+
+

कलाकारको प्रशंसा गर्दै ओलीले भने- नेपाली हिरोइन संसारकै ‘ब्युटीफुल’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २२ गते १२:०३
तस्वीर : किरण पौडेलको फेसबुकबाट

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली फिल्मका कलाकारहरु संसारमै सुन्दर भएको बताएका छन् ।

पार्टीमको भातृ संगठन राष्ट्रिय युवा संघले चलचित्र विकास बोर्डमा आयोजना गरेको कलाकार सम्मान कार्यक्रममा ओलीले नेपाली फिल्मका अभिनेत्री संसारकै ‘ब्युटीफुल’ र अभिनेता ‘ह्यान्डसम’ भएको बताए ।

‘नेपाली हिरोइन जति राम्रो हिरोइन दुनियाँमा कहीं हुन्छ ? नेपाली हिरोइन जति राम्री हिरोइन दुनियाँमा हुन सम्भव नै छैन । नेपाली हिरोजस्तो ह्यान्डसम दुनियाँमा कहीं खोजेर भेटिएला ? भेटिदैंन,’ ओलीले भने । नेपाली कलाकारलाई नेपाली आँखाबाट हेर्नुपर्ने ओलीको भनाइ छ ।

नेपालमा कलाको प्रचुर सम्भावना रहेको भन्दै ओलीले नेपालको जस्तो उत्कृष्ट फिल्म कसैले बनाउन नसक्ने जिकिर पनि गरे । महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रशंसामा समेत ओली खनिए । उनले देवकोटालाई नोबेल पुरस्कार दिइनुपर्ने समेत बताए ।

‘लक्ष्मीप्रसादको जस्तो बगेको कविता दुनियाँमा कसैको छैन । उनका कविताले किन पाउँदैनन् नोबेल पुरस्कार ? हामीले एप्लाइ नगरेको हुनसक्छ । महत्व नबुझेको पनि हुनसक्छ । आफैंलाई नपत्याएको पनि हुनसक्छ,’ ओलीले भने ।

कार्यक्रममा ३० वर्षभन्दा लामो समयदेखि नेपाली फिल्ममा योगदान दिएका कलाकारलाई सम्मान गरिएको थियो । त्यस अवसरमा चुनावलाई केन्द्रित गर्दै टिकटक प्रतिस्पर्धाको समेत आयोजना गरिएको छ ।

ओलीले कलाकारहरु बसुन्धरा भुसाल, शिव श्रेष्ठ, रविन्द्र खड्का लगायतलाई सम्मान प्रदान गरे । यसै महिना एमाले प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धर समेत उपस्थित थिइन् । एमाले निकट जनपक्षीय सांस्कृतिक संघका संयोजनक दिनेश डीसीले पार्टी प्रवेश नभएर कलाकारलाई सम्मान गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?