+
+
Shares

इन्द्रचोकमा सन्नाटा

‘आम्मामा ! चार–पाँच हजार भेडा । मानिसको हूल । व्यापार–व्यवसाय ओहो ! अचेल सिलगढीमा सन्नाटा छ’ ती दिनहरू सम्झेर उनी आफैं चकित पर्छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८१ माघ २८ गते २३:११
डोटीको दिपायल सिलगढीको इन्द्रचोक

इन्द्रचोकमा चहलपहल छैन !

राधा–कृष्णको मन्दिर छ । मन्दिरमा पुजारी छन् । भक्तजन छैनन् । कुटीमा पुजारी ध्यानमग्न छन् । शिव भजनको ध्वनिमा उनी लठ्ठ छन् ।

मन्दिरको प्राङ्गणमा चार जना केटाकेटी क्रिकेट खेलिरहेका छन् । ढुंगाले छाएका एकै शैलीका कलात्मक घरहरू छन् । घरका टुँडालहरू मक्किएका छन् । घरमूली छैनन् । घरको सुरक्षाकवच बनेको छ– ढोकामा झुन्ड्याइएको ताला । यो डोटीको दिपायल सिलगढीको इन्द्रचोक हो ।

‘इतिहास बोकेको ठाउँ हो । पूरै इन्द्रचोक घुमेर हेर्नुस् न’, टुँडिखेलको डिलमा टुसुक्क बसेका एक अपरिचितले भने ।

मेरो मस्तिष्कमा भने काठमाडौंको खचाखच इन्द्रचोक फनफनी घुम्यो ।

‘यहाँ पनि इन्द्रचोक, टुँडिखेल, रानीपोखरी छ । मठ, मन्दिर, गुठी भवन छ । इन्द्रजात्रा हुन्छ । एकनासको घरहरू भएको नेवार बस्ती हो’, ती अपरिचित व्यक्तिले त्यो ठाउँलाई परिचित गराए ।

नेवार बस्तीका पाका अनुभवी गोविन्दप्रसाद श्रेष्ठ र महेन्द्रकुमार श्रेष्ठलाई भेट्न पनि उनले सुझाए । बस्तीमा पस्दा भक्तपुर, ललितपुर र काठमाडौंको झझल्को दियो । त्यही टोलमा भेटिए ८३ वर्षीय गोविन्दप्रसाद श्रेष्ठ ।

८३ वर्षीय गोविन्दप्रसाद श्रेष्ठ

उनको पुर्ख्यौली थलो भने ललितपुर रहेछ । पुर्खाहरू उताबाट यहाँ आउनुभएको हो’ गोविन्द भन्छन्, ‘भक्तपुर, काठमाडौं, प्युठान र पाल्पाबाट आउनुभएको नेवारहरू पनि हुनुहुन्छ ।’

कुन ठाउँबाट को पहिले आए ? किन आए ? कति संख्यामा आए ? यसको ठ्याक्कै जवाफ छैन । तर श्रेष्ठको कथन अनुसार कोही पृथ्वीनारायण शाहको आक्रमणमा ज्यान जोगाउन काठमाडौं उपत्यकाबाट पश्चिमको डोटी पुगे ।

कोही व्यापारको सिलसिलामा पुगे । कोही काठमाडौं उपत्यकामा रोगको महामारी भएपछि भागेर त्यहाँ पुगे ।

‘धेरैजसो काठमाडौं उपत्यकाबाट आउनुभएकाहरू हुनुहुन्छ । हाम्रो पुर्खाहरू आएर इन्द्रचोक बनाउनुभएको हो । काठमाडौं उपत्यकाका नेवारहरूले मनाउने जस्तै हरेक जात्रा पर्व मनाउँछौं । तर नेवारी भाषा आउँदैन । अजिहरूले बोल्नुहुन्थ्यो’ आफ्नो मातृ भाषा नजानेकोमा थकथकाउँदै उनी भन्छन्, ‘भाषा नजाने पनि लाखे जात्रा, गाईजात्रा चाडपर्व मनाउँछौं नि !’

अहिले पनि उनलाई पुर्खाको थातथलोको माया लाग्छ । ‘पुर्खाहरू जन्मिएको ठाउँ हेर्न ललितपुर गएको थिएँ । पुर्खाको थातथलो भनेर खुशी लाग्यो । तर कसैले पनि यही ठाउँ हो भनेर देखाउन चाहेनन्’, उनी भन्छन् ।

‘किन नि ?’, हामीले सोध्यौं ।

‘अंश खोज्न आयो भनेर होला नि’, उनले मन खिन्न बनाए ।

उनी अंश खोज्न होइन, पुर्खाको इतिहास बुझ्न ललितपुर आएको सुनाए । त्यसपछि उनले पुर्खाको थातथलोबारे धेरै चासो दिएनन् ।

उनी सिलगढी नै फर्किए ।

डोटीको दिपायल सिलगढीको नेवार बस्ती

तिनताक सिलगढीमा ठूलो गौंडो थियो । हुम्ला दार्चुलाका मानिसको केन्द्र थियो, सिलगढी । ‘सुदूरपश्चिम र कर्णालीका मानिसको घुइँचो लाग्थ्यो’ बाल्यकाल सम्झँदै श्रेष्ठ भन्छन्, ‘घर अगाडि बाटो काट्न हम्मेहम्मे पथ्र्यो ।’

भेडा र खच्चडका बथान हुन्थे । ‘आम्मामा ! चार पाँच हजार भेडा । मानिसको हूल । व्यापार व्यवसाय ओहो ! अचेल सिलगढीमा सन्नाटा छ’, ती दिनहरू सम्झेर उनी आफैं चकित पर्छन् ।

पहिले ठूला–ठूला पसल थिए– बन्द भए । व्यापार–व्यवसाय छैन । ‘ऊ हेर्नुहोस् त घरहरूमा ताला लागेको’, उनको घर छेउकै घरमा ताला लागेको छ ।

श्रेष्ठको घर नजिकै छ– ‘नेवागडी होमस्टे’ । तर होमस्टेमा अचेल खासै पाहुना आउँदैनन् । होमस्टेमा नेवारी कला, संस्कृति झल्कने तस्वीरहरू टाँगिएको छ । तर अचेल युवा जनशक्ति नभएपछि कतिपय जात्रा पर्वहरू पनि ओझेल पर्न थालेका छन् ।

‘यहाँबाट मानिस पलायन भइसके । पहिले नै विकास भएको ठाउँ, अहिले विकासको नामोनिशान छैन’, श्रेष्ठ भन्छन् । गोविन्दको छोरा पनि धनगढी सरिसके । उनको इलेक्ट्रोनिक पसल छ । जसले गर्दा उनले सिलगढी छोडेका छैनन् ।

डोटीमै एमएसम्मको अध्ययन गरेका श्रेष्ठले ३६ वर्ष शिक्षा सेवामा काम गरे । अहिले डोटेली संग्रहालय बनाएर सोही क्षेत्रको कला संस्कृतिको संरक्षणमा पनि जुटेका छन् । उनी डोटेली नेवार समाजको अध्यक्ष समेत छन् । ‘रिटायर्ड जीवनमा सामाजिक काम गरौं भनेर बसेको हुँ’, उनी भन्छन् ।

पसल छ, तकुवा टोपी छैन

‘भक्तपुरे तकुवा टोपी यहाँ पाइन्छ’ डेढ सय वर्ष पुरानो दोकानको बोर्डमा लेखिएको छ । पसलका साहुजी बाबुराजा श्रेष्ठका बाजेहरूले भक्तपुरबाट आएर खोलेको पसल हो यो ।

तर अहिले भक्तपुरे तकुवा टोपी यहाँ पाइँदैन । ‘पहिले पाइन्थ्यो । अहिले किन्ने मानिस छैन । कसले ल्याउने ? टोपी आउन पनि छोड्यो’ बाबुराजा भन्छन्, ‘अहिले लोप हुँदै गयो ।’

७४ वर्षीय महिन्द्रकुमार श्रेष्ठको अहिले पनि स्टेशनरी पसल छ । उनको पुर्खा पनि भक्तपुरबाट गएको हो ।

‘पुष्कर शाहको राज्य थियो । त्यो समयमा भक्तपुरबाट ५ बाजे आउनुभएको रहेछ । तीन बाजे यहीं बस्नुभएछ । दुई बाजे उतै फर्किनुभएछ । यसरी हाम्रो बसोबास यहाँ भएको हो’, उनले इतिहास सम्झिए ।

डोटीमा २०३८ सालमा मात्र हो गाडी पुगेको । त्यसैले उनका पुर्खाहरू भक्तपुरबाट हिंडेरै डोटी पुगेर बस्ती बसालेका थिए । ‘हाम्रो सात पुस्ता भइसक्यो यतै बसेको । यतै जन्मेको’, उनी भन्छन् ।

उनका अनुसार सिलगढीमा सुरुमा नेवारहरूको सानो बस्ती थियो । ‘इन्द्रचोकबाट बस्ती सुरु भएको हो । जनसंख्या र परिवार बढ्दै गएपछि बस्ती झाङ्गियो’, उनी भन्छन् ।

७४ वर्षीय महिन्द्रकुमार श्रेष्ठ

उनी पनि पुर्खाको थातथलो हेर्न भक्तपुर आएका थिए । ‘भक्तपुर राम्रो बाक्लो बस्ती पो रहेछ, पुर्खाको थातथलोमा पाइला त पर्‍यो तर कसैलाई चिन्न सकिएन ।’ त्यसपछि उनी पनि सिलगढी नै फर्किए ।

राणा–राजाको समयमा सिलगढीमा विकास थियो । गुल्जार थियो सिलगढी । ‘सानो हुँदा यो बजारमा हिंड्न नसक्ने भीड थियो । सेती, महाकाली र कर्णालीका मानिस आउँथे । जुम्लादेखि आउँथे । खच्चडबाट सामान आउँथ्यो’, श्रेष्ठ बाल्यकालमा पुग्छन् ।

२००४ सालमा क्याम्पस खुलेको थियो डोटीमा । उनले आईएसम्मको अध्ययन गरेका छन् । ‘अहिले बजार ठप्प छ । शिक्षा, स्वास्थ्यको अवस्था नाजुक छ’, उनी भन्छन् ।

त्यति मात्र होइन लाखे जात्रा, इन्द्रजात्रा, लिङ्गो गाड्ने चलन पनि हट्दै गएकोमा चिन्तित छन् उनी । ‘भाषा नजाने पनि पर्वहरू मनाउने गरेका छौं तर अचेल ओझेलमा परेको छ’ उनी भन्छन्, ‘आफ्नो नेवारी भाषा लोप भएकोमा दुःख लाग्छ ।’

राणा र राजाहरूले सँगै लगेर नेवार बस्ती बसाले तर अहिले फेरि यो ठाउँमा नेवारहरू नभेटिने अवस्थामा पुगेको दुःखेसो गर्छन् श्रेष्ठ । उनको एक छोरा काठमाडौं र अर्को छोरा धनगढी सरिसके ।

 

नेवार बस्ती र ताला लागेको घर

काकाले त घरमा ताला झुन्ड्याएर हिंडिसके । १५ वर्षअघि श्रीमती गुमाएका उनी अहिले एक्लै बस्दै आएका छन् । ‘पसलले गर्दा अल्झिएर बसेको हुँ । एक्लै छु । कुन दिन ताला लाग्छ थाहा छैन’, उनी भन्छन् । नेवार बस्तीका प्रत्येक घरमा १०–१२ जना हुन्थे अहिले ताला लागेको छ ।

इन्द्रचोकमा भेटिए– ‘इन्द्रचोक’कै दिपेन मल्ल श्रेष्ठ । उनको पुर्खाको घर काठमाडौंको इन्द्रचोकमा रहेछ । उनको पनि सात पुस्ता भयो सिलगढीमा बस्न थालेको ।

‘व्यापारको सिलसिलामा एक जना बाजे आउनुभएको रे ! यहीं विवाह गरेर परिवार बनाउनुभएको रहेछ’ उनी भन्छन्, ‘जीवनयापनको लागि व्यापारको हिसाबले आउनुभएको हो ।’

दिपेनलाई आफ्ना पुस्ता पनि काठमाडौंकै इन्द्रचोकमा बसेको भए हुन्थ्यो लाग्छ । ‘पुर्खाको ठाउँ हेर्न काठमाडौंको इन्द्रचोक गएको थिएँ । बाजेहरू काठमाडौंको इन्द्रचोक बसेको भए राम्रो हुन्थ्यो नि’, सिलगढीको इन्द्रचोकमा बसेर उनले भने ।

दिपेन मल्ल श्रेष्ठ

काठमाडौं इन्द्रचोकको जग्गा पुर्खाले बेचबिखन गरेर आए कि त्यतिकै छोडेर आए होला सोचमग्न हुन्छन् दिपेन । ‘शहरको थातथलो नछोडेको भए यहाँको भन्दा राम्रो हुनेथियो नि’, उनी भन्छन् ।

नेवार मात्र होइन यो बस्तीमा ६–७ परिवार गुरुङहरू पनि भेटिन्छन् । ‘१८९० तिर कास्कीको पोखरा–घान्द्रुकबाट आएका हौं’ देवेन्द्रप्रसाद गुरुङले भने, ‘हाम्रो पुस्ता फौजीसँग आएको हो ।’

राणाहरूको सहयोगीको रूपमा आएर पुर्खाहरूले बस्ती बसालेको उनी बताउँछन् । उनलाई यो कुरा उनको बुबाले सुनाएका हुन् । त्यसैले देवेन्द्रले आफ्ना पुस्ताको रेकर्ड टिपेर राखेका छन् । ‘यतै हाम्रो सात पुस्ता भइसक्यो’ उनी भन्छन्, ‘राणा–राजाको समयमा शहर जस्तै थियो । अहिले बसाइँसराइले सुनसान बनेको हो ।’

क्षेत्रीय सदरमुकाम हुँदासम्म दिपायल–सिलगढी क्षेत्रमा बास बस्न पनि कठिन हुन्थ्यो । राजनीतिक परिवर्तनसँगै केन्द्रहरू सर्दै गए । यस क्षेत्रका मानिस पनि जता केन्द्र त्यतै सर्दै गए । घरमा ताला लगाएर नेवार बस्तीका अधिकांश मानिस प्रदेश सदरमुकाम धनगढी झरेका छन् ।

देवेन्द्रप्रसाद गुरुङ ।
नेवार समुदायले मनाएको जात्राको फोटो

लेखकको बारेमा
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?