+
+

पोखराको मेयर नछाड्न भन्दै कांग्रेस नेताहरुको डेलिगेसन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १२:५५

२९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले दाबी गरेपछि नेपाली कांग्रेस, कास्कीका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका छन् ।

पूर्वमन्त्री यज्ञबहादुुर थापाको नेतृत्वमा जिल्लाका नेताहरु डेलिगेसनका लागि काठमाडौं आएका हुन् । पोखराको मेयर पद छोड्न नसकिने अडानसहित काठमाडौं आएका उनीहरुले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेतालाई भेट्ने छन् ।

उनीहरुले सभापति देउवासहित उपसभापति, महामन्त्री र शीर्ष तहका नेताहरुसँग भेट्ने तय भएको छ । ‘केही काठमाडौंमै हुनुहुन्छ । ठूलो संख्यामा पोखराबाट जान लागेका छौं,’ डेलिगेसनमा आएका पूर्वमन्त्री थापाले भने ।

सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुले कांग्रेसलाई ३ महानगर लिएर गठबन्धनका अरु दलका लागि ३ वटा छाड्न प्रस्ताव गरेका छन् । काठमाडौं, विराटनगर र ललितपुर लिन प्रस्ताव गरेका उनीहरुले भरतपुर माओवादीले, वीरगञ्ज जसपाले र पोखरा एकीकृत समाजवादीले लिन खोजेका छन् ।

सत्ता गठबन्धनका अन्य दलको तुलनामा पोखरामा कांग्रेस बलियो रहेको भन्दै नेताहरुले मेयर छाड्न नसक्ने बताएका छन् । पूर्वमन्त्री थापाले भने, ‘पोखरामा मेयर हामीले नपाउने हो कि जस्तो देखियो । तर अरुलाई जिताउन सकिन्न,’ थापाले भने, ‘अरुलाई उम्मेदवार बनाउनु सुसाइड जस्तो हुन्छ ।’

पोखराको मेयर आफूहरुले लिएर अरु पदमा छलफल गर्न सकिने कास्कीका कांग्रेस नेताहरु बताउँछन् । ‘मेयर कांग्रेसले पाउनुपर्छ । अरु पदमा भने छलफल गरेर हामी लचिलो हुन तयार छौं,’ थापाले भने, ‘३/३ (महानगरपालिका) बाँड्ने नेताहरु बीच कुरा भएको सुनेका छौं । त्यसो हुँदा पोखरा अरुलाई दिने हो कि भन्ने शंका लागेर काठमाडौं जान लागेका छौं ।’

पोखरा पुगेका कांग्रेस नेता रामचन्द्र पौडेललाई पनि मेयर छोड्न नसकिने सुनाएको थापाले बताए ।

कास्कीका ३ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रका साथै ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रलाई पोखरा महानगरले छोएको छ । पोखराका ११/११ वटा वडा तीन वटा प्रतिनिधि सभाको क्षेत्रमा पर्छ । ‘मेयर गुमायौं भने प्रदेश र केन्द्रको चुनावमा पनि असर गर्छ’ थापाले भने, ‘यो कुरा नेताहरुले बुझ्नुपर्‍यो नि !’

गत निर्वाचनमा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६० हजार ११८ मतसहित पोखरा महानगरपालिकामा जित हासिल गरेका थिए ।  कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत ल्याएर पराजित बने ।

पोखरा महानगरमा २ लाख ७ हजार मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?