+
+

प्रधानमन्त्री कप ब्याडमिन्टनमा आर्मी हाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १८:४१

१ वैशाख, काठमाडौं । योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबकै खेलाडीको वर्चस्व रहेको छ ।

पुरुष एकलमा जुनियर विश्व वरीयताको शीर्ष स्थानमा रहेका प्रिन्स दाहालले आर्मीका नवीन श्रेष्ठलाई पराजित गरी स्वर्ण जिते पनि बाँकी स्पर्धामा आर्मी नै शशक्त देखियो ।

रिभाइभ लिजर पार्कका प्रिन्सले आर्मीका नविनलाई २१–१७ र २१–१० को सोझो सेटमा हराए ।

पहिलो सेटमा १२–१२ सम्म पुगेको खेलमा प्रिन्सले त्यसपछि लगातार अंक जोड्दै सेट आफ्नो पक्षमा पारे । दोस्रो सेटमा नवीनले सुरुवाती अग्रता बनाए पनि त्यसलाई अन्तिमसम्म कायम राख्न सकेनन् ।

यस वर्ष आयोजना भएका चारमध्ये तीन प्रतियोगिता प्रिन्सले जिते । फागुनमा ११औं पुष्पलाल स्मृति ब्याडमिन्टनको उपाधि जितेका प्रिन्सले गत सातामात्र जेष्ठ ब्याडमिन्टन प्रतियोगिता जितेका थिए ।

फागुनमै आयोजित भक्तपुर खुल्ला ब्याडमिन्टन प्रतियोगितामा भने प्रिन्सले नेपाल नम्बर एक दीपेश धामीसँग फाइनलमा पराजय ब्यहोरेका थिए ।

नेपालको शीर्ष वरीयतामा पुगेपछिको पहिलो प्रतियोगितामा दीपेश धामी सेमिफाइनलमै पराजित हुन पुगे । दीपेशलाई हराएर फाइनलमा प्रिन्ससँगको भेट पक्का गरेका नवीन उपाधि भिडन्तमा प्रभावशाली प्रदर्शन गर्न सकेनन् ।

पूर्व राष्ट्रिय च्याम्पियन सरादेवी तामाङको प्रशिक्षणमा रहेको आर्मीले उमेरसमूहमा राम्रो प्रदर्शन गर्दै आएको छ । जुनियरबाट हालै सिनियरतर्फ फड्को मारेकी आर्मीकी रशिला महर्जनले फाइनलमा आफ्नै क्लबकी अनुमाया राईमाथि २१–१२, २१–१८ को प्रभावशाली जित निकालिन् ।

रशिलाले पनि यसअघि जेष्ठ र भक्तपुर खुला ब्याडमिन्टनको उपाधि उचालेकी थिइन् ।

उपाधीसँगै विजेताद्वयले १ लाख १५ हजार रुपैयाँ नगद पुरस्कार पाएका हुन् । फाइनलमा पराजित भएका खेलाडीद्वय अनुमाया राई र नवीन श्रेष्ठले ५५ हजार रुपैयाँ पुरस्कार पाएका हुन् ।

सेमिफाइनलसम्म पुगेका चार खेलाडी प्रार्थना देउवा, जेशिका गुरुङ, दिपेश धामी र प्रफुल महर्जनले २०/२० हजार रुपैयाँ पुरस्कार पाए ।

पुरुष डबल्सतर्फ रिभाइभका प्रिन्स दाहाल र आर्मीको नवीन श्रेष्ठको जोडीले पुलिसका प्रविन लिङथेब र सुरोज महर्जनलाई १८–२१, २१–९, २१–१८ को सेटमा पराजित ग¥यो । खेलाडी नभएपछि महिला डवल्सतर्फको स्पर्धा समावेश गरिएको थिएन ।

यू–१९ एकलतर्फ आर्मीका सन्तोष पनेरुले सिल्क ग्रुपका नरेन्द्र बमलाई २१–१२, १९–२१, २१–१७ को सेटमा पराजित गर्दै उपाधि जिते ।

यस स्पर्धाको महिलातर्फ फाइनलमा आर्मीकी प्रार्थना देउवाले आफ्नै क्लबकी रोज पाण्डेलाई २१–१९, १३–२१, २१–१४ को सेटमा हराइन् ।

महिला यू–१५ को फाइनलमा आर्मीकी रोज पाण्डेले बीबीएकी रोजी राईलाई २१–६ र २१–१८ को सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । रोजले यू–१९ र यू–१५ दुवै स्पर्धा खेलेकी थिइन् ।

यू–१५ पुरुषतर्फ सिल्क ग्रुपका प्रविन केसीले एनआरसीका साहिल चन्दलाई २१–१९, २१–१७ सोझो सेटमा पराजित गर्दै उपाधि उचाले । उपाधि जित्नेमध्ये प्रिन्स दाहाल र प्रविन केसी मात्र आर्मीका खेलाडी होइनन् ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?