+
+

‘मधेशमा केपी ओलीको क्रेज बढेको छ’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते २०:४९

४ वैशाख, काठमाडौं । २०७४ सालको चुनावी परिणामलाई आधार मान्ने हो भने मधेश प्रदेशमा एमाले अहिले पाँचौं शक्ति हो ।

त्यसमाथि पार्टी विभाजन हुँदा मधेश प्रदेशमा एमालेभन्दा विभाजित नेकपा एकीकृत समाजवादी ठूलो शक्ति बन्दा मधेश प्रदेश एमालेलाई चुनौतीपूर्ण छ । त्यसैले अहिले एमालेको जोड अरूभन्दा मधेशमा धेरै देखिन्छ ।

जनप्रतिनिधिहरूलाई पार्टी प्रवेश गराउनेदेखि मधेश नेताहरूलाई पार्टीभित्रै पनि नचिढ्याउने अध्यक्ष ओलीको रणनीति मधेशमा एमालेको सिट बढाउने उद्देश्यले नै प्रेरित छ । मधेशमा एमालेको अहिलेको अवस्था र आगामी योजनाबारे एमालेको मधेश प्रदेश सहइन्चार्ज ज्वालाकुमारी साहसँग अनलाइनखबरकर्मी बिनु सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

मधेशमा अहिले एमालेको अवस्था कस्तो छ ?

मधेशमा अहिले एमालेको लहर बढेको छ । सबैतिरबाट एमालेमा आउने धेरै छन् । हामी २०७४ को स्थितिबाट धेरै माथि उठेका छौं ।

यसको कारण के हो ?

केपी बाको विचारप्रति मान्छेहरूको क्रेज बढेको छ । दोस्रो कारण, माओवादीबाट नेकपा हुँदै लागेकाहरूमध्ये धेरै एमालेमा छौं ।

साढे ३ वर्ष सरकार चलाउँदा हाम्रो अध्यक्षले जुन खालको जनताको सुख–दुःखमा साथ दिने र विकास निर्माण तीव्र रूपमा अघि बढाउने, आर्थिक वृद्धि बढ्दै जाने गरी जुन खालको उभार आएको थियो, त्यसले गर्दा मधेश प्रदेश मात्रै होइन, देशैभरि एउटा लहर चलेको छ । एमाले नै अब देशलाई हाँक्न सक्छ र एमालेले नक्सा सार्वजनिक गर्नेदेखि अरू धेरै काम गरेको छ भनेर जनताको मनमनमा छ ।

तर मधेशका मुद्दामा एमाले अध्यक्ष ओलीको अनुदार छवि छ, त्यसलाई उहाँले सुधार्नुभएको हो ?

त्यो बुझाइ नै गलत हो । पहिले हामी पनि त्यस्तै बुझ्थ्यौं । तर होइन रहेछ । उहाँजति उदार, मधेशप्रति मायाममता गर्ने, मधेशको अधिकार अझ ग्यारेन्टी होस्, समृद्ध मधेश बनोस्, यहाँका जनताले सधैं सुखको अनुभूति गरुन् भन्ने सोच कुनै नेतामा छैन ।

२०७४ को चुनावमा मधेशमा पाँचौं शक्तिका रूपमा थियो, अहिले झन् एमाले फुटेको छ, अर्कातिर गठबन्धनसित लड्नु छ । तपाईंले भनेझैं सजिलो छ र एमालेलाई ?

२०७४ भन्दा धेरै अगाडि बढिसक्या छौं । प्रचण्डजीले माओवादीको भविष्य सकेपछि भोलिको दिनमा एमालेकै कमाण्डमा बसेर देश हाँक्नुपर्छ भनेर हामी लागेका छौं । अध्यक्ष ओलीको महान् विचार र अडान देखेर धेरै मान्छे प्रवेश गर्ने लहर चलेको छ । सिनियर नेताहरू पनि आउनुभएको छ, आउने क्रम जारी छ ।

२०७४ मा मधेशमा जुन तरिकाले नकारात्मक सन्देश पुर्‍याइएको थियो, एमालेप्रति जुन सोच थियो, त्यसलाई जनताले सच्याइसकेका छन् । उहाँको छवि सुधारले जनतालाई गोलबद्ध गर्ने अभियानमा छौं । अरू पार्टीबाट मेयर, उपमेयर सहितका नेताहरू आउनुभएको छ, केपी ओलीको भिजन देखेर नै हो नि त !

अरू पार्टीबाट यसरी नेताहरू भित्र्याउनुको कारण चाहिं के हो नि ?

एमालेले भित्र्याएको भन्दा पनि उहाँहरू आफैं आइरहनुभएको छ । बच्चा होइन नि तानेर, हात समातेर ल्याउनका लागि । हामीले राखेका विचारहरूप्रति प्रेरित भएर मानिसहरू आइरहेका छन् । जस्तो, (वीरगञ्ज महानगरपालिकाका मेयर) विजय सराबगीको कुरा गर्नुहुन्छ भने देशको कमान्ड गर्न सक्ने पार्टी एमाले नै हो, राजनेता केपीजी नै हो भनेर आउनुभएको हो ।

उहाँ त्यसरी आएपछि हामीले स्वागत गर्नैपर्‍यो, सम्मान गर्नैपर्‍यो नि ! एमालेभित्र उम्मेदवार नभएर तानेर ल्याएको होइन । तर कोही जनप्रतिनिधि आउन खोजेको छ भने ल्याउनुपर्छ र उहाँहरूको उचित सम्मान गर्नुपर्छ । पार्टीमा प्रवेश गर्ने र यत्तिकै बेबारिसे छोड्ने गर्न त हुन्न नि फेरि !

तर व्यक्तिगत मत धेरै हुनेहरूलाई पनि छानी–छानी प्रवेश गराउनुभएको जस्तो देखिन्छ त ?

स्थानीय चुनाव भएकाले को व्यक्तिले कस्तो काम गर्‍यो, जनताले मूल्यांकन गरेकै छ । को व्यक्ति प्रतिनिधि हुँदा कति काम गर्न सके या सकेन भन्ने हिसाबकिताब राखेकै छन् ।

जो स्थानीय तहमा हरपल जनताको सेवकका रूपमा काम गरिरहनुभएको छ, जुन पार्टीको राष्ट्रिय एजेण्डा छ, त्यही पार्टीले गर्न सक्छ । त्यसैले स्थानीय लेभलमा जो–जो हुनुहुन्छ, एमालेभित्र उचित मूल्यांकन पनि गर्ने गरी संगठनलाई बलियो बनाउनुपर्छ । किनकि अहिले हामी समृद्ध नेपाल बनाउने अभियानमा छौं । चुनावमा मात्र यो गरिदिन्छु, त्यो गरिदिन्छु भन्ने होइन, सधैंभरि सुखको अनुभूति गर्न पाइयोस्, विकास निर्माणमा तीव्र गति आओस् भन्ने अभियानमा छौं ।

२०७४ कै चुनावका आधारमा हेर्दा अरू ठाउँमा भन्दा एमालेको अवस्था मधेश प्रदेशमा कमजोर छ । तपाईंहरू बलियो बनाउन लागेका छौं भनिराख्नुभएको छ । त्यसका लागि एजेण्डा त चाहिन्छ होला ! मधेशमा एमालेको एजेण्डा के हो ?

मधेशमा आम जनता सुखीसँग जीवन विताउन सक्ने आधारहरू के–के छन् ? जस्तो, कृषिमा आधुनिकीकरण गर्ने, शिक्षा, स्वास्थ्य, रोजगार, अस्पतालको गुणस्तर बढाउने र आफ्नो खुट्टामा उभिन सक्ने खालको मधेश बनाउने कार्यक्रम ल्याउन खोजेका छौं । यो कार्यक्रम ल्याउन हाम्रो सरकार नबनी सम्भव छैन ।

अहिले अरू कामहरू पनि भएको तपाईंले देखिनै रहनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल र फाष्ट ट्रयाक बनिरहेको छ । औद्योगिक करिडोरहरू अघि बढेका छन् । हुलाकी मार्ग बनाउने काम ओलीजीको पालामा भएको थियो । त्यसैले हामीसँग प्रष्ट र धेरै एजेण्डा छन् । त्यस अनुसार एकचोटि हामीलाई अवसर दिनुस् भनेर जनताको घरघरमा जान्छौं ।

त्यसरी जनताको घरमा जाँदा अरू प्रदेशहरूमा झैं अरू दलका नेताहरूसँग तालमेल हुन्छ कि हुन्न ?

गठबन्धनको विषयमा अहिले सोचेका छैनौं, एक्लै लड्ने सोच छ । आठवटै जिल्लामा त्यही खालको रिपोर्टिङ छ । यत्रो तयारी गरिसकेपछि चुनावको मुखमा गठबन्धन गर्नुभन्दा एक्लै चुनाव लड्ने र एक्लै नतिजा ल्याउने गरी लागेका छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?