+
+
स्थलगत २० : स्थानीय निर्वाचन २०७९ :

काकाकुल बस्तीमा ‘नाचघर’

यो काकाकुल गाउँमा सरकारले ‘सांस्कृतिक डबली’ बनाइरहेको छ, त्यो पनि आठ किलोमिटर टाढाबाट ट्रयांकरमा पानी ओसारेर । अस्पताल हुन्थ्यो भने उपचार गर्न घोराही जानु पर्दैनथ्यो । ट्यांकी हुन्थ्यो भने हरेक दिन केही घण्टा हिँडेर एक गाग्री पानी ल्याउने बाध्यता हट्थ्यो । तर डबलीले आफूहरुको समस्या समाधन नहुने भएपछि गाउँलेलाई त्यसबारे चासो छैन ।

रघुनाथ बजगाईं, दिपेश शाही, आभास बुढाथोकी रघुनाथ बजगाईं, दिपेश शाही, आभास बुढाथोकी
२०७८ चैत ३० गते २०:२३

३० चैत, घोराही । पन्ध्र वर्षको कलिलो उमेरमा विवाह गरेर घोडदौरा, दाङ आएकी शोभा परियारको उमेर अहिले ५५ वर्ष पुग्यो । शोभालाई ४० वर्षअघिको विवाह पछिको पहिलो दिन अझै याद छ ।

बिहान साढे चार बजे अढाई घण्टा हिँडेर कापर खोलाबाट ल्याएको एक गाग्री पानीले खाना बनाएर घरगृहस्थी सुरू गरेकी थिइन् उनले ।

शोभा परियार ।

बुढ्यौली लाग्न थालिसक्यो । जीन्दगीले कयौं रंगहरू फेरिसक्यो । ४० वर्ष लामो सफरमा उनले धेरै गोरेटाहरू छिचोलिसकिन् ।

तर एक गाग्री पानीका लागि अढाई घण्टा लामो यात्रा तय गर्नुपर्ने बाध्यता भने जस्ताको तस्तै छ ।

केही राहत नभएको होइन । ०५४ सालमा भारतीय दूतावासको सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा घोडदौरा गाउँमा पानीको धारा आइपुग्यो ।

एक गाग्री पानीका लागि हिँड्नुपर्ने समय अढाई घण्टाबाट आधा घण्टामा झर्‍यो । तर दुई गाग्री पानीका लागि दुई दिनसम्म पालो पर्खिनुपर्ने भएपछि धारा कापर खोलाको बिकल्प बनेन ।

गाउँगाउँमा ‘सिंहदरबार’ पुग्दा पनि घोराही उपमहानगरपालिका वडा नं. १८ मा पर्ने घोडदौराको दुःख उस्तै छ । ८८ घरधुरी रहेको यो बस्तीका मानिसहरु हरेक दिन पानीका लागि अढाई घण्टा हिँड्नुको विकल्प छैन ।

अघिपछि भन्दा फागुनदेखि जेठ मसान्तसम्म गाउँमा पानीको चरम अभाव हुन्छ । ‘दूतावासले बनाएको धारामा एक/दुई दिन बिराएर दुई घण्टा पानी आउँछ । त्यसपछि काटिन्छ र कहिले त हप्तादिनसम्म पनि आउँदैन,’ शोभा सुनाउँछिन् ।

गाउँका हरेक घरबाट पानी आउने दिन मध्यरातिदेखि लाइनमा भाँडा राखेर पालो पर्खिन्छन् । पालोमा बसे पनि सधैं पानी थाप्न नपाइने तीतो पीडा सुनाउँछिन् गंगा विक (४५) । ‘दुई घण्टा पालो कुर्दा पनि धारामा पानी पाइने होइन, भीड हुन्छ । कहिले पालो नआउँदै धारामा पानी बन्द भइसक्छ,’ उनी भन्छिन् ।

ट्यांकरबाट पानी ओसारेर नाचघर

यो काकाकुल गाउँमा सरकारले भने ‘सांस्कृतिक डबली’ बनाइरहेको छ, त्यो पनि एक घण्टा ट्रयांकर दौडाएर ल्याएको पानी प्रयोग गरेर ।

सीता पुन (४०) लाई आफ्नै घरपछाडिको डाँडामाथि बनिरहेको बडेमानको संरचनाको नाम के हो ? काम के हो ? थाहा छैन ।

गाउँलेहरू ‘डबली हो रे !’ भन्छन् । सीताले पनि त्यही सुनेकी छन् । उनलाई थप चासो पनि छैन ।

विद्यालय बनिरहेको हुन्थ्यो भने छोरोछोरी/नातानातिनीले घर नजिकै पढ्न पाउलान् भन्ने हुन्थ्यो । अस्पताल हुन्थ्यो भने उपचार गर्न घोराही सहर जाने दुःखबाट छुटकारा मिल्थ्यो । पानीको ट्यांकी हुन्थ्यो भने हरेक दिन केही घण्टा हिँडेर एक गाग्री पानी ल्याउने बाध्यता हट्थ्यो र उनले पनि चासो राख्थिन् ।

सांस्कृतिक डबलीको पक्की भवन बनाउन ८ किलोमिटर टाढादेखि ट्यांकरबाट पानी ल्याउने गरिएको छ । भवन निर्माणको काम गरिरहेको सत्यम कन्ट्रक्सनका तत्कालीन म्यानेजर सन्तोषजंग खड्का भन्छन्, ‘गाउँमा पानी नभएपछि निर्माण गर्दा पानीको ठूलो समस्या भोग्नु पर्‍यो, कयौंपटक निर्माणसमेत प्रभावित बन्यो ।’

१२ फागुन २०७६ मा लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले सांस्कृतिक डबली निर्माणको शिलान्यास गरेका थिए ।

०७४ सालको आम निर्वाचनका बेला भोट माग्न पुगेका पोखरेलले डबली बनाउने घोषणा गरेको सम्झिन्छन्, वडा नं. १८ का वडाध्यक्ष भरत अर्याल ।

‘यहाँ तल घोराही उपत्यका पुरै देखेपछि उहाँले पर्यटकीय विकासका लागि सांस्कृतिक डबली बनाउने घोषणा गर्नु भएको थियो । मुख्यमन्त्री हुँदा उहाँकै पहलमा प्रदेश सरकारको बजेटबाट निर्माण सुरु भएको हो,’ अर्यालले अनलाइनखबरसँग भने, ‘सांस्कृतिक डबली बनेपछि सडक, बिजुली र पानीको सुविधा दिन सकिन्छ भन्ने लागेर निर्माण गरिएको हो ।’ उनले सांस्कृतिक डबलीले पर्यटनको विकास गर्ने र त्यसबाट भएको आम्दानीबाट सडक, बिजुली र त्यस क्षेत्रमा असाध्यै अभाव रहेको पानीको व्यवस्था गर्ने विकासको ‘फर्मुला’ सुनाए ।

डबली शिलान्यास गर्दै गर्दा तत्कालीन मुख्यमन्त्री पोखरेलले पनि घोडदौरामा पर्यटन विकास हुने र रोजगार, सडक, बिजुली र पानीको सुविधान घरघरसम्मै पुग्ने आश्वासन दिएका थिए । सीता पुनलाई भने नेताको उधारो बोलीमा पत्यार लागेको छैन । ‘हामीलाई पिउने र वस्तुभाउलाई खुवाउने पानी छैन । डबलीको के काम । सरकारले मान्छे नचाएर पैसा कमाउने, त्यसबाट पानी ल्याउने रे,’ उनी हाँस्दै भन्छिन्, ‘म त पत्याउन्न भो !’

उनले नपत्याउनुको पनि कारण छ । सांस्कृतिक डबली बन्दा नबन्दै भत्किन थालेको छ । भवनको छानो आधा खसिसकेको छ भने दर्शक बस्न बनाइएको प्याराफिटमा पहिरो गएजस्तै देखिन्छ । काम सम्पन्न भइसकेको भन्दै निर्माण कम्पनीले भुक्तानीसमेत लिइसकेको छ । यद्यपि, निर्माण कम्पनीले मर्मतको जिम्मा आफूले लिने बताएको छ ।

बहुवर्षिय योजनाका रुपमा ११ करोडको डीपीआर तयार गरिए पनि अर्थमन्त्रालयले स्वीकृत नगरेपछि प्रदेश पूर्वाधार विकास तथा पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत वन डिभिजन कार्यालय दाङमार्फत आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेर सांस्कृतिक डबली निर्माण थालिएको थियो ।

नाच घरका लागि ९७ लाख रुपैयाँ र त्यसैमा शौचालय निर्माण गर्न ५० लाख बजेट बिनियोजन गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसी बताउँछन् । ‘नाचघरका लागि पहिलो वर्ष ९३ लाख र दोस्रो वर्ष ५० लाख थप गरी कुल एक करोड ४३ लाख बजेट खर्च छुट्टाइएको थियो । कुल रकममध्ये निर्माण कम्पनीलाई एक करोड २० लाख भुक्तानीसमेत भइसकेको छ,’ उनले भने ।

चुनावी एजेण्डा ‘पानी’

दलहरुले पानीको समस्या छ भन्ने नबुझेका पनि होइन । हरेक चुनावमा पानीलाई एजेण्डा बनाएर भोट माग्ने गरेका छन् । दशकौंदेखि पानीको समयस्या भोगिरहेको यो बस्तीबाट भोट बटुलेपछि कुनै नेताले समस्या समाधानका लागि पहल नगरिदिएको स्थानीय बासिन्दाको गुनासो छ ।

चुनाव आउँदामात्र दलहरू पानीको नारा ल्याएर गाउँ पस्ने गरेको बताउँछन्, खुसल गिरी । ‘हरेक चुनावमा उम्मेदवारहरूले पानीलाई चुनावी एजेण्डा बनाएर भोट माग्छन् तर, केही गर्दैनन्,’ गाउँकै वासी गिरीले भने, ‘जो नेता आए पनि उस्तै हो । चुनाव आउँदा पानी ल्याइदिन्छौं भन्छन्, जितेपछि केही गर्दैनन् ।’

२०७४ सालको स्थानीय तहको चुनावमा स्थानीय केही आशावादी थिए । गाउँ तहसम्म सरकार आएपछि खानेपानी पनि आउला भन्ने लागेको थियो । तर कसैले पहल गरिदिएन । भन्छन्, ‘गाउँमै सरकार आएपछि पानी पनि आउला भन्ने सोच्यौं । नेताले पानीको नारा ल्याएर भोट लगे, तर चुनाव जितेपछि गाउँ फर्केनन् ।’

घोडदौरा साबिकको ५ र ६ नम्बर वडा मिलेर अहिलेको १८ नम्बर वडा बनेको छ । यहाँबाट ०५४ सालमा नेकपा एमालेका उम्मेदवार महेन्द्र खनालले चुनाव जितेका थिए । अहिले पनि यो वडामा एमालेकै भरत अर्यालले जितेका छन् । संघमा माओवादी केन्द्रका कृष्णबहादुर महरा र प्रदेशमा एमालेका शंकर पोखरेलले चुनाव जितेका छन् । उनीहरू दुवै जना केन्द्रदेखि स्थानीयस्तरसम्म प्रभाव राख्ने नेता हुन् । तर घोडदौरावासीको समस्या ज्यूँकात्यूँ छ ।

वडा नं. १८ का वडाध्यक्ष अर्याल भने वृहत योजनाअन्तर्गत बस्तीलाई पर्यटकीयस्थल बनाउन काम भइरहेको बताउँछन् । ‘बिजुली नभइकन खाने पानी लिफ्ट गर्न सम्भव छैन । त्यही भएर पहिले हामीले त्यहाँ डबली बनाउने काम थाल्यौँ,’ अर्यालले भने, ‘बिजुली, पानी र डबलीको काम सँगसँगै बनाउने हाम्रो सोच हो ।’

पानी लिफ्ट गर्ने योजनामा पनि काम भइरहेको उनी बताउँछन् । ‘यसका लागि बिजुलीको तार बिछ्याउने काम सकिएर लाइन छोड्न मात्रै बाँकी छ । बिजुली आयो भने त्यसले तलबाट पानी लिफ्ट गरेर माथि लैजाने हो,’ उनले भने ।

पढ्नका लागि दैनिक चार घण्टा पैदल

घोडदौरा गाउँ जिल्ला सदरमुकाम घोराहीबाट करिब आठ किलोमिटर उत्तरी भेगमा पर्छ । त्यहाँ पानीको समस्या जति विकराल छ, पढ्न पनि त्यतिकै दुःख छ ।

६ भन्दा माथिल्लो कक्षा पढ्न हरेक दिन ४ घण्टा पैदल हिँड्नुपर्छ । यसरी नै हरेक दिन चार घण्टा हिँडेर पढेकी वसन्ती पुन (१६) ले कक्षा १२ मा पुगेकी छन् । उनीसँगै गाउँका ३५ जना विद्यार्थी नजिकको मावि स्कुल रझेना पुग्छन् । तर उनीहरुमध्ये कतिले वसन्तीले जति (माध्यमिक तह) पढछन् अनुमान गर्न गाह्रो छ ।

यो बस्तीमा धेरै पढेका भनिएका अधिकांशको शिक्षा ८ कक्षासम्म छ । त्यसपछि सक्नेहरू खाडी जान्छन्, नसक्नेहरू भारततिर ।

केटीहरुको कलिलै उमेरमा विवाह हुन्छ । वसन्तीकी दिदीले पनि ८ कक्षा पढ्दापढ्दै भागी बिहे गरिन् । उनका बुबा गोरे पुनलाई अझै छोरीहरूले पढिदिए हुन्थ्यो भन्ने लागेको थियो, तर कहाँ सजिलो थियो र ! ‘डेढ–दुई घण्टाको बाटो हिँडेर रझेना पुग्नुपर्छ । आउने बेला त भोकभोकै दुःख पाउँछन् केटाकेटीले,’ गोरे भन्छन्, ‘ट्युसन पढ्नुपर्‍यो भने त झन हैरान हुन्छ ।’

खडक पुन ।

विद्यार्थी संख्या कम हुने भएकाले गाउँलेहरुले माध्यमिक विद्यालय माग गर्न सकेका छैनन् । बरु भएकै प्राविमा पनि विद्यार्थी पुगेनन् भनेर सरकारले अन्यत्र लैजान्छ कि भन्ने चिन्ता छ । ‘यहाँ घरधुरी कम छ । विद्यार्थीको संख्या पुग्दैन । अन्तबाट यहाँ आएर पढ्ने कुरो भएन,’ गाउँकै खडक पुन (४३) भन्छन्, ‘विद्यार्थी कम भएपछि भएकै स्कुल पनि तल लैजान्छन् कि भन्ने डर छ ।’

उस्तै छ अरु समस्या

स्थानीय तह पुनर्संरचना गर्दा उपमहानगरपालिका हुन केके चाहिन्छ भन्ने प्रष्ट मापदण्ड तोकिएको थियो । तर राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरुले आफ्नो निर्वाचन क्षेत्रको स्वार्थ हेरेर त्यस्ता मापदण्ड लत्याउँछन् र गाउँलाई नगर वा नगरलाई उपमहानगर बनाउन पहल गर्छन् । तर त्यसअनुसार पूर्वाधार विकासका लागि पहल नगर्ने गरेको गुनासो शहरका ‘गाउँ’मा बस्नेहरुको छ ।

घोडदौराको पीडा पनि त्यही हो । ‘शिक्षा, स्वास्थ्य, खानेपानी र बिजुली अझै राम्रोसँग पुगिसकेको छैन,’ स्थानीय खड्कबहादुर महरा क्षेत्री (५०) भन्छन्, ‘उपल्लो टोलतिरका झण्डै २५ वटा घरमा बिजुली छैन । तल (घोराही) का नेतासँग पटकपटक माग गरिरहन्छौँ । हुन्छ भन्नुहुन्छ तर, कहिल्यै आइपुग्दैन ।’

नेताहरुले भने आफ्नो राजनीतिक स्वार्थका लागि घोराही र तुलसीपुर उपमहानगरलाई जोडेर महानगरपालिका बनाउन खोजेको चर्चा चलिरहेको छ । ‘अब महानगर बनाउने भन्ने सुनिन्छ,’ वासी क्षेत्री भन्छन्, ‘उपमहानगरपालिका भनेको सेवा, सुविधा सम्पन्न ठाउँ हो भन्दा रहेछन् । तर त्यस्तो सेवा, सुविधा यहाँ केही पनि छैन । बजेट जति तलतिरै (घोराही बजार) सकिन्छ ।’

स्थानीयबासिन्दालाई सबभन्दा ठूलो समस्याका रूपमा रहेको पानीको व्यवस्था गरिदिन छाडेर नेताहरू यस्तै (नाचघर) नचाहिने काममा केन्द्रीत भएको घोडदौराबासीको गुनासो छ । ‘अहिले पनि डेढ दुई घण्टा हिँडेर हाम्रा केटाकेटी पढ्न गएकै छन् । बिरामी भए उपचार गर्न घोराही पुगेकै छौँ,’ स्थानीय वासी पुन भन्छन्, ‘मान्छे र गाईवस्तुलाई खाने पानी भइदिए हुन्थ्यो । डबली बनाएपछि सबै चिज आउँछ भन्थे । कहिले आउने हो, केही थाहा छैन ।’

तस्वीर/भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?