+
+
फिल्म :

केजीएफ च्याप्टर २ : स्टार र एक्सनको भव्य प्याकेज

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १३:२६

काठमाडौं । साउथका रकिङ स्टार यशको बहुप्रतीक्षित फिल्म ‘केजीएफ च्याप्टर २’ बिहीबारदेखि प्रदर्शनमा आएको छ । सुनखानीको कथामा आधारित यो फिल्म सन् २०१८ मा रिलिज भएको ‘केजीएफ’को सिक्वेल हो ।

यूएईमा केही दिनअघि नै विशेष व्यक्तिका लागि प्रदर्शन गरिएको यो फिल्मको समीक्षाका कारण पनि विश्वभर प्रतीक्षित बनेको थियो । भारतमा मात्रै होइन, नेपालका सिनेमा हलमा समेत यो फिल्म झण्डै २४ घण्टा नै प्रदर्शन हुँदैछ भने ती सबै शो हाउसफुल छन् ।

यसअघि नै ‘विश्वस्तरीय फिल्म’को ‘उपाधि’ पाइसकेको ‘केजीएफ-२’ दर्शकले अपेक्षा गरेअनुसारकै छ । ऐतिहासिक कथालाई आधार बनाएर मनोरञ्जनात्मक ढंगले प्रस्तुत गरेको फिल्मलाई यसका निर्देशक तथा कलाकारले न्याय गरेका छन् ।

‘केजीएफ-२’ एक थ्रिलर ड्रामा हो । शानदार एक्सनको साथ फिल्ममा भव्य शैली छ, जसले दर्शकको मन जित्छ । अभिनेता यशको भव्य स्टाइलले दर्शकलाई उत्साहित बनाउँछ ।

‘हिंसा, हिंसा, हिंसा ! मलाई यो मन पर्दैन । म टाढै बस्छु । तर हिंसाले मलाई मन पराउँछ ।’ फिल्मको ट्रेलरमा देखाइएको यो संवादले धेरै दर्शकलाई यो फिल्म प्रतीक्षित बनेको थियो । यस्तै दमदार संवाद र प्रस्तुति फिल्मभर देख्न सकिन्छ ।

‘केजीएफ–२’को कथा त्यहींबाट सुरु हुन्छ, जहाँ यसको प्रिक्वेल समाप्त हुन्छ । तथापि, सिक्वेलमा एउटा ट्विस्ट छ । अनन्त नागलाई प्रकाश राजले बदलेका छन् । यद्यपि दुवै अभिनेता प्रभावशाली छन् । एकातिर प्रकाश राजको कथानक प्रस्तुति र अर्काेतिर दमदार सेटले दर्शकलाई कुनै पनि ठाउँमा दिक्क बनाउँदैन ।

रकी (यश)ले केजीएफ (कोलार गोल्ड फिल्ड्स)मा आधिपत्य जमाउँछ र आफ्नै विशाल साम्राज्य खडा गर्छ । तर गरुडको भाइ अधिरा (सञ्जय दत्त) ठूलो योजनाको साथ दृश्यमा आउँदा कथालाई झनै कौतूहलताको शिखरमा पुर्‍याउँछ । बलिउड अभिनेता सञ्जय दत्तलाई मुख्य खलपात्रको रुपमा पनि भव्य रुपमा प्रस्तुत गरिएको छ । यसमा उनले दमदार अभिनय गरेका छन् ।

अनेक परिस्थितिले रकीलाई केजीएफ छाड्न बाध्य पार्छ । तर अधिरा, तत्कालीन भारतकी प्रधानमन्त्री रमिका सेन (रविना टण्डन) र रकीकी प्रेमिका रीना (श्रीनिधि शेट्टी)लाई युद्धको बीचमा सामना गराएको कथानकलाई होसियारीपूर्वक प्रस्तुत गरिएको छ । ऐतिहासिक विषयवस्तु भएपनि फिल्ममा केही अतिरञ्जित दृश्यहरु भने देखिन्छन् ।

निर्देशन

अपेक्षाअनुसार नै ‘केजीएफ-२’को लेखन र प्रस्तुति उच्चस्तरको छ । सबैभन्दा महत्वपूर्ण कुरा निर्देशक प्रशान्त नीलले फिल्मको एक्सन पार्टमा मात्र ध्यान दिएका छैनन् । उनले भावनात्मक पक्षलाई पनि ध्यान दिएका छन्, जुन मार्मिक लाग्छ । निर्देशनमा प्रशान्त नील अब्बल देखिएका छन् ।

कलाकारको अभिनय

निःसन्देह यश नै ‘केजीएफ’ फ्रेन्चाइजको मुख्य आधार हुन् । चर्चित पात्र रकी भाइको चरित्रमा उनी फिल्मको सुरुवातदेखि नै उत्कृष्ट लाग्छन् । उनको अभिनय सजीव छ, दर्शकको मन र हृदयमा कोरिने गरी ।

सञ्जय दत्त अधिराको भूमिकामा प्रभावशाली लाग्छन् । क्रूर र डरलाग्दो गेटअपमा देखिने सञ्जयको शैली पनि भव्य देखिन्छ । प्रधानमन्त्रीको भूमिकामा रहेकी रविना टण्डनले फिल्ममार्फत बेग्लै छाप छाडेकी छन् भने प्रकाश राजको कथावाचन शैली र अभिनय जीवन्त लाग्छ । रकीकी प्रेमिका र पछि श्रीमतीको भूमिका निर्वाह गरेकी श्रीनिधि शेट्टी फिट देखिन्छिन् ।

समग्रमा भव्य शैली र भरपुर एक्सन दृश्य रुचाउनेका लागि यो फिल्म राम्रो रोजाइ बन्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?