
२९ चैत, काठमाडौं । कार्यकाल सकेर भारतीय राजदूत विनयमोहन क्वात्राको विदाई भोजमा शीर्ष नेताहरु सहभागी भएका छन् ।
भारतीय विदेश सचिव भएपछि क्वात्रा स्वदेश फर्किन लागेका छन् । त्यसअघि लैनचौरस्थित भारतीय दूताबासमा रात्रीभोज आयोजना गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु पनि सहभागी भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने गएनन् । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत पनि भारतीय दूतावासको रात्रीभोजमा सहभागी भएका थिए ।
कार्यक्रममा बिदा हुन लागेका भारतीय राजदूत क्वात्राले आफ्नो करियरमा दुईपटक काठमाण्डौस्थित दूतावासमा बस्न पाउनु जीवनकै अविस्मरणीय पल रहेको बताए ।
कोरोना महामारीको कठिन समयमा आफुले काठमाण्डौ नियोगको नेतृत्व गर्न पाएको र त्यसबेला आपसी सहकार्यलाई उचाई दिन पाएको भन्दै प्रसन्नता ब्यक्त गरे ।
प्रतिक्रिया 4