+
+

विगत भुलेर चम्किएका दीपेन्द्र

‘नेभर गिभ अप’ अर्थात् कहिल्यै हार नमान ! सन् २०१६ मा यू–१९ विश्वकप खेलेर फर्किएपछि उनले यो टाटू खोपाएका हुन् । ‘देशको प्रतिनिधित्व गरेपछि कहिल्यै हार मान्न हुँदैन,’ दीपेन्द्रको आफ्नै दर्शन छ ।

कुशल तिमल्सिना र गोविन्दराज नेपाल कुशल तिमल्सिना र गोविन्दराज नेपाल
२०७८ चैत २४ गते १७:१५

२४ चैत, काठमाडौं । स्टार क्रिकेटर दीपेन्द्र सिंह ऐरीले आफ्नो बायाँ हातमा खोपाएको टाटूमा लेखिएको छ– ‘नेभर गिभ अप’ अर्थात् कहिल्यै हार नमान !

सन् २०१६ मा यू–१९ विश्वकप खेलेर फर्किएपछि उनले यो टाटू खोपाएका हुन् । ‘देशको प्रतिनिधित्व गरेपछि कहिल्यै हार मान्न हुँदैन,’ दीपेन्द्रको आफ्नै दर्शन छ ।

पाँच वर्षयता सिनियर राष्ट्रिय टोलीको प्रमुख सदस्य रहँदा उनी धेरै राम्रा र नराम्रा नतिजाको साक्षी रहे । राष्ट्रिय टोलीको उपकप्तानसम्म भएका उनी क्रिकेटमा रमाइरहे । तर चार महिनाअघि नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीहरुबीच भएको विवाद उत्कर्षमा पुग्दा भने दीपेन्द्रले झण्डै हार मानेका थिए । ‘त्यतिबेला मानसिक दबाव यति धेरै थियो कि खेलका बेला हुने दबाव त एकछेउ पनि होइन,’ त्यो क्षण सम्झिँदै दीपेन्द्र भन्छन्, ‘एउटा क्षणमा त मलाई पनि अब करिअर यत्ति हो कि भन्ने लागेको थियो ।’

खेलाडी ग्रेडिङमा असन्तुष्टि जनाएपछि सुरु भएको विवाद चार जना खेलाडीमाथि कारबाहीसम्म पुगेको थियो । क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रलाई उपकप्तानबाट हटाएको थियो भने ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमल सिंह ऐरीलाई ६ महिनासम्म सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने निर्णय गरेको थियो ।

त्यहीबेला दिपेन्द्र आफूले रोजेको खेल नै छाड्नेसम्म सोचेका थिए । क्यानले गरेको कारबाहीप्रति असन्तुष्टि जनाउँदै कारबाही नपरेका खेलाडीहरुले पनि नखेल्ने चेतावनी दिएका थिए । परिवार, साथीभाइ, नेपाल पुलिस टिम सबैतिरबाट खेल नछाड्न दबाव थियो, क्रिकेट संघ पनि कारबाही फिर्ता लिन तयार भयो ।

टी–२० विश्वकप छनोट प्रतियोगिता नजिक आइसकेका कारण क्रिकेटरहरुले पनि बन्द प्रशिक्षणमा फर्किए । बन्द प्रशिक्षणमा सहभागी हुँदासम्म पनि दीपेन्द्रलाई क्रिकेट खेल्छु जस्तो लागेको थिएन । तर देशको प्रतिनिधित्व गर्दै मैदान उत्रिएपछि जस्तो बेलामा पनि आफ्नो बेष्ट दिनुपर्छ भन्ने बुझेका थिए ।

भन्छन्, कुशल (भुर्तेल), रोहित (पौडेल) लगायतसँग कुरा गरेँ, उनीहरुको त अझै लामो करिअर बाँकी छ भन्ने लाग्यो । त्यसैले टिममा पर्‍यौं भने देखिने गरी खेल्ने कुरा भयो ।’

त्यही सकारात्मक ‘इगो’ले पनि काम गरेको हुनसक्छ, रोहित, कुशल, कमल, दीपेन्द्रले राम्रो प्रदर्शन गरेका छन् । टी–२० विश्वकप छनोट, युएई र पपुवा न्युगिनी सम्मिलित त्रिकोणात्मक शृंखलादेखि घरेलु मैदानमा मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक शृंखलासम्म आउँदा उनीहरुको प्रदर्शन उल्लेखनीय रह्यो ।

कमलले बलिङमा आफ्नो प्रभाव देखाए भने रोहित, कुशल र दीपेन्द्रले करिअरको पहिलो शतकीय खुसी मनाए । त्रिवि क्रिकेट मैदानमा नेपाललाई त्रिकोणात्मक टी–२० श्रृंखला जिताउन दीपेन्द्रले अलराउण्ड प्रदर्शन गरे । त्यसक्रममा टी–२० अन्तर्राष्ट्रिय करिअरमा १००० रन पूरा गरे । उनले ३९ खेलको ३४ इनिङ्समा १०३३ रन जोडेका हुन्, जुन सफलता अरु नेपाली खेलाडीले पाएका छैनन् ।

‘हामीले विवाद विर्सिएर खेल्न थालेको हो । देशका लागि खेल्नुपर्छ भन्ने भावना छँदै थियो । विश्वकपमा छनोट हुन सकेनौं । युएई भ्रमणमा पनि मेरो प्रदर्शन राम्रो भइरहेको थिएन । लगातार राम्रो खेल्न नसक्दा एक किसिमको दबाव भइहाल्छ,’ दीपेन्द्रले भने, ‘यो श्रृंखलामा राम्रो गर्छु भन्ने सोचेको थिए । पहिलो खेलमा राम्रो भयो भने लगातार राम्रो गर्ने आत्मविश्वास आफैं आउँछ ।’

सन् २०१७ मा आईसीसी विश्वकप लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलमा सिनियर करिअरमा डेब्यू गरेका दीपेन्द्र अहिले टिमका सिनियर सदस्य भइसकेका छन् । पछिल्लो त्रिकोणात्मक श्रृंखलामा पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीलाई आराम दिँदा नेपाल टिम पूर्णतः युवा खेलाडीको भरमा थियो । त्यसमा टिमलाई सम्हाल्ने जिम्मेवारी कप्तान सन्दीप लामिछानेसँगै सोमपाल कामी र दीपेन्द्रहरुकै थियो । दीपेन्द्रले आफ्नो भूमिकामा न्याय गरे ।

सोमबार पपुवा न्यूगिनीविरुद्ध ब्याटिङ र बलिङमा दीपेन्द्रको सुझबुझपूर्ण प्रदर्शनले त्यही भन्छ । पाँच खेलमा एक शतक र दुई अर्धशतकसहित २५५ रन तथा बलिङमा ७ विकेट लिएका उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।

अब उनी विवाद बिर्सिएर अघि बढेका छन् । ‘जति बेलासम्म राम्रो खेल्न सक्छु, त्यतिबेलासम्म खेलिरहन्छु’ भन्ने निर्णयमा पुगेका छन्, र फेरि सपना बुन्न थालेका छन् । दायाँ हातमा खोपिएको आफ्नो क्रिकेट करियरको माइस्टोनमा विश्वकप खेललाई थप्न चाहन्छन् । त्यहाँ यू–१९ विश्वकप, सिनियर रािष्ट्रय टोली, टी–२० अन्तर्राष्ट्रिय र एकदिवशीय अन्तर्राष्ट्रिय डेब्यू मिति रोमनमा खोपिएको छ । त्यसमाथि अंग्रेजीमा लेखिएको छ– इफ नट नाउ, ह्वेन ?

उनी मैदान प्रवेश गर्दा ‘अहिले नभए कहिले ?’ भन्ने त्यही लाइन हेर्छन्, जसले छुट्टै प्रेरणा दिन्छ ।

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?