालेको हो । कि पार्टी छोडेर लाग्नुपर्छ, असन्तुष्टी छ भने आफ्नो कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीमा राख्नुपर्छ’, उनले भने ।

पार्टी वीरगञ्जलाई कब्जा गर्न आन्तरिक तयारीमा लागेको उनले बताए ।

‘जहाँ हामी जित्छौं त्यहाँ हामी उम्मेदवार दिन्छौं । होइन भने जित्ने उम्मेदवारलाई ल्याएर उठाउँछौं । गठबन्धनको सरकारलाई देखाइदिनुपर्छ । वीरगञ्ज महानगर कब्जा गर्छौ । पार्टीले रणनीति बनाइरहेको छ । आन्तरिक तयारीमा लाग्नुपर्छ’, उनले भने, ‘आन्तरिक गुटबन्दीमा अल्झन भएन । अन्य पार्टीबाट भाग खोस्न आएका हैनन, सहयोग गर्न आएको हो भनेर बुझ्नुपर्छ ।’

 

लेखकको बारेमा
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?