+
+
बी डिभिजन लिग फुटबल :

खुमलटारको उडान

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत २८ गते २०:२६

२८ चैत, काठमाडौं । सातदोबाटो युथ क्लब र खुमलटार युथ क्लब एउटै जिल्लाका मात्र हैन, एउटै टोलका हुन् । यी दुई क्लब ललितपुर महानगरपालिका वडा ‍नं. १५ बाट प्रतिनिधित्व गर्छन् ।

२०७६ सालको बी डिभिजन लिगमा यी दुई क्लबबीच ए डिभिजनमा उक्लन टक्कर चलेको थियो । अन्तिममा सातदोबाटोले बाजी मार्‍यो र च्याम्पियन बन्दै पहिलो पटक ए डिभिजनमा बढुवा भयो ।

त्यसपछि सातदोबाटोले ए डिभिजनमा पहिलो पटक खेल्दा शानदार प्रदर्शन गर्दै चौथो स्थानमै लिग सकायो । त्यसबाट पनि केही हदसम्म खुमलटारलाई प्रेरणा मिल्यो ।

अघिल्लो पटक एक टिम मात्र बढुवा हुने भएकोले दोस्रो भएको खुमलटार बी डिभिजनमै रह्यो । सातदोबाटोलाई बधाई र शुभकामना दिएको खुमलटारले हिम्मत हारेन । जसरी पनि शीर्ष डिभिजनमा उक्लने लक्ष्य बनायो ।

यस पटक पनि खुमलटार बी डिभिजन लिगमा दोस्रो भयो । अखिल नेपाल फुटबल संघले यस पटक ए डिभिजनबाट दुई क्लब घटुवा गर्‍यो । बी डिभिजनबाट पनि शीर्ष दुई क्लब नै बढुवा गर्ने प्रावधान राखेको थियो ।

त्यसैले उपविजेता बन्दै खुमलटारले ए डिभिजनको उडान भर्न सफल भएको छ । यसबाट क्लबका खेलाडी, पदाधिकारी, टोलबासी, सहयोगी, प्रायोजक सबैलाई खुशी बनाएको छ । अब यस खुशीलाई कायम राख्दै ए डिभिजनमा उत्कृष्ट प्रदर्शन गर्ने चुनौती खुमलटार सामु आएको छ ।

‘गत सिजन दोस्रो भएको थियो । तर एक टिम मात्र बढुवा हुने भएकोले सातदोबाटो माथि उक्लियो । हाम्रो लागि ए मा आउन चुनौती थियो यसपाली । त्यसैका लागि नै हामीले तयारी गरेका थियौँ । सबैको साथ र सहयोगले सफल भयौँ ।’ पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएपछि खुमलटारका अध्यक्ष मणिराज विष्टले अनलाइनखबरसँग खुशी साटे ।

मेहनत र भाग्यले सफल

खुमलटारले जसरी मेहनत गरेको थियो त्यसको फल मिलेको छ । गत सिजन निकै नजिक पुगेर पनि ए मा जानबाट बन्चित भएको खुमलटारको हकमा यस पटक मेहनत र भाग्य दुवैले साथ दियो ।

क्लबका लागि खेलाडीदेखि दातासम्मको सहयोग त थियो नै अन्तिम खेलमा भाग्यले पनि साथ दियो ।

‘हामी सुरु देखि नै प्रमोट हुनुपर्छ भनेर खेलका हौँ । त्यसैका लागि मेहनत गरेर लागिरहौँ ।’ अध्यक्ष विष्टले भने ।

यस्तै अन्तिम खेलको नतिजा र आरसीटीलाई हराउनु पनि खुमलटारका लागि बरदान सावित भयो ।

आइतबार लिगको अन्तिम खेलमा खुमलटारले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सामाजिक युथ क्लबसँग खेल्दा उहि समयमा दशरथ रंगशालमा रानी पोखरी कर्नर टिम (आरसीटी) ले टुसाल युथ क्लबसँग खेल्दै थियो ।

यी दुई खेलले चार क्लबको भाग्य निर्धारण गर्ने थियो । खेल अघिसम्म आरसीटी २१ अंकसहित दोस्रो स्थानमा थियो र ए डिभिजनमा उक्लन प्रबल दाबेदारको रुपमा थियो । उता खुमलटार १९ अंकसहित तेस्रोमा थियो ।

दुवै खेल बराबरीतर्फ अघि बढेको थियो । तर इन्जुरी टाइममा आत्मघाती गोलको मदद्तमा खुमलटारले खेल २-१ ले जित्यो । अर्कोतर्फ आरसीटी भने टुसलासँग गोलरहित बराबरीमा रोकियो ।

खुमलटार बराबरीमा रोकिएको अवस्थामा आरसीटी बराबरी र वा हारको नतिजाले पनि बढुवा हुने थियो । तर अन्तिममा खुमलटारको जित र आरसीटीको बराबरीपछि दुवैको समान २२ अंक भयो । यस्तोमा गोल अन्तर पनि आरसीटीकै बढी थियो । तर हेड टु हेडको नियम भएकोले खुमलटारले यसअघि आरसीटीलाई पराजित गर्दाको नतिजा निर्णायक बन्यो ।

आफ्नो टिमको खेल सातदोबाटोमा चलिरहँदा रंगशालमा आरसीटीको खेल हेर्न पुगेका मणिराज विष्ट भने टिमले आफ्नो प्रकृति अनुसार खेलेको र भाग्यले पनि साथ दिएको बताए । ‘आरसीटी पनि पुरानो क्लब । उनीहरुलाई माथि चढ्ने इच्छा थियो । एउटा तल एउटा माथि जाने थियो । हाम्रो आफ्नो प्रकृतिको गेम खेलेको हो । अब भाग्यले पनि काम गर्‍यो ।’

खुमलटार क्लबका उपाध्यक्षलगायत पदाधिकारी सातदोबाटोमा रहँदा मणिराज भने विशेष रुपमा रंगशालमा खेल हेर्न पठाइएका थिए । जहाँ खेलको अपडेट गराउने उनको काम थियो ।

१४ क्लब सहभागी लिगमा सिंगल राउण्ड रोविनका आधारमा खेल भएको थियो । जसमा खुमलटारले पहिलो खेलमै आरसीटीलाई पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । त्यसपछि प्रदर्शनमा उतारचढाव आयो । ८ खेल खेल्दा जम्मा ३ खेल मात्र जितेर खुमलटारको ९ अंक मात्र थियो । तर त्यसपछिको पाँच खेल (चार जित र एक बराबरी) अपराजित रहँदै १३ अंक जोड्यो ।

खुमलटारमा कप्तान सविन केसी ३० कटिसकेका खेलाडी भए पनि अरु धेरै खेलाडी नयाँ नै थिए । क्लबले ट्यालेन्ट हन्टमार्फत नयाँ क्षमतावान खेलाडीहरु अनुबन्ध गरेको थियो । त्यसैले सुरुमा नतिजा नआए पनि हामी सक्छौँ भन्ने भावनाले गर्दा खुमलटारले सफलता हात पार्न सफल भयो ।

चौथो प्रयासमा सफल

२०६१ सालमा स्थापना भएको खुमलटारले १८ वर्षपछि ए डिभिजन खेल्ने हैसियत बनाएको छ । तर यसका लागि यात्रा सहज भने थिएन । २०६४ सालमा सी डिभिजन क्वालिफार खेल्दै सी डिभिजनमा बढुवा भएको खुमलटारले बी मा उक्लन पनि ६ वर्ष कुर्नुपरेको थियो ।

२०७० मा सी डिभिजन च्याम्पियन बन्दै खुमलटार बीमा उक्लेको थियो । त्यसपछि खुमलटारले चार पटक बी डिभिजन लिग खेल्यो र चौथो प्रयासमा एमा उक्लन सफल भएको हो ।

२०७२ सालको भुकम्प पछि बिचमा केही वर्ष लिग भएन र खुमलटार बी डिभिजनमै यथावत रह्यो ।

पहिलो पटक बी डिभिजन लिग खेल्दा पाँचौ स्थानमा रहेको खुमलटार २०७५ मा रेलिगेसन बिनाको लिग हुँदा समूह एमा पाँचौ भएको थियो । २०७६ मा दोस्रो भएको थियो । कोभिड-१९ ले २०७७ मा लिग भएन । २०७८ मा आएर फेरि दोस्रो हुँदा भने खुमलटार शीर्ष डिभिजनमा उक्लन सफल भयो ।

खुमलटारको ए डिभिजन लिगमा स्थान बनाउँदा क्लबमा चार खेलाडी निरन्तर खम्बाको रुपमा रहिरहे । कप्तान सविन केसीसहित आशिष सोनाम, मिलन बुढाथोकी र अनिल खड्का सी डिभिजन छनोट अहिलेसम्म खुमलटारमै छन् । उनीहरुले निरन्तर खेल्दा क्लबलाई पनि सहयोग पुगेको अध्यक्ष मणि राजले बताए । ‘उनीहरु टिममा हुँदा सकरात्मक उर्जा मिल्छ’, उनी भन्छन् ।

अहिले राष्ट्रिय टोलीका सदस्य रहेका आयुष घलान र प्रशान्त अवस्थीले पनि यसअघि खुमलटारबाट खेलिसकेका छन् ।

ए डिभिजनमा चुनौती र एकेडेमी लक्ष्य

ए डिभिजनमा रहिरहन क्लबहरुलाई सहज छैन । फागुनमा सम्पन्न ए डिभिजन लिगमा मज्जाले खर्च गरेको च्यासल युथ क्लब रेलिगेसनमै पर्‍यो । प्रायजसो क्लब एमा बढुवा भएको एक-दुई सिजनमै रेलिगेसनमा परेका उदाहरणहरु पनि छन् ।

तर यसै सिजन सातदोबाटोले त्यो परम्परालाई केही बदसम्म चिर्दै जायन्ट किलरको छवी नै बनायो । त्यसले पनि खुमलटारलाई प्रेरणा मिल्न सक्छ ।

तर ए डिभिजनमा चुनौती हुन्छ भन्ने क्लबले पनि बुझेको छ ।  मा टिक्न मुख्य कुरा आर्थिक रुपमै सफल हुनुपर्ने र त्यसका लागि क्लबले सोच्न थालिसकेको अध्यक्ष मणिराजले बताए ।

‘सबैभन्दा मुख्य पाटो भनेको आर्थिक पक्ष हो । त्यसैमा ध्यान दिनुपर्छ । सबैसँग कुरा गरिराखेका छौँ । सबैको साथ छ । आश्वासन पनि दिनुभएकोले पनि हामीलाई ए मा उक्लन उर्जा मिल्यो’, मणिराजले भने । हाम्रो सबै खेलाडी म्यानेजर सबैको सकरात्मक सोचले पनि काम गर्‍यो ।

त्यसैले अब आर्थिक रुपमा सफल हुनुपर्ने पहिलो प्राथमिकता रहेको उनी बताउँछन् । भन्छन्, ‘आर्थिक पाटो बलियो बनाएर जानुपर्छ । अहिले सबै क्लबो समस्या नै यही हो । त्यो भएन भने अन्य कुरा सोचेर केही हुन्न । त्यसैले क्लबलाई सबैले सहयोग गरेका छन् । सहयोग गर्न इच्छा राख्नेहरु छन् । हामीलाई त्यसको लागि मोटिभेसन मिलेको छ ।’

यस्तै खुमलटारले अब एकेडेमी निर्माण गर्ने र एएफसी क्लब लाइसेन्स प्राप्त गर्ने विषयमा पनि सोचिसकेको छ । त्यसका लागि एक वर्षदेखि नै सम्बन्धित निकायसँग छलफल गरिरहेको अध्यक्ष विष्टले बताए ।

‘एकेडेमी बनाउनुपर्छ भनेर सोचिराखेका छौँ । २-३ स्कुलसँग ‘युलेन्स-प्रिमियर’सँग कुरा पनि गरेको हो । साझेदारी गरेर अघि बढ्नुपर्छ । त्यसो नगरे कसैले क्लब चलाउननै सक्दैन । त्यसका लागि हामीले एक वर्ष देखि तयारी पनि गरिराखेका छौं’, अध्यक्ष मणिराजले भने । एकेडेमी फुटबल विकासका लागि मुख्य आधार रहेको उनको ठहर छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?