News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ र शनिबारसम्म काम सकिने अपेक्षा गरिएको छ।
- नेपाल प्रिमियर लिगको दोस्रो संस्करण सुरु हुन ११ दिन बाँकी छ र फ्लडलाइटमा खेल हुने वा नहुने क्यानको निर्णयमा भर पर्छ।
- क्यानले सबै खेलहरू फ्लडलाइटमा खेलाउने योजना बनाएको छ र खेलतालिका छिट्टै सार्वजनिक गरिने छ।
२० कात्तिक, काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको छ ।
रंगशालामा राखिने ६ वटा फ्लडलाइटका टावरहरू उठाइसकेको अवस्थामा अहिले लाइट जडानको काम भइरहेको छ । १६०० वाटको ७० वटा बत्ती एउटा टावरमा जडान हुनेछ । ६ वटा टावरमा कूल ६ लाख ७२ हजार वाट क्षमताको लाइटले त्रिवि मैदानमा प्रकाश दिनेछ ।
२ वटा टावरमा बत्ती जडानको काम भइसकेको छ भने २ वटा टावरमा अहिले जडानको काम भइरहेको छ । त्यस्तै अर्को दुई टावरमा लाइटहरू जडान गर्न बाँकी नै छ ।
फ्लडलाइट जडानका आयोजना प्रमुख सौरभ साहले शनिबारसम्म लाइट जडानको काम सकिने बताएका छन् ।
‘लाइटहरू बाहिरबाट आउने भएकाले केही ढिलाइ भएको हो, लाइट आइपुग्दै छ शनिबारसम्म जडान भइसक्छ’ साहले अनलाइनखबरसँग भने, ‘अब टेस्टिङको काम त हाम्रो बेलुकामा भइरहेको नै छ।’
एनपीएलका खेल रातिमा होला ?
नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब ११ दिन मात्र बाँकी छ । यस्तोमा अहिले एनपीएलको खेल फ्लडलाइटमा हुन्छ वा हुन्न भन्ने चासो सबैमा छ ।
साहले एनपीएलकै खेल खेलाउने गरी काम सकाउन सक्दो प्रयास भइरहेको बताए । यद्यपी उनले बाँकी समय पूर्णरूपमा पर्याप्त भने नहुने बताएका छन् ।

‘१० दिनमै सबै पूर्णरूपमा गर्नलाई पर्याप्त समय त होइन, तर हामी सक्दो प्रयास गरिरहेका छौं । हाम्रो चाहना पनि एनपीएलका खेल लाइटमा खेलाउन सकियोस् भन्ने नै हो’ साहले भने ।
‘एक दिनमा एउटा पोल टेस्ट गरेपनि ६ दिनमा टेस्टिङ सकिन्छ, अब एनपीएलका खेलहरू रातिमा गराउने वा नगराउने भन्ने त क्यानकै निर्णयमा भर पर्छ’ साहले थपे ।
नेपाल क्रिकेट संघ (क्यान)ले भने एनपीएलको खेलतालिका पनि सार्वजनिक गर्न बाँकी छ ।
क्यानका प्रवक्ता छुम्बी लामाले सबै खेलहरू फ्लडलाइटमै खेलाउने योजना रहेको बताएका छन् । ‘हाम्रो योजना त सबै खेल फ्लडलाइटमा खेलाउने नै हो, तालिका पनि अब आज-भोलिमा सार्वजनिक हुन्छ’ लामाले भने ।
‘निर्माण कम्पनीले पनि तीव्र रूपमा काम गरिरहनुभएको छ, हाम्रो चाहना त एनपीएल रातिमै खेलाउने भन्ने नै हो, यो ऐतिहासिक अवसर पनि हो’ लामाले भने ।
प्रतिक्रिया 4