+
+

केजरीवालको गर्ने समाजवाद, हाम्रो भन्ने समाजवाद

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०७९ वैशाख १ गते १८:४७

के तपाईले रेडलाइट एरियाबाट पार हुने गाडीबाट यात्रा गर्नुभएको छ ? त्यस्ता एरियामा हुने ट्राफिक लाइटमा एकछिन रोकिनु पर्दाको दृश्यमा के देख्नु हुन्छ ? ८÷१० वर्षका बालबालिकाहरू धेरैले कापी कलम र फूल हातमा लिएर गाडीमा सवार व्यक्तिहरूलाई किनिदिन अनुरोध गरिरहेका हुन्छन् ।

धेरैले उनीहरूप्रति ध्यान दिंदैनन्, दिए भने पनि दुत्कार्छन् । केही दयालु मनका मान्छेहरूले उनीहरूको सामान किनिदिन्छन् वा पैसा दिन्छन् । उनीहरूले ती गाडीमा सवार व्यक्तिहरूबाट केही पनि पाएनन् भने विलौना गर्दै भन्छन्, ‘हामी दुई दिनदेखि भोकै छौं, हाम्री आमा बिरामी छन् । अतः केही खानको लागि दिनुहोस् ।’

तिनै बालबालिकामध्ये केहीले सडकमै कर्तव देखाइरहेका हुन्छन्, उनीहरूको कर्तव देख्दा लाग्छ कि उनीहरूको शरीरमा हड्डी नै छैन । यस्ता बालबालिकाका बारेमा हाम्रो समाज र देशले कहिल्यै केही सोचेको छ ?

उनीहरू पनि पढे लेखे भने आम मान्छे जस्तै डाक्टर, इन्जिनियर, वकिल र पत्रकार बन्न सक्छन् । शरीरमा हड्डी नै नभएको जस्तो देखिने बालबालिकाहरूले राम्रो अवसर पाए भने ओलम्पिकबाट मेडल पनि ल्याउन सक्छन् ।

यिनीहरूको पुनस्र्थापनाको लागि म एउटा विशेष कार्यक्रम ल्याउँदै छु, त्यसका लागि आगामी वर्षकै बजेटमा १२ करोड छुट्याउँछु र ती बालबालिकाहरूलाई पढाउने एउटा विशेष स्कुल बनाउँछु जहाँ संसारका सबै उत्कृष्ट विद्यालयहरूमा पाइने सुविधाहरू दिन्छु ।

त्यति मात्र नभई उनीहरू जुन वातावरणबाट आएका हुन्छन्, त्यसबाट मुक्ति पाउन विशेष परामर्शदाताहरूको व्यवस्था गर्छु र उनीहरूलाई समाजमा एउटा इज्जतदार नागरिकको रूपमा स्थापित गर्छु ।

यी सबै भनाई हुन् दिल्लीका अति चर्चित मुख्यमन्त्री तथा आम आदमी पार्टीका शीर्ष नेता अरविन्द केजरीवाल । उनले आम राजनैतिक नेताहरूले जस्तो अरुका अगाडि राम्रो भइदिन जे पनि बोल्ने र सत्तामा पुगेपछि सिन्को पनि नभाँच्ने काम गरेका छैनन् । पछिल्लो तीन हप्तामा उनका तीनवटा कार्यक्रमहरू सार्वजनिक भएका छन् ।

दिल्ली संसारकै प्रदुषित सहरमध्ये एउटा हो । यसलाई कम गर्ने अनेकौं उपायमध्ये एउटा उपाय जीवाष्माबाट बनेको तेलको उपयोग कम गर्नु हो । त्यसै पनि सो तेलको मूल्य अहिले अचाक्ली बढिरहेको छ । उनले एउटा सार्वजनिक तर अति छोटो कार्यक्रम मार्फत तीन हजार विद्युतीय अटोरिक्साको सञ्चालन गरे ।

सो कार्यक्रममा उनले बताए– ‘यी अटोरिक्सा दिल्ली सरकारले सहुलियतपूर्ण ऋणमा तीन हजार परिवारलाई उपलव्ध गराएको हो । यी तीन हजार परिवारबाट आउने ड्राईभर मध्ये ५०० जना महिला छन् । यी रिक्साहरूले तीन हजार परिवारको पेट त पाल्ने नै छन्, यसका पार्टपूर्जा र मर्मतको कामबाट सयौंले थप रोजगारी पाउँछन् ।’

उनी एउटा टेलिभिजन कार्यक्रमको अन्तरवार्तामा आउँदै गर्दा भन्छन्, ‘म भर्खरै दिल्लीको रेल्वे स्टेशनबाट आउँदै छु । मैले दिल्लीका एक हजार वृद्धवृद्धाहरूलाई सरकारको तर्फबाट अयोध्या यात्राको लागि बिदाई गरेर आएँ ।’

वृद्धवृद्धाको लागि उनको कार्यक्रम त्यत्तिमा सीमित छैन । एक हप्ता अगाडि उनकै सरकारको समाज कल्याण मन्त्रालयले निर्माण गरेको ११७ कोठाहरू भएको अत्याधुनिक सुविधाहरू भएको बहुतले ‘वल्डएज होम’को उद्घाटन गर्दै थिए । मैले आज भन्दा करीब २६ वर्ष अगाडि क्यानाडाको ओटावामा त्यस्तै प्रकारको वल्डएज होम देखेको थिए, जहाँ स्वास्थ्य, पुनर्ताजगी हुने, स्वस्थ खाना तथा हेरचाहको सुविधाहरू थियो ।

एउटी मध्यमवर्गीय महिलाले अन्तरवार्तामा भन्छिन्, ‘मैले आफ्नो छोरालाई प्राइभेट स्कुलमा पढाएकी थिएँ तर अहिले त्यहाँबाट छुटाएर यही स्कुलमा पढाएकी छु ।’

हालसालै सञ्चालनमा आएको त्यो वल्डएज होम देख्दा मलाई त्यही क्यानाडाको वल्डएज होमको सम्झना आयो । उनले भारतरत्न तथा संविधान निर्माता भीमराव अम्बेडकरको अप्रिल १४ मा पर्ने १३१ सौं जयन्तीको अवसर पारेर समर्पण गरे र सो वृद्धाश्रमको नाम पनि उनकै नाममा राखे ।

करीब दुई हप्ता अगाडिको भिडियोमा दिल्लीकै एक सरकारी स्कुलको भ्रमणमा तमिलनाडुको मुख्यमन्त्री एमके स्टालिन आएका हुन्छन् । उनलाई त्यहाँका विद्यार्थीहरूले लाइनमा लागेर सामान्य स्वागत गर्छन् । त्यसपछि स्कुलकै सभाकक्षमा केजरीवालले स्वागत गर्छन् । केजरीवालको पहिरन एकदमै सामान्य छ । हाफ बाउला भएको अलि ठूलै देखिने शर्ट लगाएका हुन्छन् ।

अहिले भारतका सबै प्रान्तहरूबाट दिल्लीका सरकारी स्कुलहरू हेर्ने लहर नै चलेको छ । किनभने ती सरकारी स्कुललाई लगभग अन्तर्राष्ट्रिय स्तरको बनाइएको छ । एउटा वायर भन्ने युट्युव च्यानलले दिल्लीको सरकारी स्कुलको रिपोर्टिङ गरेको थियो । त्यसमा सो स्कुलमा पढाउने मजदुर वर्गका मान्छेहरूसँग अन्तरवार्ता लिइएको थियो ।

उनीहरू भन्छन्, ‘हाम्रो आम्दानीले प्राइभेट स्कुलमा पढाउन कहाँ पुग्छ र ? तर, त्यसमा पछुतो छैन, विद्यार्थीहरूका सबै खर्चहरू स्कुलले व्यहोर्छ, दिउँसोकोस्वस्थकर र स्वादिलो खाजा पनि स्कुलले नै प्रदान गर्छ । अहिले स्कुल भित्र पौडी पोखरी पनि बन्दै छ, जहाँ विद्यार्थीहरूले पौडी पनि सिक्न पाउने छन् ।’

एउटी मध्यमवर्गीय महिलाले अन्तरवार्तामा भन्छिन्, ‘मैले आफ्नो छोरालाई प्राइभेट स्कुलमा पढाएकी थिएँ तर अहिले त्यहाँबाट छुटाएर यही स्कुलमा पढाएकी छु ।’ एउटा अन्तरवार्तामा केजरीवाल भन्छन्, ‘म एउटा आम मान्छे हुँ । मलाई एउटा आम मान्छेको दुःख कष्ट के हो, थाहा छ । महंगी र बेरोजगारीले त्यस्तै आम मान्छेलाई सताइरहेको हुन्छ । मैले चाहे जस्तो महंगीलाई नियन्त्रण गर्न त सकेको छैन तर आम मान्छेको खर्च धेरै बचाई दिएको छु ।’

उनी यसलाई हिसाबमा उतार्दै भन्छन्, ‘बिजुली २०० युनिटसम्म सित्तैमा बाल्न पाइन्छ । त्यसको मूल्य लगभग २००० रुपैयाँ पर्छ । १० हजार लिटरसम्म पानी निःशुल्क छ, त्यसको मूल्य एक हजार पर्छ । स्कुल फी निःशुल्क छ, त्यसबाट कम्तिमा महिनाको ३ हजार बच्छ ।

महिलाहरूलाई डीटीसीका सबै बसहरूमा निःशुल्क यात्राको सुविधा छ, त्यसबाट महिनाको २ हजार जति बच्छ । दिल्ली प्रदेशबाट सञ्चालित कुनै पनि मोहल्ला क्लिनिक हुँदै अस्पतालसम्म जानुस्, जुनसुकै र जस्तोसुकै रोग लागेको होस्, त्यसको उपचार निःशुल्क पाइन्छ । त्यस्तो उपचारमा धनी गरिब कसैले पनि पैसा तिर्नु पर्दैन ।’

उनी ठट्टा गर्दै अगाडि थप्छन्, ‘दिल्ली दिल भएकाहरूको सहर हो, अतः उत्तर प्रदेशसँग जोडिएका ठाउँका अस्पातालहरूमा उपचार गर्न आउनेहरू मध्ये ८० प्रतिशत उत्तर प्रदेशका हुन्छन् । उनीहरूले पनि निःशुल्क उपचार पाउँछन् ।’

उनले चुनावमा उठाएका सबैभन्दा ठूलो मुद्दा बेरोजगारीको हो । उनी सरकारमा आएपछि २० लाखको रोजगारी सिर्जना गर्छु भनेका थिए । त्यसको फेहरिस्त सुनाउँदै उनी भन्छन्, ‘५ लाखभन्दा बढी रोजगारी हामीले सिर्जना गरिसकेका छौं । बाँकीमा हामी काम गर्दैछौं । दिल्ली विधान सभामा प्रस्तुत गरेको बजेटमा हामीले त्यसको फेहरिस्त दिएका छौं । यसको विवरण हाम्रो वेबसाइटमा पनि हेर्न सकिन्छ ।’

खरो प्रश्न सोध्ने प्रचलन सबै पत्रकारहरूको हुन्छ । त्यसमा उनले पार्टीको विचारधारा के हो भन्ने प्रश्नको सामना गर्नुपर्छ । जवाफमा उनले हाम्रो यहाँ जस्तो माक्र्सवाद, समाजवाद वा नवउदारवाद केही पनि भन्दैनन् ।

उनले तीनवटा कुरा भन्छन् । ‘पहिलो, कट्टर इमान्दारिता । यस अन्तर्गत हामी इमान्दार छौं । भ्रष्टाचार गर्दैनौं । हामी कट्टर देश भक्त छौं, हामी सबै देश र जनताको लागि समर्पित छौं । तेस्रो हो, मानवीयता । त्यही मानवीयताको प्रतिमूर्ति हो, रेडलाइट एरियाका बालबालिकाहरूको लागि गरिन लागेको विशेष व्यवस्था ।’

केजरीवालले आफू समाजवादी वा गरिबवादी भएको कहिँकतै बताएका छैनन् । नतः उनको पार्टीको दस्तावेजहरूमा उल्लेख छ, तर हाम्रो नेपालको संविधान २०७२ को प्रस्तावनामै लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रहने भनिएको छ ।

चाहे त्यो साम्यवादी विचारधारा बोक्ने हुन् वा पुँजीवादी, समाजवाद भन्नाले खासगरि पिंधमा रहेका जनताको हितमा राज्यले अधिकभन्दा अधिक काम गर्ने हो । जनतालाई सुख दिने हो । हाम्रो यहाँ लगभग दुई तिहाईको जनमत भएका आफूलाई साम्यवादी भन्ने राजनैतिक शक्तिहरू छन्, त्यसमध्ये अहिले त तीनवटा कम्युनिष्ट पार्टीहरू चुनावी मैदानमा छन् ।

कांग्रेसकै झण्डाको चारवटा तारामध्ये एउटा समाजवादको प्रतीक हो । बीपी कोइरालाले आफूलाई ‘म कट्टर माक्र्सवादी हुँ तर, खाली त्यसले वकालत गर्ने हिंसाको विरोधी हुँ’ भन्थे । तर हाम्रो देशमा न त साम्यवादीहरूको न त लोकतान्त्रिकहरूले भन्ने गरेको समाजवाद छ । नेपाली जनता र सरकारले दिल्लीबाट केही सिके हामीले पनि केही राहत पाउँथ्यौं कि ?

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?