+
+
स्थलगत १४ : स्थानीय तह निर्वाचन २०७९ :

‘पहिले लालपूर्जा देऊ, अनि मात्र भोट’

पोखरा बसपार्कका सुकुम्बासी, जो चुनावमा भोट बैंकमात्र बनिरहे

स्थानीय तह मात्र होइन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सुकुम्बासी तथा अव्यवस्थित रुपमा बस्नेहरुको मत निर्णायक हुने गरेको छ । यो तथ्यलाई बुझेका राजनीतिक दलले हरेक चुनावमा सुकुम्बासीलाई आश्वासन दिँदै मत लिन्छन् र चुनाव जितेपछि आफूले दिएको आश्वासन बिर्सिन्छन् ।

अमृत सुवेदी विकास रोकामगर अमृत सुवेदी, विकास रोकामगर
२०७८ चैत २७ गते २०:२५

२७ चैत, पोखरा । २०६१ सालमा प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिपरिषदले निर्णय गर्‍यो, सुकुम्बासी व्यवस्थापन गरेर पोखरा बसपार्क निर्माण गर्ने । त्यो बेला पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष थिए, राप्रपाकै क्षेत्रबहादुर केसी ।

तत्कालीन समयमा ८१ रोपनी क्षेत्रफलमा बसपार्क बनाउने र बाँकी रहेका स्थानमा बसोबास गर्नेलाई व्यवस्थित गर्ने भनेर योजनाअनुसार बसपार्कभित्रबाट सेतीको डिलतिर सुकुम्बासी सार्न थालियो ।

८१ रोपनी खाली गर्ने क्रममा बसपार्क छेउकै सहारा टोलमा ११५ घर सारियो । शिव पार्वती टोलमा बसोबास गर्दै आएकालाई पनि सारियो । सुकुम्बासी स्थान्तरणको काम जारी थियो । पोखरा उपत्यका नगर विकास समितिका पदेन सदस्य तत्कालीन वडा नं. ९ का अध्यक्ष जयलाल पुनको नेतृत्वमा सुकुम्बासी स्थानान्तरण गरिँदै थियो । उनकै घरमा बम पड्कियो ।

सुकुम्बासी आन्दोलनमा उत्रिए । त्यही बेला माओवादीको सशस्त्र विद्रोह उत्कर्षमा थियो । तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन हातमा लिए । दलहरुले आन्दोलनमा उत्रिए, राजाको प्रत्यक्ष शासन ढालेर देशमा गणतन्त्र आयो । सुकुम्बासीहरु फेरि शिव टोलमा फर्किए र टोलको नाम राखे गणतान्त्रिक टोल ।

गणतन्त्र टोल ।

तर गणतन्त्र आएको १३ वर्षसम्म पनि न सुकुम्बासी समस्या सुल्झियो, न दुःखको घाउमा शान्तिको मल्हम लाग्यो । पोखरा बसपार्क क्षेत्रभित्र यस्ता ६ वटा टोल छन्, जुन टोलमा बसोबास गरेकाहरुको व्यवस्थापन प्रत्येक चुनावमा राजनीतिक दलको चुनावी नारा बन्छ । तर चुनाव सकिएपछि सबैले यसलाई बिर्सिन्छन् ।

गणेशमान पुन ।

‘लालपूर्जा पाइन्छ भनेर कुन दललाई भोट हालिएन ! कुन दलको झण्डा बोकिएन !,’ गणेशमान पुन भन्छन्, ‘हामी त चुनावी हतियारमात्र बन्यौं । चुनाव सकियो, हाम्रो महत्व पनि सकियो । हाम्रो साँघुरो गल्ली र झुप्रोमा गणतन्त्र आएन ।’

०००

काँचो ब्लकको आडमा उभिएको भित्ता, सानो टिनले छाएको २ कोठे झुप्रो । त्यही झुप्रोमा धनकुमारी दुरा (६०) ले आफ्नो जीवनको अमूल्य ३० वर्ष बिताइन् । छोराछोरीलाई जन्माइन्, हुर्काइन्, बढाइन् ।

टिनको टहरोभित्र जाडोमा झनै जाडो र गर्मीमा झनै गर्मी भोग्दै आएकी उनी चैतको गर्मीमा टिन तातिएर बाफिँदा कोठामा बस्न सक्दिनन् ।

धनकुमारी दुरा ।

बाहिर आउँछिन्, तर बाहिर पनि कहाँ शीतल हुन्छ र ? उस्तै चर्को गर्मी ।

‘यो ठाउँ कृष्ण टोलमा लैजाने कि शिव टोलमै राख्ने भन्ने तानातान हुँदा गणतन्त्र टोल भा’हो,’ दुरा सुनाउँछिन्, ‘तानातानमा टोलको त नाम फेरियो, हामी उस्तै छौं !’

उनले भने जस्तै त्यहाँ पुग्ने जो कोहीलाई लाग्छ, वस्तीको नामले गिज्याइरहेको छ ! किनकी यहाँका वासिन्दाले गणतन्त्र आएको महसुस गर्नै पाएका छैनन् ।

पहिले उनी ज्याला मजदुरी गरेर जिविको चलाउँथिन् । बुढेशकाल लागेपछि ज्याला मजदुरीमा जान छोडिन् । ‘पहिले त म पनि सिमेन्ट बोक्थें, मसला (बालुवा र सिमेन्ट मिश्रण गर्ने काम) बनाउँथे । अहिले बुढी भएर छोडेकोे,’ उनी सुनाउँछिन् ।

शान्तिवन टोल ।

जीवन साथीले छोडेर गएको पनि धेरै वर्ष भइसकेको छ । मिति पनि प्रष्ट सम्झना छैन । त्यही घरमा हुर्केकी छोरीको बिहे भइसकेको छ । अहिले उनको सहारा छोरो हो, जो बिहीबार पनि मजदुरीमा गएका थिए । जीवनको ढिकमा उभिएकी दूराको एउटै सपना छ, ‘हामीलाई पनि यो देशकै मुन्छे ठानिदिओस्, लालपूर्जा दिलाओस् ।’

०००

पोखरा सेती नदी आडैमा छ, विष्णुमाया विकको एक तले घर । शान्तिवन टोल (सुकुम्बासी वस्ती) की विकको मुखमा माड लगाउने बाटो नै सेती नदी थियो ।

उनी जस्तै पोखरामा रहेका अधिकांश सुकुम्बासी बस्तीका नागरिकको मुख्य पेशा मजदुरी हो । रामघाट आसपासका सकुम्बासीहरु त्यही बालुवा, चाल्ने, बोक्ने काममा आश्रित थिए ।

मजदूरहरुले बालुवा चालेर एक ट्रिप बेच्दा ४ हजार रुपैयाँ कमाउँथे । बतास समूहलाई ३५ वर्षसम्म दिने भनिएको रामघाटमा १ हजारबढी मजदुर आश्रित थिए ।

विष्णुमाया विक ।विवादका कारण अहिले यहाँको ठेक्का लागेको छैन । आफूखुसी बालुवा खोस्रेर बेच्न गर्न रोक लगाएको छ, जसले बालुवा चालेर जिविका चलाउनेको रोजीरोटी संकटमा छ । ‘यही बगरमा बालुवा बोकेर जेनतेन ज्यान पालेका थियौं । अहिले नगरपालिकाले त्यो पनि रोकिदियो,’ बोल्दाबोल्दै विष्णुमाया भक्कानिन्छिन्, ‘न जग्गाको पूर्जा दिए, न बालुवा खोस्रेर खान !’

०००

गणतन्त्र टोल जस्तै कृष्ण टोल, शिव टोल, सहारा टोल, शन्तिवन, शुभकामना टोल सुकुम्बासीले भरिएको छ । प्रत्येक चुनावमा पोखरा बसपार्कसँगै यहाँका सुकुम्बासीहरुको समस्या समाधान गर्ने दलहरुको एजेण्डा बन्छ ।

कृष्ण टोल ।

सुकुम्बासी बस्तीकै कृष्ण विक ट्याक्सी चलाउँछन् । आफूहरुबारे छानबिन गरेर भए पनि चाँडै लालपूर्जा दिन वा अन्यत्र व्यवस्थापन गरिदिनुपर्ने उनको माग छ ।

‘म यहीँ जन्मिएँ, यही जन्मिएका मेरा छोराछोरी लक्का जवान भइसके,’ ३८ वर्षीय विक भन्छन्, ‘सरकारले यसको छिनोफानो बरु छिट्टै गरोस् ।’

कृष्ण विक ।

चुनावताका ‘लालपूर्जा पाइन्छ कि भन्ने लाग्ने र दशैं, तिहारजस्ता चाडताका सरकारले भत्काउने रे !’ भन्ने हल्ला सुकुम्बासी बस्तीमा वर्षेनी चल्ने उनीहरुको गुनासो छ ।

‘मेयर सा’ब भोट माग्न आउँदा सबै समस्या सल्ट्याउँछु भन्नु भएको थियो पछि नगरपालिका जाँदा चिन्नुभएन,’ खिमबहादुर सुनारले भने, ‘देशमा ३/३ वटा सरकार भएर पनि हाम्रो घरदैलोमा आएन, कोरोना कालमा त राहत पनि पाएनौं ।’

बस्तीकै नेताहरुले पनि राजनीतिक गुमराहमा राख्ने गरेको उनीहरुको दुखेसो छ । ‘हामी एक भयौं भने कसलाई जिताउने वा हराउने ल्याकत राख्छौं । वडामा त निर्णायक नै बन्छौं । तर काम हुने बेलामा एउटा न एउटा दलले भाँजो हाल्ने काम हुन्छ,’ कृष्ण भन्छन्, ‘अन्तर्राष्ट्रिय विमानस्थल बन्नेबित्तिकै यो बसपार्कले धान्दैन । बेलैमा यसलाई व्यवस्थित गराएर, हामीलाई पनि कतै ब्यवस्थापन गरेर लालपूर्जा दिए, सरकारलाई सहयोग गर्छौं ।’

समस्या बढेको बढ्यै

२०२९ सालमा अञ्चलाधीश शंकरराज पाठकको नेतृत्वमा प्लानर पदमबहादुर क्षेत्रीले पोखराको भौतिक विकास गुरुयोजना बनाए । त्यही अनुसार भौतिक विकासको जग हाल्ने काम भयो । गुरुयोजनाअनुसार नै टेकेर पोखरा बसपार्क बनाउन २०३३ सालमा २०५ रोपनी जग्गा अधिग्रहण गरियो ।

२०३८ सालतिर पोखरा विमानस्थलबाट २७ घर परिवारलाई बसपार्कमा ल्याएर राखियो । बसपार्क सञ्चालन आएपछि मानिसहरुलाई खाजा खानाको व्यापार गर्नका लागि ल्याइएको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि पोखराका अन्य ठाउँमा जस्तै बसपार्क क्षेत्रमा पनि सुकुम्बासी थपिए ।

‘बसपार्कको जग्गा अधिग्रहण गर्दा मुआब्जा बुझेका केही मान्छेहरुका लालपूर्जा पनि खोसिएन । केही मुआब्जा लिन नमानेर मुद्दा सर्वोच्च अदालतसम्म पुगे,’ तत्कालीन वडाध्यक्ष जयलाल पुन भन्छन्, ‘पछिल्ला प्रत्येक राजनीतिक परिवर्तनपछि सुकुम्बासी थपिँदै गए । सबैजसो दलको संरक्षणमा सुकुम्बासी राखियो । लालपूर्जाको आशमा सुकुम्बासीहरु सबै पार्टीको बने ।’

नेपाली कांग्रेसका विष्णु बास्तोला अध्यक्ष हुँदा बसपार्कको विवाद मिलाउने नाममा धेरैले स्वार्थपूर्ण हिसाबले लालपूर्जा हात पारेको जानकारहरु बताउँछन् । पृथ्वी राजमार्ग निर्माण गर्दा आफ्नो जग्गाहरु पनि गएको भन्दै केहीले लालपूर्जा हात पारे । ‘प्रलोभन देखाउने, भोट लिने क्रम चलिरह्यो । यसमा कांग्रेस, एमाले, माओवादी कुनै पनि पार्टी अछुतो छैनन्,’ जयलाल भन्छन् ।

बसपार्कको लागि अधिग्रहण गरिएको २०५ रोपनी जग्गामध्ये करिब ४० रोपनी जग्गामात्र सुरक्षित रहेको वडा नम्बर ९ का वडाध्यक्ष रामराज लामिछाने नेतृत्वले गरेको अध्ययनले देखाएको छ ।

बासपार्कको जग्गाभित्र सुकुम्बासी घरधुरी २७६ पुगिसकेको छ भने आसपासको क्षेत्रमा ६०० भन्दा बढी सुकुम्बासी परिवार छन् ।

सहारा टोल ।

‘बसपार्क र सुकुम्बासीका मुख्य ४ खाले समस्या छन्, जुन समस्यामा खेलेर प्रत्येक दलले बसपार्क र सुकुम्बासीको विषयलाई भोट बैंक बनाउने खेल खेल्दै आइरहेका छन्,’ पोखरा उपत्यका नगर विकास समितिका पूर्व अध्यक्ष विश्वपप्रकाश लामिछानेले भने, ‘प्रत्येक चुनावमा बसपार्क र सुकुम्बासीको समस्या उठ्छ, दलहरुले प्रलोभन देखाउँछन् र चुनाव जितेपछि छोड्छन् ।’

‘पहिले लालपूर्जा दिऊ, अनि मात्र भोट’

पोखरा महानगरपालिकामा वडा नं. ९ यस्तो वडा हो, जहाँ सुकुम्बासी मत निर्णायक जस्तै बन्छ । यहाँ कुल मतदाता ४ हजार ९०० छन्, जहाँ सकुम्वासीको घरधुरी मात्रै ८०० भन्दा बढी छ । वडा नं. ९ मा नेपाली कांग्रेसका रामराज लामिछाने ११७४ मतका साथ निर्वाचित हुँदा एमालेका गोविन्द तुलाचनले ९८२ र माओवादी केन्द्रले ३३ मत पाएका थिए ।

स्थानीय तह मात्र होइन, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि सुकुम्बासी तथा अव्यवस्थित रुपमा बस्नेहरुको मत निर्णायक हुने गरेको राजनीतिक दलका नेताहरु बताउँछन् । तथ्यांकअनुसार सबैभन्दा बढी सुकुम्बासी वडा नं. ९ मा छन् । ७, १७, ३२, ३३ वडामा पनि उनीहरुको बसोबास छ । त्यसबाहेक पोखराकै वडा नं. १, १० र ११ सुकुम्बासीको बसोबास छ ।

भूमिसम्बन्धी समस्या समाधान आयोगका पूर्व केन्द्रीय सदस्य भीम कार्कीका अनुसार कास्कीमा करिब ४ हजार सुकुम्बासी घरधुरी छन् भने अव्यवस्थित रुपमा बसेका गर्ने परिवारको संख्या करिब १३ हजार । ठूलो संख्यामा भएकाले दलहरुले चुनावमा कसलाई जिताउने वा हराउनेमा उनीहरुको मत निर्णायक मान्छन् ।

त्यसैले हरेक चुनावमा सुकुम्बासीहरुलाई लालपूर्जा दिने आश्वासन बाँड्न दलहरु छाड्दैनन् । हरेक चुनावमा सुकुम्बासी समस्या समाधान गर्छु भनेर जितेकाहरु फर्किएर नआएको भन्दै उनीहरुले अब दलको हतियार मात्र नबन्ने बताएका छन् ।

सावित्री विक ।

शान्तिवन टोलकी सावित्री विक अरु ठाउँमा लालपूर्जा बाँड्दा आफूहरुलाई बेवास्ता गरको गुनासो गर्छिन् । ‘उता चितवनतिर पाइसके । नपा’को हामी कास्कीकाले मात्रै हो,’ हालै चितवन लगायत ठाउँमा लालपूर्जा बाँडेको सुनेको भन्दै उनी भन्छिन्, ‘अहिले लालपूर्जा दिने भनेका छन् । जसले दिन्छ, उसलाई भोट दिने हो ।,’

शान्तिवन टोलमा ४० वर्षदेखि बसेका सुकुम्बासी छन्, जो उनीहरु मणिपाल क्षेत्रबाट नदीपुर हुँदै यहाँ आइपुगेका हुन् ।

हर्क विक ।

‘अब आए भने पहिले लालपूर्जा देऊ, अनि बल्ल भोट दिन्छौं भन्ने हो,’ हर्क विक भन्छन्, ‘नत्र भने यो टोलको कसैले पनि भोट हाल्दैनन् । हामीलाई कसैको एक बोरा नि चाहिएन, एक हजार नि चाहिएन । घरमै गुन्द्री हालेर सुत्ने हो ।’

हरेक चुनावमा लालपूर्जा पाउने आशमा अरुलाई भोट हालेकी कृष्णटोलकी रविना विक आजित भइसकिन् । सुकुम्बासीका नाममा सबै पार्टी राजनीति गरे पनि समस्या जहाँको त्यहीँ रहको उनको गुनासो छ । ‘चुनावमा लालपूर्जा दिन्छु भनेर भोट माग्ने,’ उनी रिसाउँदै भन्छिन्, ‘तर पदमा पुगेपछि फर्किएर नहेर्ने ।’

अरुलाई विश्वास गरेर जिताउँदा कसैले आफूहरुको सहयोग नगरेपछि उनलाई आफैं चुनाव लडौं लडौं लागेको छ । ‘अरुले हेरेनन्, अब आफैं उठ्ने विचारमा छु । सबैले साथ दिन्छु भन्या छन्,’ उनले भनिन्, ‘हेरौं ! लागिरहेको पार्टीले टिकट दिए त लड्ने हो ।’

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?