+
+

काठमाडौंका जनप्रतिनिधिले नदेखेको इन्द्रचोक क्षेत्रको दुर्दशा

इन्द्रचोकको त्यही बाटो हो, जहाँबाट हरेक वर्ष आधा दर्जनभन्दा धेरै जात्रा पर्वको खट र रथ गुड्ने गर्छ । तर यही बाटो ६ वर्षदेखि अतिक्रमण र सरोकारवालाको बेवास्ताले जीर्ण अवस्थामा छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते ८:४४

२३ चैत, काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको आफ्नो पाँचवर्षे कार्यकाल सकिंदैछ । चुनाव जित्ने बेलामा नागरिकलाई विकास निर्माणको ठूला-ठूला सपना देखाएका उनीहरुले कतिपय ठाउँमा भने चासो समेत दिएका छैनन् ।

काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले ऐतिहासिक बजार इन्द्रचोक र आसपासको क्षेत्रका स्थानीयले भोगिरहेको दुर्दशालाई बेवास्ता गरेरै कार्यकाल बिताएका छन् ।

विश्व सम्पदा क्षेत्रमा मापदण्ड विपरीत झण्डा राख्न ७० लाख खर्च गर्न सक्ने महानगरपालिकाले यो ऐतिहासिक क्षेत्रको मर्मत र सम्पदा संरक्षणमा भने चासो दिन सकेको छैन । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठ यो बाटोमा तत्कालीन मेयर केशव स्थापितले ढुंगा छापेपछि अहिलेसम्म मर्मत गर्न नसकिएको बताउँछन् ।

इन्द्रचोक काठमाडौं महानगरपालिकाको वडा नम्बर १८, २२, २४ र २६ को बीचमा पर्छ । त्यसैले सबै वडाबाट तिरस्कृत भएर दुर्दशा भोगिरहेको वडाध्यक्ष श्रेष्ठको गुनासो छ । एकातिर असन, भेंडासिंह, यट्खा, वसन्तपुर, जुद्ध शालिक र महाबौद्ध जाने गरी पाँचवटा बाटोको केन्द्र हो, इन्द्रचोक । इन्द्रचोकलाई केन्द्रमा राखेर जाने पाँच बाटोमध्ये जुद्ध शालिक जाने बाटोबाहेक सबै बाटाहरु ढुंगा बिछ्याइएका छन् ।

‘इन्द्रचोक आसपासका बाटाहरु मर्मत नभएको ६ वर्ष पूरा भयो । तर यहाँ न त मर्मतको काम हुन्छ, न त हेभी गाडीहरु गुड्न प्रतिबन्ध नै लाग्छ,’ उनी भन्छन्, ‘बरु राति-राति निर्माण सामग्री बोकेर आउने लोड गाडीले यो क्षेत्रलाई झनै धरापमा पारिरहेको छ ।’

पिच सडकमाथि ढुंगा बिछ्याइएको यो बाटोको मर्मतको लागि भनेर बागमती प्रदेश सरकारले ६० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । जुन कामलाई उपभोक्ता समिति गठन गरेर काम सुरु गरिसकेको उनी सुनाउँछन् । तर नगरपालिकाले यसमा कुनै बजेट नछुट्याउँदा बाटो मर्मतमा पर्याप्त बजेट नपुगेको उनी सुनाउँछन् ।

मासियो डबली, परम्परा धान्नै धौ

इन्द्रचोकको त्यही बाटो हो, जहाँबाट हरेक वर्ष आधा दर्जनभन्दा धेरै जात्रा पर्वको खट र रथ गुड्ने गर्छ । तर यही बाटो ६ वर्षदेखि अतिक्रमण र सरोकारवालाको बेवास्ताले जीर्ण अवस्थामा छ ।

अहिले १२ वर्षे नरदेवीको देवीनाच चलिरहेको छ । नाच देखाउने क्रममा विभिन्न ठाउँको डबलीमा गएर नाच देखाउने चलन छ, तर तीमध्ये धेरै डबलीहरु अहिले अतिक्रमणमा परेकोमा स्थानीयको चिन्ता छ ।

नरदेवीको १२ वर्षे नाच देखाउनुपर्ने इन्द्रचोकको डबली हराइसकेको छ । त्यहाँ अहिले ट्याक्सी पार्किङ स्थल बनेको सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद विराजभक्त श्रेष्ठ बताउँछन् । डबलीको अभावले १२ वर्षे नरदेवीको नाचमा समेत असर पर्न लागेकोमा उनको चिन्ता छ । उनका अनुसार अहिले इन्द्रचोकबाट जुद्ध शालिकपट्टि जाने बाटोमा एउटा डबली थियो । यसबाहेक पनि गोंगबु, कंकेश्वरी जस्ता ठाउँको डबली हराउने वा अतिक्रमणमा परिसकेको उनको गुनासो छ ।

वडाध्यक्ष श्रेष्ठ आफ्नो क्षेत्रका डबलीहरु अतिक्रमणमा परेको स्वीकार गर्छन् । आफ्नो वडा क्षेत्रको डबलीमाथिको अतिक्रमण रोक्न नसकिएको स्वीकार गर्दै महानगर र पुरातत्व विभागबीचको समन्वयको अभावले यो समस्या निम्तिएको उनी बताउँछन् ।

‘मेयरलाई भन्दा वास्तै गरेनन्’

काठमाडौं महानगरपालिकाका २४ नम्बर वडाका वडाध्यक्ष बालकृष्ण श्रेष्ठ वडाले चाहेर पनि इन्द्रचोकको संरक्षण गर्न नसकेको गुनासो गर्छन् । इन्द्रचोकको बाटो मर्मत गर्न धेरै बजेट लाग्ने भएकाले वडाले चाहेर पनि त्यसको मर्मत गर्न नसकेको उनको गुनासो छ । श्रेष्ठ भन्छन्, ‘इन्द्रचोक क्षेत्रका बाटो निर्माण गर्न थोरै बजेटले हुँदैन । अहिले इन्द्रचोकको बाटोमा हालेको ढुंगा पातलो छ, त्यहाँ गाडी चल्न दिने हो भने बाक्लो ढुंगा ओच्छ्याउनका लागि मेयरसा’बलाई बजेट दिन धेरैचोटि अनुरोध गर्‍यौं, तर मेयरले चासो देखाउनुभएन ।’

इन्द्रचोक क्षेत्रमा सवारी निषेध गर्नपनि नसकेको गुनासो उनको छ । ‘स्थानीयलाई सहरभित्र गाडी नगुडाउनुस् भन्न पनि सकिंदैन,’ उनी भन्छन् । इन्द्रचोक क्षेत्रमा समेत पहिले पिच गरिएकोमा केशव स्थापित मेयर भएको बेला छापेको ढुंगा अहिलेसम्म फेर्न नसकिएकोमा उनले दुःख व्यक्त गरे ।

बागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ भने काठमाडौं महानगरले ऐतिहासिक वस्तुको संरक्षणमा चासै नदिएको आरोप लगाउँछन् । उनले भने, ‘विश्व सम्पदाको सूचीमा रहेको कुनै पनि स्थान काठमाडौंको इन्द्रचोक जस्तो भद्रगोल छैन । देशमै सबैभन्दा धेरै मेला र जात्रा हुने सडक भद्रगोल छ, महानगर मुकदर्शक बनेको छ ।’

तर काठमाडौं महानगरका प्रवक्ता ईश्वरमान डंगोल भने महानगरपालिका सम्पदा संरक्षणमा संवेदनशील रहेको बताए । महानगरले इन्द्रचोक क्षेत्रमा भारी सवारी गुड्दा समस्या निम्तिएको बताए । ‘पुनर्निर्माणको काम भइरहेको छ । त्यसकारण ठूला सवारीहरु उक्त क्षेत्रमा प्रवेश गर्छन् । हामीले योभन्दा अगाडि पनि बलियो ढुंगा छापेकै हो, तर त्यहाँको चापले धानेन । फेरि हामीले सुधार हुनेगरी ढुंगा छाप्न छलफल गरिरहेका छौं ।’ उनले इन्द्रचोकमा सिमेन्ट वा कंक्रिट प्रयोग नगरेको दाबी पनि गरे ।

डबलीको विषयमा बोल्दै प्रवक्ता डंगोलले काठमाडौं महानगरमा खाली ठाउँ देख्नेबित्तिकै अतिक्रमण गरिहाल्ने चलन बढेको भएपनि आफूहरुले त्यसलाई नियन्त्रण गरिरहेको दाबी गरे । डंगोलले काठमाडौं महानगरले पुरातात्विक क्षेत्र र ऐतिहासिक क्षेत्रको संरक्षणमा सक्रिय भएपनि सबै काम पूरा गर्न नसकेको बताए ।

ऐतिहासिक सांस्कृतिक नगरी इन्द्रचोक

इन्द्रचोकको ऐतिहासिक नाम पूर्णवती नगर हो । यस क्षेत्रको महिमालाई व्याख्या गर्ने हो भने प्रामाणिक इतिहास पाइने लिच्छविकालसम्मका अनेक इतिहास र किंवदन्तीहरु भेट्न सकिन्छ ।

कुनै समय हालको इन्द्रचोक बागमती र विष्णुमती नदीको संगमस्थल थियो । जुन संगम अहिले टेकु दोभानमा छ । अझ अर्को नदी मिसिएर त्यो ठाउँ त्रिवेणीको रुपमा पवित्रस्थल रहेको ऐतिहासिक स्रोतमा उल्लेख छ । स्थानीय भाषामा त्रिवेणीलाई होंगल भन्ने गरिन्छ । त्यसैले अहिले पनि इन्द्रचोकको अर्काे नाम होंग हो । तर अहिले वंध भन्ने गरिन्छ ।

होंगलमा बागमतीसँग भेट हुनुपूर्व विष्णुमती नदी किसिगःलाई दायाँ पारेर बग्ने गर्थिन् । छुबिननिमा रहेको बुद्ध चैत्य निर्माणका लागि जमिन खन्दा खोलाको किनारामा बनाइने ढुंगाको सिंढी भेटिनुले पनि यो कथालाई पुष्टि गरेको स्थानीयको दाबी छ ।

प्राचीन नेपालमा प्रकाशित ‘नेपाल देशको इतिहास’ शीर्षकको आलेखमा भनिएको छ, ‘राजा शंकरदेवले बागमती नदीको संगममा इन्द्रचोक भन्ने देश बसाए र त्यहाँ रहेका पीठ र श्मशानसमेत हटाए । इन्द्रचोक क्षेत्रको बस्तीलाई पूर्णवती सहरको नामबाट पनि चिनिन्छ ।’

यही क्षेत्रमा मल्लकालीन इतिहास झल्किने भौतिक सम्पदा मात्रै होइन, भौतिक सम्पदालाई ओझिलो बनाउने अभौतिक सम्पदा समेत पर्याप्त छ । तर यसमा स्थानीय सरकारले भने बेवास्ता देखाएको हो ।

तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?