+
+

गगनजी, काठमाडौंको मेयर उठ्नुस्

बजेटको हिसाबले पनि काठमाडौँ महानगरपालिकाको बजेट संघका कतिपय मन्त्रालयको बजेटभन्दा बढी रहेको छ । आ.व. २०७८/०७९ को काठमाडौँ महानगरपालिकाको कुल बजेट १८.९५ अर्ब छ ।  सोही आ.व. मा संघका १० मन्त्रालयको बजेट काठमाडौँ महानगरको भन्दा कम छ ।

समीर शर्मा समीर शर्मा
२०७९ वैशाख ५ गते ८:१२

यति बेला मुलुकमा स्थानीय तहको निर्वाचनको रौनक छाएको छ । स्थानीय तहमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरू पार्टीभित्र टिकटको लागि प्रयत्नशील छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उम्मेदवारहरू छनौटलाई तिब्रता दिएको छ । सरकारमा आबद्ध दलहरू गठबन्धन गर्ने गृहकार्यमा छन् ।  बालेन शाहजस्ता युवाहरू काठमाडौँ महानगरको मेयर पदमा प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् ।

हालै एउटा अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफू नगरपालिकाको मेयर उठ्न तयार रहेको अभिव्यक्ति दिए ।  नेपाल जस्तो सोपानक्रममा अडिएको समाजमा प्रधानमन्त्री भइसकेको अरू कुनै व्यक्तिले मेयर उठ्छु भनेर हालसम्म भनेका छैनन् ।

बाबुराम भट्टराईको अन्तर्वाता हेरेपश्चात् अलि खुला दिमागले काठमाडौँको मेयरको सम्भावित उम्मेदवार खोजी गर्न थाले । यसै क्रममा भेटिएको नाम हो, गगन थापा । आज पनि नेपाली राजनीतिमा युवा वर्गलाई संबोधन गर्दा गगन पुस्ता भनिन्छ । गगन थापा एउटा पात्र मात्र नभई प्रवृत्ति पनि हो, जसले मूलप्रवाहको राजनीतिक दलको नेतृत्वमा जबर्जस्त युवा पुस्ताको उपस्थिति संभव गराएको छ ।

हुन त म चाहन्छु, उमेरले ४५ चल्दै गरेका गगन अबको निर्वाचनपछि नेपालको प्रधानमन्त्री बनून् । युवा जनसंख्याको बाहुल्य रहेको देशमा ती नवजवानहरूको भावनाको प्रतिनिधित्व गरून् । रोजगारीका अवसरहरू सिर्जना गरून् । औद्योगिक वातावरण निर्माण गरून् । विदेशी लगानी, पूँजी र प्रविधि भित्र्याउन । शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रत्याभूति गरून् । सबल पूर्वाधारहरू निर्माण गरून् ।

तर अहिलेको राजनीतिक परिदृश्य नियाल्दा तत्काल देउवा, दाहाल र ओलीभन्दा तल्लो पुस्तामा प्रधानमन्त्री पद आउने देखिदैन । कुनै पनि राजनीतिक दलको एकल बहुमत नआएर सरकार अस्थिर पो बन्ने हो कि भन्ने आंशका र अनुमानहरू पनि छन् ।

यदि गगन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए भने उनलाई पूर्ण कार्यकाल अर्थात् ५ वर्ष काम गर्नबाट कसैले बञ्चित गर्न सक्ने छैन । ५ वर्षमा थालनी गरेका धेरैजसो कामहरूले नतिजा दिनेछन् । योजनाबद्ध ढंगले पञ्चवर्षीय कामहरू गर्न मिल्नेछ ।

त्यस्तो परिस्थितिमा गगन कुनै एउटा विभागीय मन्त्री बन्ने, केही राम्रा कामहरूको थालनी गर्ने, ती कामहरूको पूर्ण नतिजा नआउँदै सरकारबाट बाहिरिनुपर्ने हुन सक्दछ ।

यदि गगन काठमाडौँ महानगरपालिकाको मेयर निर्वाचित भए भने उनलाई पूर्ण कार्यकाल अर्थात् ५ वर्ष काम गर्नबाट कसैले बञ्चित गर्न सक्ने छैन । ५ वर्षमा थालनी गरेका धेरैजसो कामहरूले नतिजा दिनेछन् । योजनाबद्ध ढंगले पञ्चवर्षीय कामहरू गर्न मिल्नेछ ।

वि.सं. २०६४ सालमा समानुपातिक संसद बनेका गगन २०७० र २०७४ सालमा काठमाडौँ निर्वाचन क्षेत्र नं. ४ बाट सभासद/संसद  निर्वाचित भए । २०७९ सालमा पुनः निर्वाचित भएपनि  यो कार्यकालमा उनी प्रधानमन्त्री बन्ने संभावना अत्यन्तै न्यून छ । पार्टीमा सबै ठिकठाक अगाडि बढ्यो भने २०८४ को निर्वाचनपछि केही आशा गर्न सकिन्छ ।  तसर्थ, यो पटक मेयर उठेर अर्को निर्वाचनमा सांसद बन्दा निर्वाचन क्षेत्रको नेतृत्व व्यवस्थापनमा समेत सहज होला ।

निर्वाचनमा जनताको मत परिवर्तनशील पनि हुन्छ । नेपालमा निर्वाचनको इतिहास हेर्‍यौ भने पनि लगातार दुई निर्वाचनमा एउटै दल पहिलो दल बनेको खासै इतिहास छैन । जस्तै, २०४८ सालमा नेपाली कांग्रेस, २०५१ मा नेकपा एमाले, २०५६ मा नेपाली कांग्रेस, २०६४ मा नेकमा माओवादी, २०७० मा नेपाली कांग्रेस र २०७४ मा नेकपा एमाले पहिलो दल बनेका हुन् ।

लगातर एउटै उम्मेदवारले एउटै निर्वाचन क्षेत्रबाट दुईभन्दा बढी पटक चुनाव जितेका पनि कमै उदाहरण छन् । मानवीय स्वाभाव पनि हो, परिवर्तन खोज्नु ।  त्यसैले यो पटकको संसदीय निर्वाचन नलड्दा थापालाई २०८४ को निर्वाचन जितेर मुलुकको कार्यकारी नेतृत्व सम्हाल्ने मौका प्राप्त हुन सक्दछ ।

आगामी निर्वाचनमा काठमाडौँ महानगरमा ३ लाख २ सय ४२ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । भुटानको नेसनल एसेम्बलीको निर्वाचनमा खसेको भोट संख्याको हाराहारी काठमाडौँ महानगरको मतदाता संख्या देखिन्छ । (सन् २०१८ को भुटानको नेसनल एसेम्बलीको प्रथम चरणमा २ लाख ९१ हजार ९८ मात्र भोट खसेको थियो, भने दोस्रो चरणमा ३ लाख १३ हजार ४ सय ७३ भोट खसेको थियो ।)

करिब १८ लाख जनसंख्या भएको बहराइनको जनसंख्याको हाराहारी मानिसहरू काठमाडौँ महानगरमा मात्र बस्ने अनुमान छ । जबकी बहराइनको अर्थतन्त्र नेपालको भन्दा धेरै ठूलो छ ।

बजेटको हिसाबले पनि काठमाडौँ महानगरपालिकाको बजेट संघका कतिपय मन्त्रालयको बजेटभन्दा बढी रहेको छ । आ.व. २०७८/०७९ को काठमाडौँ महानगरपालिकाको कुल बजेट १८.९५ अर्ब छ ।  सोही आ.व. मा संघका १० मन्त्रालयको बजेट काठमाडौँ महानगरको भन्दा कम छ । जसलाई निम्मानुसार प्रस्तुत गरिएको छ ।

क्र.सं. मन्त्रालयको नाम आ.व. २०७८/०७९ को बार्षिक बजेट रू. (अर्बमा)
१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय ०.४८
२. युवा तथा खेलकूद मन्त्रालय २.६८
३. प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय ४.०८
४. परराष्ट्र मन्त्रालय ६.७९
५. सूचना तथा सञ्चार प्रविधि मन्त्रालय ७.६८
६. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ७.७०
७. महिला, बालबालिका तथा  जेष्ठ नागरिक मन्त्रालय ११.५०
८. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय १३.२८
९. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय १३.८९
१०. वन तथा वातावरण मन्त्रालय १३.९९

स्रोतः बजेट वक्तव्य २०७८/०७९

थापाले पटक पटक आफ्नो राजनीतिक करिअरको मापन ‘कुन पदमा पुगेँ, कतिपटक सांसद, मन्त्री वा  प्रधानमन्त्री भएँ’ भनेर नगर्ने सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । बरू आफू राजनीतिबाट रिटायर्ड हुँदै गर्दा उनका छोरीहरूले आफ्नो बुबाको विगतप्रति कस्तो अनुभूति गर्छन् र नेपाल थप समृद्ध बन्दै गएको छ भन्ने कुरामा युवा पुस्ताले विश्वास गर्छन वा गर्दैनन् भन्ने आधारमा मापन गर्ने बताउँदै आएका छन् ।

तसर्थ, थापा काठमाडौँको मेयर बनेर आगामी ५ वर्षमा यहाँको फोहोरमैला, धुलो, धुँवा, ढल र प्रदूषण व्यवस्थापन, नदीनालाको सरसफाई, सार्वजनिक यातायात प्रणालीको सुदृढीकरण, खुला क्षेत्र प्रवर्द्धन, कला र संस्कृतिको सम्बर्द्धन, सार्वजनिक शिक्षा र स्वास्थ्यको सबलीकरण, स्वच्छ पिउने पानीको प्रवन्ध लगायतको आधारभूत सहरी पूर्वाधारको विकास गर्न सके भने कैयौँ छोराछोरीहरूले उनको कर्मप्रति अवश्य गौरव गर्नेछन् ।

आम नेपाली नागरिक तथा नेपाल आउने पर्यटक सबैले फेरिएको काठमाडौँको सुखद अनुभव लिनेछन् ।  एउटा विदेशबाट फर्कदै गरेको युवाले सुन्दर र सफा काठमाडौँ देखेर देशमा नै केही गर्ने विश्वास बोकी घर जाने वातावरण बन्नेछ ।

अहिले उच्च राजनैतिक नेतृत्वको केन्द्रीकृत मानसिकताले संघीयतालाई नै कमजोर बनायो भन्ने आरोपहरू लागेका छन् । हुन पनि केन्द्रीकृत राज्य व्यवस्थामा लामो समयदेखि अभ्यस्त नेताहरूलाई आत्मादेखि संघीयता ग्रहण गर्न सजिलो हुने कुरा पनि भएन् । तसर्थ, गगन थापा मेयर निर्वाचित भएर एक कार्यकाल काम गरे भने त्यसपछि मुलुकको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीको रूपमा मुलुकलाई हाक्न थप अनुभवी र परिपक्क बन्नेछन् । यो नेपालको राजनीतिमा एउटा अभूतपूर्व उदाहरण पनि हुनेछ ।

निर्वाचन भनेको मतदाताले आफ्नो सामर्थ्य प्रदर्शन गर्ने र राजनैतिक पार्टीहरूलाई उत्तरदायी बनाउने उपयुक्त समय पनि हो ।  लोकतन्त्रमा मतदातासँग नेतृत्व डराउनपर्ने अवस्था आउनुपर्दछ । यदि ठूला पार्टीहरूबाट गगन थापाजस्ता व्यक्तिहरू महानगरको मेयर पदको उम्मेदवार नबन्ने हो भने मतदाताले विकल्प खोज्न सक्दछन् ।

अन्त्यमा, लेखमा गगन थापालाई प्रतिनिधि पात्रको रूपमा उल्लेख गरिएको हो । देशैभरी स्थानीय तहमा स्पष्ट दृष्टिकोण भएका उम्मेदवारहरू हुनु जरूरी छ ।  अघिल्लो पटकको निर्वाचनमा स्थानीय तहको प्रमुख/अध्यक्षलाई ‘लो प्रोपाइल’ मा राखेर धेरैजसो ठूला भनिएका नेताहरूले त्यसतर्फ रूची देखाएनन् । स्थानीय तह बलियो नबनी न त संघीयता सफल हुन्छ, न त जनताले नै प्रभावकारी सेवा प्राप्त गर्दछन् । तसर्थ, यसपटकको निर्वाचनमा भिजनसहितका ‘हेभिवेट’ हरू पनि स्थानीय तहमा उम्मेदवार बनून् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?