+
+

सञ्चालनमा आएको दुई वर्षपछि तरकारी बजार उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २३ गते १५:३०

२३ चैत, दाङ । दाङको तुलसीपुरस्थित तरकारी तथा फलफूल बजार सञ्चालनमा आएको दुई वर्षपछि उद्घाटन गरिएको छ । एमालेका महासचिव शंकर पोखरेलले तरकारी बजारको उद्घाटन गरेका हुन्  ।

८ मंसिर २०७६ मा निर्माण सम्पन्न भएपछि त्यहाँ तरकारी तथा फलफूल बजार सरिसकेको थियो । तुलसीपुर उपमहानगरपालिकाले बहुआयामिक तुलसी ट्रेड टावर बनाउने भनि साबिकको स्थानबाट तरकारी बजार सारेको थियो । तर, त्यसको साढे २ वर्ष पुग्नै लाग्दा तरकारी बजारको उद्घाटन गरिएको हो ।

तरकारी बजार दुई करोड ३५ लाख ४५ हजार लागतमा निर्माण पूरा भएको हो । निजी सरकारी साझेदारी सिद्धान्त अनुरुप सरकारको १ करोड २ लाख ४५ हजार र व्यवसायीको १ करोड ३३ लाख लागतमा उक्त तरकारी बजार निर्माण भएको हो ।

२१ असार  २०७५ देखि निर्माण सुरु भएको बजारको ८ मंसिर  २०७६ मा निर्माण काम पूरा भएको थियो । मावि सेन्टर तुलसीपुरको १३ कठ्ठा जग्गालाई २० वर्षसम्मको लागि भाडामा लिएर तरकारी बजार निर्माण गरिएको हो । यसका लागि व्यवसायी, विद्यालय र उपमहानगरपालिकाबीच सम्झौता भएको छ ।

तरकारी तथा फलफूल बजार व्यवस्थापन समितिका सचिव झुपलाल खड्काका अनुसार अहिले यहाँ ३८ वटा स्टल छन् । ती मध्ये १९ वटा फलफूल व्यापार, १७ वटा तरकारी, एउटा कार्यालय र एउटामा चमेनागृह छ ।

चारलेन सडक अलपत्र पार्ने ठेकेदारको बचाउ 

तरकारी बजार उदघाटनगर्दै  लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका पोखरेलले लमही–तुलसीपुर चारलेन निर्माण कार्य अलपत्र पार्ने ठेकेदारको बचाउ गरेका छन् ।

‘लमही–तुलसीपुर सडकलाई चारलेन बनाउने हाम्रो योजना छ । तर, अहिले एउटा ठूलो आरोप मेयरका छोरासँग जोडेर भइरहेको छ,’ उनले थपे, ‘खासमा उहाँले ठेक्का लिएको होइन्, सहजीकरण गरेको हो । पछि काम अगाडी नबढेपछि उहाँले (अनुप पाण्डे) अहिले जिम्मेवारी छोडि सक्नु भएको छ। अब केन्द्र सरकार र सम्बन्धित ठेकेदारले सडक निर्माणको जिम्मा लिएर छिटो निर्माण गर्नुपर्छ ।’

निर्माण व्यवसायी अनुप संघीय सरकारले विस्तार गर्न लागेको तुलसीपुर-घोराही चार लेन सडकको पेटी ठेकदार हुन् ।

घोराही-तुलसीपुरको २८ किमि चारलेन सडक निर्माण  कार्य अहिलेसम्म सकिनु पर्ने समयमा पाण्डेले ७ प्रतिशत मात्रै काम गरेका छन् । सडक चारलेनको कार्य अलपत्र पर्दा थुप्रै  दुर्घटनाहरु हुने गरेका छन् । अहिलेसम्म सो सडकमा २२ जनाले ज्यान गुमाइ सकेका छन् ।

तुलसीपुर-घोराही सडक अलपत्र पारेको दोष स्थानीयबासिन्दाले मेयर पाण्डे र उनका छोरालाई दिँदै आएका छन् । काम गराउने मजदुरलाई समेत ज्याला नदिएको र ठगी गरेको आरोपमा मेयर पाण्डेका छोरा अनुप पक्राउ परेर छुटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?